+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
१०२ बलमा ११२ रन आवश्यक
विराटनगर किंग्स 2025
36/0 (2.6)
Shares

प्रतिवादमा ओर्लिए प्रधानमन्त्री : ‘मेरो नेतृत्व ठिकठाक छ, २०/२५ वर्ष हतार नगर्नू’

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारी, पार्टीभित्रका आलोचकहरू अनि सन्चारमाध्यमउपर कडा टिप्पणी गर्दै आफूबेगरको एमाले नखोज्न चेतावनी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते २२:३०

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वप्रति शंका नगर्न र विकल्प नखोज्न चेतावनी दिएका छन् ।

पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत् ओलीले आफ्नो नेतृत्व देश र जनताको हितमा रहेको तर्क गरेका छन् । तर पार्टी नेतृत्वको विकल्प खोजिन थालेकोप्रति ओलीले आश्चार्य प्रकट गरे, ‘दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला, केपी ओली बिनाको एमाले ?’

गलत मनसाय राख्नेहरूले आफू बिनाको एमाले कल्पना गरिरहेको ओलीले व्याख्या गरे ।

‘तिनको मनसाय राम्रो भए त म सरक्क छोड्दिहाल्थे नि,’ ओलीले प्रश्न गरे, ‘तर हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरूलाई ।’

लामो सम्बोधनका क्रममा पार्टी नेतृत्वको विकल्पको प्रशंगमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति आक्रोश पोखेको प्रष्ट बुझ्न सकिन्छ । किनकि पूर्वराष्ट्रपति भण्डारीले ओलीको स्वास्थ्य र उमेरका कारणले पनि नयाँ नेतृत्व आवश्यक परेको सार्वजनिक तर्क गरेकी थिइन् ।

ओलीले पनि स्वास्थ्य र उमेरलाई आधार मानेर नेतृत्व परिवर्तनको हतारो नगर्न आग्रह गरे । ‘कतिपयलाई मेरो उमेरको चिन्ता छ, कतिपयलाई मेरो स्वास्थ्यको चिन्ता छ’ ओलीले भने, ‘पोहोरपरार बिरामी थिएँ । अहिले बिरामीसिरामी छैन । अब मलाई बुढै देख्नु मन छ भने त २०/२५ वर्ष पर्खनुस् न बाबा । बुढो नभइ त मान्छे रहनै सक्दैन नि !’

ओलीले उमेरका सन्दर्भ फेरि पनि यसअघि जस्तै आफ्नै पिताको उदाहरण दिए । ‘हतार गरेर हुँदैन, २०/२५ वर्ष पर्खनुस् । अहिले त मेरो बुवा हिंड्दै हुनुहुन्छ, लौरो नटेकीकनै,’ उनले भने, ‘मलाई बुढो, के भको आँखा होला ? मेरो बुवालाई भने हुन्थ्यो होला बरु ।’

उमेर र स्वास्थ्य दुवै हिसाबले पार्टी नेतृत्व छोड्ने बेला नभएको तर्क गरेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई अप्रत्यक्ष चुनौती पनि दिए, ‘एक दिन हाफ म्याराथुन स्याराथुन राखौं कि क्या हो ?’

आफूले सकेसम्म कञ्जुस्याई नगरिकन नेतृत्व गर्ने ओलीले दाबी गरे । ‘जबसम्म यस मिसनलाई बोक्न सक्छौं, कञ्जुस्याई नगरिकन बोक्छौं । जब सक्दैनौं, बाँकी साथीहरू आउँछन्’ उनले भने, ‘हिजोका साथीहरू बितेर जानुभयो, हामीले थामेर बोकेर आएका छौं । हामी पछि अरु साथीहरूले थामेर अगाडि बढाउनु हुन्छ ।’

नेतृत्वका निम्ति आफू योग्य रहेको पुष्टि गर्न ओलीले अनेकौं उदाहरण दिए । ‘सबै शक्ति एकजुट भएर, फुटाएर, टुक्र्याएर सिध्याउँछु भनेर सबै प्रकारका हमला केन्द्रीत गर्दा जोगिएर आएको पार्टी हो । जोगिएर मात्र होइन, प्रमुख शक्तिका रुपमा स्थापित भएको पार्टी हो’ ओलीले पार्टी विभाजनको समय सम्झेका थिए ।

तर आफ्नो नेतृत्वले घेराबन्दी तोडेर तीन वर्षभित्रै सरकारको नेतृत्वमा फर्किएको ओलीले बताए । ‘असार १७ गते राति नै सबै छक्क परे । सिध्याउँछौं भनेको एमाले, सिध्याउँछौं भनेको केपी ओली प्रधानमन्त्री पो हुने भयो । दुनियाँ लाग्दा पनि केपी ओली प्रधानमन्त्री, फेरि एमाले सरकारमा’, ओलीले आफ्नो नेतृत्व पुष्टि गर्न खोजे ।

