 
																			२ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको बेथिति रोक्न कानुनी प्रबन्ध गर्नुपर्ने बताएका छन् ।
स्पष्ट कानुनी प्रबन्ध नभएकै कारण मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा दिने बेथिति कायम रहेको उनको भनाइ छ ।
‘पहिले पहिले विदेशमा उपचार गरेको भन्दै मन्त्रिपरिषद्बाट मनलाग्दी रकम दिने चलन थियो । तपाईंको छोरो कतारमा काम गरेर बडो दुःख गरेर यहाँ पैसा पठाउने । गाउँको अस्पतालमा डाक्टर पुर्याउन मुस्किल हुने । अनि, ठूला नेता उपचार गर्न जापान, अमेरिका जाने र सरकारले पैसा दिने हुँदै आएको थियो,’ थापाले भने, ‘म स्वास्थ्यमन्त्री भएका बेला विदेशमा गएर उपचार गर्ने विशिष्ट होस् या सामान्य जनता कसैले पनि पैसा नपाउने कानुनी व्यवस्था गरियो । त्यस्तै व्यवस्था पूर्वविशिष्टहरूलाई दिइने सुविधाको विषयमा पनि गर्न जरुरी छ ।’
शनिबार पाँचथरमा आयोजित नेपाली कांग्रेसको सभालाई सम्बोधन गर्दै थापाले राज्यकोषबाट पैसा बाँड्न नभई पैसा वितरण रोक्ने कानुन बनाउनु पर्ने बताए ।
‘अहिले सरकारले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सेनापति, सभामुख भइसकेको व्यक्तिहरूलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षाको कुरा दिन्छु,’ उनले भने, ‘त्योबाहेक राष्ट्रको ढुकुटीमा अत्यन्त ठूलो दबाब परेको छ, त्यसकारण सरकारले चाहेको बेलामा मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने लामो समयदेखिको अभ्यास छ यो अभ्यासलाई कानुन बनाएर रोक्छु भन्नुपर्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4