 
																			सुन्दर भविष्यका अनगिन्ती सपना मनभरि सजाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छोड्दै गर्दा मैले एउटा मात्र कामना गरेको थिएँ- मेरो देश बनेन, सुशासन भएन, अनि युवा विदेशिने लहर रोकिएन । तैपनि, देशमा जे-जति भएको छ, जे-जति बाँकी छ, त्यसको संरक्षण होस्। देशका स्रोत र साधन बचून्, धर्म-संस्कृति बचोस् । राष्ट्रियता, भाइचारा, सामाजिक सद्भाव र सामाजिक न्याय नमरोस्।
आज विदेशी मुलुकबाट फेरि देशलाई नियाल्दा मेरो मनमा केही प्रश्नहरु उब्जिएका छन्- नेपाल किन बनेन ? हामी कहाँ चुकिरहेका छौं ? कुन बाटोमा अघि बढिरहेका छौं ? विकसित विदेशी देशहरू कसरी सफल भएका रहेछन् ? परिवर्तन कहाँबाट सुरु गर्ने ? के नेताहरू नै खराब भएर हाम्रो देश विकसित नभएको हो ? कमजोरी हाम्रो संविधानमा छ या व्यवस्थामै ?
यी सबै प्रश्नहरूको समीक्षा गर्दै गर्दा, किन हाम्रो देश पछि परेको हो वा किन विदेशी देशहरू विकसित भए भन्ने निष्कर्षमा आफ्नै दृष्टिकोण यसरी प्रस्तुत गर्ने जमर्को गरेको छु।
अङ्ग्रेजीमा एउटा भनाइ छ, ‘अ फिस रोट्स फ्रम द हेड डाउन।’ भन्नाले हरेक नेतृत्व यदि माथिल्लो तहबाट क्षयीकरण हुन्छ भने त्यसको असर विस्तारै तल्लो तहसम्म फैलिन्छ। अथवा, टाउकोबाट कुहिन सुरु गरेको माछा विस्तारै शरीर हुँदै पुच्छरसम्म पुग्छ।
आज नेपालको नेतृत्व यही अवस्थामा छ। नेपालका उच्च पदस्थदेखि सर्वसाधारण जनता, घर-घरमा, समाजका हरेक तह-तप्कामा भ्रष्टाचार, बेथिति, विसङ्गति र अन्धभक्त अविश्वासले कुहिएर गाउँ, समाज, देश, राष्ट्र सम्पूर्ण नेतृत्व पतनको अवस्थामा छ।
पक्कै पनि हाम्रो समाजमा शिक्षाको कमी छ, चेतनाको कमी छ। तर त्योभन्दा महत्वपूर्ण कुरा हाम्रो सिकाइ र सिकाउने प्रणालीमा समस्या छ। हाम्रो समाजमा जो-कोही आफू पहिला बन्न चाहन्छ, ऊ त बन्छ नै, फेरि अरुलाई अरुजस्तो बनाउन चाहँदैन, आफूजस्तै बनाउन चाहन्छ।
यसको अर्थ, समाजका गुरुहरू पनि आफ्नै मन्त्र शक्तिशाली बनाउन चाहन्छन्, आफ्नै साम्राज्य बलियो बनाउन चाहन्छन्। मेरो मतलब, जसले जसको नुन खाएको छ, उसकै सोझो गर्छ। आफूले फाइदा लिन सकियो अथवा आफूलाई न्याय भयो भने बाँकी अरुको अन्यायको पीडा महसुस नगर्ने एउटा मौन समाज, जो अहिले पनि समाजमा बेथिति र विसङ्गति थप मजबुत पार्न सक्रिय देखिन्छ।
