
१९ वैशाख, काठमाडौं । सगरमाथा संवाद २०२५ को पूर्वसन्ध्यामा जलवायु संकटबाट प्रत्यक्ष प्रभावित समुदायहरूका सरोकार सम्बोधन गर्न जनमञ्च आयोजना गरिने भएको छ।
विभिन्न अभियान, महासंघ, सञ्जाल, गठबन्धन, संघ–संस्था र नागरिक समाजका विविध पक्षहरूको सहकार्यमा यही वैशाख २१ गते काठमाडौंमा जनमञ्च आयोजना गरिने भएको हो।
जनमञ्चले जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यसँग जोडिएका मुद्दामा अग्रपंक्तिमा रहेका समुदायहरूको आवाज सगरमाथा संवादसम्म पुर्याउने लक्ष्य राखेको आयोजकमध्येका एक मिनबहादुर शाहीले जानकारी दिए ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कार्यक्रममा बालबालिका, महिला, आदिवासी, साना किसान, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायहरूको सहभागिता सुनिश्चित गरिनेछ।
जनमञ्च सचिवालयकी गीता पाण्डेले छलफलबाट उठेका विषयवस्तुहरू समेटी जनमञ्च घोषणापत्र जारी गरिने जानकारी दिइन् । ‘जनमञ्च घोषणापत्र सगरमाथा संवादमा संवेदनशील समुदायहरूको माग प्रस्तुत गर्न प्रयोग गरिनेछ,’ उनले भनिन्, ‘यो घोषणापत्र सगरमाथा संवादमा पैरवीका लागि प्रमुख दस्तावेज हुनेछ।’
जनमञ्चमा ५०० भन्दा बढी सहभागिता हुने आयोजकले जनाएको छ । सहभागीहरूमा नीति निर्माता, जलवायु विज्ञ, अनुसन्धानकर्ता, अन्तर्राष्ट्रिय संस्था, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधि रहनेछन्।
सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले जनमञ्चको मूल उद्देश्य जलवायु परिवर्तनका लागि कम जिम्मेवार तर बढी पीडित समुदायहरूको आवाज उठाउनु रहेको बताए। उनले भने, ‘न्यायसंगत, समान, समावेशी र निष्पक्ष निर्णय प्रक्रियाको माग यही जनमञ्चमार्फत उठाइनेछ।’
गैरसरकारी संस्था महासंघ नेपालका महासचिव देवी खड्काले पर्वतीय र समथर क्षेत्रका समुदायहरूलाई आफ्ना अनुभव, चुनौती र समाधानबारे संवाद गर्न यो मञ्च महत्वपूर्ण हुने बताए।
कार्यक्रममा जलवायु न्यायका अभियन्ता, आदिवासी नेताहरू, बालबालिका तथा युवाका प्रतिनिधिहरू र नीति निर्माता सहभागी हुनेछन्। विभिन्न विषयगत छलफल सत्रहरू आयोजना गरिने जनाइएको छ, जसले बहुपक्षीय संवादलाई प्रवर्द्धन गर्नेछ।
जनमञ्चले जल, जंगल, जमिन जस्ता साझा स्रोतहरूमा समुदायहरूको न्यायपूर्ण पहुँच सुनिश्चित गर्न र जलवायु प्रभावको सामना गर्न उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिनेछ।
प्रतिक्रिया 4