+
+
Shares
संगीत :

‘ऊनको स्वीटर’ साँझमा गुञ्जिए सुजन चापागाईं

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १२:१२

काठमाडौं । मंगलबार साँझ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको आँगन संगीतप्रेमीले भरिएको थियो । ‘ऊनको स्वीटर’को साँझ मनाउन तम्तयार दर्शक/श्रोता एउटा अलग्गै आवाज सुन्न र स्वागतका हात हल्लाउने प्रतीक्षामा थिए ।

नभन्दै स्टेजमा आफ्नो साङ्गीतिक टिमसँगै पछिल्लो समयका मनप्रिय गायक सुजन चापागाईं उक्लिए र दर्शकलाई जादुमयी स्वरले पहिलो कोसेली पस्किए, ‘लजाएर एक्लै किन बसेकी मायालु ।’

२ वर्षपछि चापागाईं ‘लाइभ कन्सर्ट’मा फर्किएका हुन् । बैशाख २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको प्रचारप्रसारको लागि निर्माताले कन्सर्ट आयोजना गरेका थिए । पोखरापछि चापागाईं काठमाडौंमा गुञ्जिएका हुन् ।

‘सुजन चापागाईं एन्ड इन्फिनिटी टिम’ले आफ्ना चर्चित गीतमार्फत सांगीतिक माहोल सिर्जना गरेको थियो । उनलाई प्रत्यक्ष सुन्न व्यग्र प्रतीक्षारत दर्शकमाझ सुजनले अर्को गीत ‘गाला पुक्क’ सुनाए ।

‘तीनपाते’ उनको पहिलो गीत मात्र थिएन, निर्देशक नवीन चौहान र गीतकार हर्क साउदसँगको सहकार्यको पहिलो कदम पनि थियो । त्यो पहिलो कदमलाई दर्शक/श्रोताले प्रेमिलरुपमा अनुमोदन गरिदिएका थिए । त्यो कसिलो सहकार्यको सुरुवाती दिनको गीत गाउँदा संगीतप्रेमी मन्त्रमुग्ध बने ।

सोही कार्यक्रममा ‘ऊनको स्वीटर’ ट्रेलर पनि देखाइयो । पाँचथरका रमणीय दृश्यमा काव्य पोते निर्देशक चौहानले दर्शकलाई न्यानो बाँड्ने धोको रहेको सुनाए । सुजनले ‘ऊनको स्वीटर’सँगै बुनेको शीर्ष गीत सुनाए :

‘फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र, पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र !’

सुजनको गीतमा कहिले सहभागी मन्द बतास जसरी बहिरहेका थिए त कहिले उठेर नाचिरहेका थिए । जब सुजनले प्रेमजोडी विवेक पङ्गेनी र सिर्जना सुवेदीलाई ट्रिब्यूट दिँदै ‘एक्लै भएँ नि’ गाए, संगीतप्रेमीको हृदय रेटियो । योसँगै सुजनले ‘फूलथुंगे रानी’, ‘मखमली’ गाइसक्दा माहौल गुलजार देखिएको थियो ।

कार्यक्रममा फिल्मको ‘काफ्ले’ गीत पनि गुञ्जियो । गीतमा फिल्मकै कलाकार एलेक्स पारस, परीक्षा लिम्बुले पनि नृत्य पस्किए । सुजनलाई गायनमा सलिना विकले साथ दिएकी थिइन् । साङ्गीतिक टिममा सञ्जीव बराइली, नकुलसिंह गुरुङ, प्रिन्स नेपाली, जगन्नाथ धौगोडा, दीपेन्द्र काफ्ले, सन्देश महर्जन पनि थिए ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरको साथमा सांसद सुहान नेम्वाङ, अशोककुमार चौधरी, सोविता गौतम पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?