 
																			२२ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन न्युन क्षति हुने गरी आवश्यकताको आधारमा बल प्रयोग गरिएको बताएका छन् ।
राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा सशस्त्र महानिरीक्षक अर्यालले सुरक्षाकर्मीबाट ग्यास गन लुटिएको, सञ्चार सेट लुटिएको, एम्बुलेन्स र दमकलमाथि समेत प्रहार भएको अवस्थामा न्युन बल प्रयोग मात्र गरिएको बताए ।
‘शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर प्रशासनबाट स्वीकृति लिएकोले दंगा र भिड नियन्त्रणको तयारीसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिले सभा हुन्छ, त्यसपछि जुलुस निस्कन्छ भन्ने ठानेर तयारी गरिएको थियो । अराजक गतिविधि हुन थालेपछि सम्झाइबुझाइ गरियो, पानीको फोहोरा प्रहार गरियो, त्यसपछि हवाइ फायर गरियो,’ अर्यालले भने, ‘सकेसम्म कम क्षति हुने गरी बल प्रयोग गरिएको हो ।’
उनले देशको सुरक्षा स्थिति कमजोर भयो भन्दै चर्चा गर्नुअघि त्यसले राष्ट्रिय सुरुक्षामा पार्ने असर बारे बुझ्न पनि सांसदहरूलाई आग्रह गरे ।
उनले सुरक्षा निकायका घाइतेलाई अस्पताल लैजानसमेत राजावादी आन्दोलनका प्रदर्शनकारीहरूले अवरोध पुर्याएको बताए ।
‘प्रदर्शनमा सहभागी भएकाहरू सुरुमा नै सभास्थलमा नगएर निषेधित क्षेत्र प्रवेश गर्ने गरी सुरक्षानिकायसँग भिड्न आएपछि स्थिति तनावपूर्ण बनेको थियो,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4