समाज सकियोस्, समाजको मान-मर्यादा, रीतिरिवाज, परम्परा सबै सकियोस्, तर व्यक्तिगत अहं र स्वार्थ कहिल्यै नसकियोस्। यस्तै समाज, यस्तै राजनीतिक संरचना, यस्तै संस्कार र स्कुलिङमा हुर्किरहेको समाजबाट निर्माण भएको नेतृत्वमा हामी छौं।
आज आम नेपाली जनता र उनीहरूले प्रतिनिधित्व गर्ने समाज आफैं अघि बढ्नुपर्ने तर छिमेकी अगाडि बढ्नु नहुने, जो आफ्नो बल, क्षमता, ज्ञानले अगाडि बढ्न खोज्छ, उसलाई बीचैमा रोक्नुपर्ने, खुट्टा तान्नुपर्ने प्रतिस्पर्धामा हाम्रो समाज व्यस्त छ।
जस्तै- छिमेकी दाइ वडाको अध्यक्ष भयो, म किन भइनँ ? गाउँले साथीले घर-गाडी किन्यो, मेरो किन भएन ? छिमेकी स्कुलको अध्यक्ष भयो, म किन भइनँ, अरुले गाउँको सडकको ठेक्का पाए, मैले किन पाइनँ ? अरुले भ्रष्टाचार गरे, मैले किन नगर्ने ? अरुले कमिसन बाँडे, मैले किन नबाँड्ने ? उसको घरको बाटो पिच छ, मेरो किन छैन ? छिमेकीको छोरा परीक्षामा प्रथम भयो, मेरो किन भएन ? फलानो कुनै पार्टीको नेता भयो, म किन हुन सकिनँ ? छिमेकीको श्रीमान्ले श्रीमतीलाई गहना किनिदिए, मेरो श्रीमान्ले किन किनिदिएन ? छिमेकी यो पार्टीको, म यो पार्टीको। छिमेकी गणतन्त्रवादी, म राजावादी। यिनै प्रश्नहरूमा रुमलिएको मेरो समाज र यस्तै प्रतिस्पर्धाबाट निर्माण भएको नेतृत्वमा हामी छौं।
हाल म विगत एक वर्षदेखि क्यानडामा बस्दै आएको छु। यहाँ आएर मैले बुझेको र आफूले महसुस गरेको एउटा महत्वपूर्ण कुरा भनेको नै ‘इग्नोर एभ्रिथिङ एन्ड फोकस अन योरसेल्फ’ अर्थात् ‘सबै कुराको बेवास्ता गरौं, सधैं आफूमै केन्द्रित होऔं’ यहाँको मूल मन्त्र नै यही छ।
यहाँका जनता सालिन, सरल र सहयोगी छन्। उनीहरूको दैनिकी साधारण छ। दिनभर आफ्नो समयमा काम गर्ने, आफ्नो योजना र लक्ष्यमा कसरी सफल हुने भन्ने कुरामा उनीहरू आफैं प्रतिस्पर्धा गर्छन्। बिहानी हाँसोबाट सुरु भएको मुस्कान बेलुका निदाउँदा पनि त्यही ऊर्जा, त्यही मुस्कान। न कसैको चासो, न कसैको परबाह। हरदम आफैंमा केन्द्रित। यहाँ कुनै प्रतिस्पर्धा छैन। न छिमेकीको घर दश-एघार तलाको हुँदा चित्त दुखाउने प्रवृत्ति छ, न साथीभाइ सम्पत्तिले भरिभराउ हुँदा कुनै मोह होडबाजी र प्रतिस्पर्धा छ।
भ्रष्टाचार यहाँ पनि हुन्छ, तर यहाँ उसले भ्रष्टाचार गर्यो भन्दैमा जो कोहीले भ्रष्टाचारको सिको गर्नुपर्ने संस्कार छैन। नेपालमा उसले ठेक्का पायो, मैले किन नपाउने, उसले खायो, मैले किन नपाउने भन्ने अभ्यास यहाँ छैन।
