 
																			११ फागुन, गुल्मी । गुल्मीमा नयाँ नागरिकता बनाउने भन्दा प्रतिलिपि नागरिकता बनाउने दोब्बरले धेरै रहेका छन् ।
एक साता (गत आइतबारदेखि शुक्रबारसम्म)को अवधिमा ८९ जनाले नयाँ नागरिकता बनाउँदा १७९ जनाले प्रतिलिपि लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार नागरिकहरुले नागरिकतालाई माया नगर्ने, जथाभावी फ्याक्ने र सानातिना गल्तीहरुका कारण प्रतिलिपि बनाउने बढेको बताए ।
गत आइतबारदेखि शुक्रबारसम्मको अवधिमा प्रशासनबाट नयाँ नागरिकता ८९, प्रतिलिपि १७९, वैवाहिक अंगिकृत नगरिकता दुई, नाबालक परिचयपत्र १८, राहदानीको आवेदन संकलन २०९, राहदानी वितरण १२५, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ६०५, परिचयपत्र वितरण ४६२, संस्था दर्ता तथा नवीकरण तीन र १३२ दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको थियो ।
सोही अवधिमा राहदानीबाट दश लाख ९० हजार रुपैयाँ र संस्था नवीकरणबाट तीन हजार ७५० गरी कुल १० लाख ९३ हजार ७५० रुपैयाँ राजस्व सङकलन भएको गैरेले बताए । न्यून जनशक्तिकाबीच पनि सेवाग्राहीहरुलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिएको उनले बताए ।
गुल्मी जिल्ला प्रशासन कार्यालयको गेट अगाडि सहजीकरणका लागि खुलेका पसलबाट सेवा लिनुपर्ने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयको सेवाका लागि अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता थियो । तर, अहिले जिल्ला प्रशासन कार्यालयले निःशुल्क रुपमा पासपोर्ट र अन्य विभिन्न प्रकारका निवेदनहरु लेखिदिन थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।
निःशुल्क रुपमा पासपोर्ट अनलाइन फारम भर्ने, निवेदन तयार गर्ने, कुन कक्षमा कुन सेवा पाइन्छ भन्नेबारे जानकारी दिने सेवा सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिने सेवाग्राहीलाई सहज भएको प्रतिक्रिया आएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । अहिले विचौलीयाको अन्त्यसँगै टोकन प्रणालीसमेत लागू गेरेको जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवालाई समय सापेक्ष बनाउँदै लगेको छ ।
जिल्ला प्रशासन कार्यालयसँगै जिल्लाका अन्य कार्यालयहरुको सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउन जिल्ला प्रशासन कार्यालयले भूमिका खेल्दै आएको छ ।
प्रशासन कार्यालयले प्रवाह गर्ने सेवासँगै समय समयमा आउने थप जिम्मेवारीलाई उच्च महत्वका साथ सम्पादन गर्दै आएको गौतमले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4