 
																			३ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकका लागि सीमापार आवागमन सहज बनाउने विभिन्न प्रयास भइरहेको जनाएको छ ।
भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भएको ‘नेपाल फेस्टिभल’ अन्तर्गत ‘दिगो पर्यटन सुदृढीकरण : धार्मिक, सम्पदागत र साहसिक पर्यटन प्रवर्द्धन’ शीर्षकको सत्रमा बोल्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भारतीय पर्यटक आवागमन सहजताका लागि भइरहेका प्रयासबारे जानकारी गराए ।
‘हामीले भारतीय पर्यटक आवागमन सहजतामा विभिन्न प्रयास गरिरहेका छौं । यसका साथै धार्मिक तथा साहसिक पर्यटनक समेट्ने नेपालको समग्र दीर्घकालीन दृष्टिकोण र नीतिगत सुधारका काम पनि भइरहेका छन्,’ ऐरले भने ।
भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार भएकाले बोर्डले सीमापार पर्यटन प्रवर्द्धनमा अझ सक्रिय भई सहकार्य विस्तार गर्ने लक्ष्य लिएको उनले बताए ।
कार्यक्रममा बोर्डका तर्फबाट वरिष्ठ निर्देशक ऐर र वरिष्ठ अधिकृत सागर उपाध्यायले प्रतिनिधित्व गरेका थिए ।
नेपाल र भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले वर्षको अन्तिम साता एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र दिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम उद्घाटन भारतका संस्कृतिमन्त्री गजेन्द्रसिंह शेखावत, नेपालका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौधरी र भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्माले संयुक्त रूपमा गरेका थिए ।
तीन दिनसम्म चलेको कार्यक्रममा नेपाल–भारत सम्बन्ध, व्यापार सहकार्य तथा पर्यटनको भविष्य सम्बन्धी विविध समसामयिक विषयमा बहस तथा गोष्ठी आयोजना गरिएको थियो ।
उक्त सत्रमा नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल, भारतको पर्यटन मन्त्रालयका उपमहानिर्देशक डा. आरके सुमन, गोल्डेन एपका अध्यक्ष निरजसाह देव, एभरेस्ट चेम्बरका अध्यक्ष युवराज बराल तथा धुलिखेल माउन्टेन रिसोर्टकी प्रमुख कार्यकारी अधिकृत लीना खड्का श्रेष्ठ सहभागी थिए ।
पर्यटन बोर्डको प्रदर्शनी कक्ष (पेभेलियन) ले नेपाली संस्कृति, प्रकृति, साहसिक यात्रा, अध्यात्मिक तथा वेलनेस पर्यटन जस्ता विषयवस्तु प्रस्तुत गरेको थियो । स्टलमार्फत विभिन्न प्रचार सामग्री, जानकारीमूलक पुस्तिका तथा नेपाली पहिचान झल्काउने सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाली परिकार प्रदर्शनीले भारतका आगन्तुकलाई नेपालको स्वाद चाख्ने अवसर प्रदान गरेको थियो । साथै, नेपाली हस्तकला र स्थानीय उत्पादन प्रदर्शनीले नेपालको समृद्ध हस्तकला परम्परा उजागर गरेको थियो ।
यस किसिमका कार्यक्रममा दुई देशको संस्कृति र गन्तव्यहरूको प्रदर्शनीले दुई देशबीचको आपसी मित्रता र सांस्कृतिक आदान–प्रदान थप बलियो बनाउने बोर्डको विश्वास छ ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4