 
																			१६ फागुन, काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले अध्यादेशमा असन्तुष्ट दललाई सहमतिमा ल्याएर संघीय संसद्का दुवै सदनमा निर्णायार्थ पेश गर्ने निर्णय गरेको छ ।
त्यसका लागि भोलि वा पर्सि नै सत्तारुढ सबै दलका शीर्ष नेताको बैठक बोलाउने निर्णय भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको दुई दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।
दुवै सदनका बैठक आगामी २१ फागुनमा बस्दैछन् । बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसबीचमा असन्तुष्ट दलहरूसँग घनिभूत छलफल गर्ने र २१ गते दुवै सदनको बैठकमा अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णय भएको जानकारी दिए ।
कुनै कारणले २१ गते सम्भव नभए २२ गते अध्यादेश निर्णयार्थ पेश गरिने उनको भनाइ छ ।
‘भोलि वा पर्सि नै सत्तारुढ दलहरूको पुनः बैठक बसेर अध्यादेशमा सबैको समान धारणा बनाइनेछ । त्यसपछि २१ वा २२ फागुनमा अध्यादेश निर्णयार्थ पेश हुनेछ,’ प्रमुख सचेतक बर्तौंलाले अनलाइनखबरसँग भने, ‘त्यस लगत्तै प्रतिस्थापन विधेयक अगाडि बढाउनेछौं ।’
बैठकमा संविधान कार्यान्वयनसँग सम्बन्धित अन्य आवश्यक विधेयक ल्याउने विषयमा पनि छलफल भएको थियो । बैठकले दुवै सदनमा विचाराधीन विधेयकहरू अगाडि बढाउने काममा आवश्यक संयोजनका लागि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलालाई जिम्मेवारी दिएको छ ।
शुक्रबारको बैठकमा एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रमुख सचेतक महेश बर्तौंला सहभागी थिए ।
यस्तै, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे सहभागी थिए ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री गगन थापा भने काठमाडौं बाहिर रहेकाले बैठकमा उपस्थित थिएनन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4