नेतृत्व फेर्ने समय नभएको तर्कसँगै ओलीले नेता–कार्यकर्तालाई आत्मविश्वास बलियो बनाउन आग्रह पनि गरे ।

‘साथीहरूमा आत्मविश्वास कम भएको हो कि ? नेतृत्वप्रति विश्वासमा केही कमी आएको हो कि ?’, उनले भने, ‘जेलनेल खटेर संघर्षका मैदानमा, कामका दौरानमा नीति निर्माणको तहमा अथवा अभियानमा परीक्षा मात्र होइन, अग्नि परीक्षा दिएर आएका छौं । अनि फेरि पनि साथीहरूमा धर्मर हुने, यी सही छन् र भनेजस्तो लाग्ने ?’

पूर्वराजा र नयाँप्रति आक्रोश

एमालेभित्र आफ्नो विकल्प खोज्नेगरी भइरहेका गतिविधिप्रति असन्तुष्टि जनाएका ओलीले राजावादी र नयाँ राजनीतिक शक्तिहरूप्रति चर्को आक्रोख पोखे ।

‘हामीले फालिसकेका, सयौं वर्ष देशलाई अन्धकारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरू अहिले फेरि प्रतिगमन गरेर आउन खोजिराखेको छ’ ओलीले आश्चर्य प्रकट गरे, ‘कत्रो आँट ? एक्काइसौं शताब्दीमा श्रीपेच लगाएर बस्ने अरे ! महाराधिराज भएर बस्ने अरे, हामीलाई, जनतालाई हुकुम दिने अरे ।’

तर जनता, संविधान र देश भन्दा माथि कोही आउन नसक्ने ओलीले विश्वास प्रकट गरे ।

‘१५ गते यिनीहरू नांगिए । अलिक अप्ठ्यारो पर्यो भने, हामीले खोजेको त संवैधानिक राजतन्त्र ! संविधान नमान्ने, कानुन नमान्ने, लोकतन्त्र नमान्ने, खोज्ने संवैधानिक ?’, ओलीले भने ।

नयाँ शक्तिहरूसँग राजनीतिक अनुभव नभएकाले देश उनीहरूको जिम्मामा लगाउन नसकिने ओलीले बताए ।

‘अझैपनि ट्याइट्याइ गरिरहेछन्, भुईँफुट्टाहरूले । राजनीति गर्नेहरूले राजनीति गर्न हुँदैन अरे । माझीलाई डुंगा चलाउन नदिने, म चलाउछु भनेर बगाइदिने,’ ओेलीले भने, ‘यो बुढो ड्राइभर २० वर्ष भयो चलाएको, म अब सिटमा बसेर चलाउँछु भन्छ । कहिले चलाएको छैन । त्यसले त्रिशुलीमा खसाउँदैन ?’

गैरजिम्मेवार अभिव्यक्ति

प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीबाट राजीनामा दिएका विद्या भट्टराई र आमसञ्चार माध्यमप्रति भने गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । सम्बोधनका क्रममा ओलीले भट्टराईको योग्यतामाथि नै प्रश्न उठाए ।

‘उहाँले अस्ति भर्खर घाँटीको अप्रेसन गर्नुभयो, स्वास्थ्य पनि ठीक भएन । अनि यो धेरै ठूलो मन्त्रालय छ शिक्षा मन्त्रालय । सजिलो पनि छैन’, ओलीको तर्क थियो । तर प्रचारमा भने ‘प्रधानमन्त्रीले सहयोग नगरेकाले शिक्षामन्त्रीको राजीनामा’ भन्ने गरिएको भन्दै ओलीले गुनासो गरे ।

शिक्षामन्त्रीको राजीनामा सन्दर्भमा आम सञ्चार माध्यमप्रति ओलीको बोलीले रास्वपाका सभापति रवि लामिछानेले विगतमा गरेको गाली सम्झाएको छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतको आदेशबाट गृहमन्त्री पद गुमाएपछि रवि लामिछानेले आम सञ्चार माध्यमप्रति अविश्वास सिर्जना गर्नेगरी बोलेका थिए ।

ओलीले पनि सोही शैलीमा सञ्चार माध्यमहरूप्रति गैरजिम्मेवार अभिव्यक्ति दिए । ‘सबैको हेडलाइन मेराविरुद्ध । यो त कस्तो भने आश्चर्यको पनि अनौठो आश्चार्य लाग्छ । यस्तो दुस्मनी के कारणले हो,’ ओलीको आक्रोश थियो, ‘सबैले एकैठाउँ बसेर सल्लाह गरेर लेखे जस्तै गर्छन् । मानिलिऊ प्रस्ताव गरेर पारित गरेर यही लेख्ने भनेर लेखे जस्तै । सबैको टेलिफोन सम्वाद भएर लेखे जस्तै लेखेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?