भ्रष्टाचार रोक्ने महत्वपूर्ण अस्त्र पनि ‘बेवास्ता’ नै हो भन्ने कुरा मैले व्यक्तिगत रूपमा महसुस गरेँ। जस्तै- कसैले भ्रष्टाचार गर्यो भने उसलाई बेवास्ता गरिदिनुहोस्, आफैं भ्रष्टाचार नगर्नुहोस्। त्यसपछि आफैं कम हुन्छ भ्रष्टाचार। तपाईँले सुरु गर्नुभयो भने भोलि अर्कोले गर्छ, पर्सी अर्कोले गर्छ- यसरी त पूरा देश नै भ्रष्टाचारमा डुब्छ। तपाईँ भ्रष्टाचार नगर्नुहोस्, यसलाई बढावा नदिनुहोस्, ताकि त्यो भ्रष्टाचार गर्ने व्यक्ति आफैं एक्लै भएर सिस्टम मान्न थाल्छ र विधिको शासन अनुशरण गर्न सुरु गर्छ।
हाल देशमा राजावादी र गणतन्त्रवादीको दोहोरी चलिरहेको छ। आन्दोलनले विकराल रूप लिँदैछ। यसको कुनै अर्थ छैन भन्ने लाग्छ। चाहे कोट पुरानो होस् या नयाँ, तर सुन्दरताको चमक शरीरको प्राकृतिक बनावटले नै निर्धारण गर्छ।
अथवा, हिजो राजतन्त्र चाहिँदैन भनेर गणतन्त्र ल्याउने जनता पनि तिनै हुन्, आज गणतन्त्र भएन, राजतन्त्रमा फर्कौं भन्ने जनता पनि तिनै हुन्। जनताको सोच उही हो। चेतनाको स्तर उही हो। सामाजिक-राजनीतिक संरचना, राजनीतिक संस्कार उही हो।
हिजो गणतन्त्र ल्याउन योगदान गर्यौँ भनेर आजसम्म त्यसको ब्याज नेपाली जनतासँग असुल्ने र देशका युवा खाडीमा बेच्ने, देशलाई वर्षौंपछि धकेल्ने गणतन्त्र र गणतन्त्रका ठेकेदार पनि उनै हुन्। र, भोलि राजतन्त्र ल्याउने समाज र नेतृत्व गर्ने ठेकेदारहरू पनि उनै हुनेछन्। जसले, ‘हामीले राजतन्त्र ल्याउन योगदान गरेका छौँ, जसको भाग हामीले पाउनै पर्छ’ वा राजतन्त्र ल्याउन लगानी गर्ने ठेकेदारहरूले त्यसको बदलामा सावाँ-ब्याजको हिसाबकिताब लिने नै छन्।
तन्त्र परिवर्तनभन्दा पनि सामाजिक-राजनीतिक संरचनामा सुधार गरौं। जनताको चेतनाको स्तरमा सुधार गरौं। हाम्रो व्यक्तिगत जीवन स्वार्थरहित, साधारण, सरल, सुखी बनाऊँ। अझ महत्वपूर्ण कुरा, राजनीतिक दलको झण्डाभन्दा देशको झण्डालाई प्राथमिकतामा राखौँ, पार्टीको झोलाभन्दा ज्ञानको पुस्तक भरिएको झोला बोकौँ। देखासिकी, अनावश्यक डाहा-मोह सबै त्यागेर सक्षम, शिक्षित समाजको निर्माण नै आजको आवश्यकता हो।
बढाऊँ चेतनाको स्तर, भगाउँ विकृतिहरू र पो जस हुन्छ
नगरौँ आन्दोलन, नत्र परदेशमा नेपालीमन सदैव टच हुन्छ।
त्यागौँ डाहा, इर्ष्या मोह नगरौँ तुलना, प्रतिस्पर्धा कोहीसँग
अनि पो जिन्दगी बन्छ सुखीखुसी, सदाबहार चसै-चस हुन्छ॥
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4