 
																			९ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाका समस्या समाधानमा लाग्न सरोकारवालालाई निर्देशन दिएका छन् ।
रुग्ण तथा अलपत्र अवस्थामा रहेका आयोजनाको विश्लेषण र समाधानका उपाय कार्यान्वयनतर्फ लाग्न उनले निर्देशन दिएका हुन् ।
मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सहसचिव, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख तथा विभिन्न आयोजना प्रमुखलाई मन्त्रालयमा निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।
‘रुग्ण आयोजना पहिचानदेखि समस्या समाधानसम्मका काममा ढिलाइ हुनु भएन, यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउनु होला,’ उनले भने ।
तोकिएको समयमा काम नहुने, सुस्त हुने तथा पटक–पटक हुने म्याद थपले विकास निर्माण प्रक्रियामा ढिलाइ भइरहेको भन्दै कार्यक्षेत्रमा देखिने गरी परिणाम ल्याउन उनले कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरूलाई निर्देशन दिए ।
‘कहिले कुन कानुन, नियम वा नियमावली आउँछ भनेर नपर्खनुस्,’ मन्त्री दाहालले भने, ‘अहिले विद्यमान् कानुनी व्यवस्था जे छ, त्यही अनुसार अघि बढ्नुस्, अब पनि ढिलाइ गर्ने बेला छैन ।’
मन्त्रालयका सचिव केशवकुमार शर्माले रुग्ण आयोजनाबारे मसिनो गरी अध्ययन गरिएको भन्दै आयोजनागत रूपमा समाधानतर्फ मन्त्रालय केन्द्रित रहेको बताए ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले कानुनी व्यवस्था अनुसार रुग्ण आयोजनाबारे समस्या समाधान गर्न प्रत्येक कार्यालयले काम अघि बढाएको जानकारी दिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4