+
+
Shares

अमेरिकी डिभी लोटरीको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?

कन्फर्मेशन नम्बर, थर र जन्मेको वर्ष इन्ट्री गरेपछि छनौट भए/नभएको र भएमा अगाडि के गर्ने भन्ने प्रक्रिया थाहा हुनेछ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २० गते २२:५३

२० वैशाख, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ। न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे उक्त नतिजा अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले अनलाइनमार्फत प्रकाशित गरेको हो।

डिभी विजेताहरूले सन् २०२५ को अक्टोबर १ बाट भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् भने सन् २०२६ को सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसक्नुपर्नेछ। निर्धारित समयसीमाभित्र भिसा प्रक्रिया पूरा नगर्नेहरू स्वतः अयोग्य ठहरिने विदेश मन्त्रालयले जनाएको छ ।

गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका आवेदकहरूले अनलाइनमार्फत आफ्नो नतिजा जाँच गर्न सक्नेछन्। साथै, आवेदकहरूलाई कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न सल्लाह दिइएको छ।

कसरी थाहा पाउने नतिजा ?

डिभी परे/नपरेको थाहा पाउन आवेदकले आफ्नो कन्फर्मेशन नम्बरसँगै थर र जन्मेको वर्ष इन्ट्री गर्नुपर्नेछ । यी सूचनासहित अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा दिइएको यो लिंकमा क्लिक गरी नतिजा थाहा पाउन सकिनेछ ।

कन्फर्मेशन नम्बर, थर र जन्मेको वर्ष इन्ट्री गरेपछि छनौट भए/नभएको र भएमा अगाडि के गर्ने भन्ने प्रक्रिया थाहा हुनेछ ।

अर्को वर्ष के हुन्छ अमेरिकी डिभी लोटरी कार्यक्रम ?

अमेरिकी सरकार आर्थिक वर्ष २०२६ का लागि ५०,००० डाइभर्सिटी भिसा उपलब्ध गराउने तयारीमा छ। डिभी विजेताहरूले भिसा पाउनका लागि केही सहज तर स्पष्ट मापदण्डहरू पूरा गर्नुपर्नेछ।

यी भिसाहरू विश्वका ६ भौगोलिक क्षेत्रमा बाँडिन्छन्, जसअनुसार कुनै पनि एक देशका नागरिकले एक वर्षमा अधिकतम ७ प्रतिशत मात्र डिभी भिसा प्राप्त गर्न सक्ने प्रावधान छ।

अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकाल डोनाल्ड ट्रम्प निर्वाचित भएपछि डिभी कार्यक्रमको भविष्य अन्यौलमा परेको छ । कारण, अमेरिकी कंग्रेसमा यस कार्यक्रमलाई अन्त्य गर्ने उद्देश्यले नयाँ विधेयक पेश गरिएको छ।

रिपब्लिकन सांसद माइक कोलिन्सले फेब्रुअरीमा पेश गरेको उक्त बिलले डिभी लोटरी र त्यसबाट ग्रीन कार्ड पाउनेहरूको परिवारका सदस्यहरूलाई प्राथमिकता दिने प्रक्रियालाई पनि हटाउने प्रस्ताव गरेको छ। हालसम्म भने उक्त बिल पारित भएको छैन।

डिभी कार्यक्रमको विरोध लामो समयदेखि भइरहेको छ। सन् २०१७ मा न्यूयोर्कको म्यानहट्टनमा भएको ट्रक आक्रमणपछि डिभी कार्यक्रम खारेज बारे बहस सुरु भएको थियो । ८ जनाको ज्यान जाने गरी भएको उक्त हमलापछि ट्रम्पले यसका लागि आह्वान नै गरेका थिए । उक्त आक्रमणका मुख्य अभियुक्त सेफुल्लो साइपोभ डिभीमार्फत उज्वेकिस्तानबाट अमेरिका आएका थिए ।

ट्रम्पले त्यसैबेला रेइज एक्ट नामक विधेयकलाई समर्थन गरेका थिए, जसमा पारिवारिक आप्रवासन सीमित गर्ने, रोजगारीमा आधारित भिसा प्रणालीलाई परिवर्तन गर्ने र डिभी कार्यक्रम समाप्त गर्ने प्रस्ताव गरिएको थियो। सो विधेयक र त्यसपछिको अर्को प्रस्ताव सन् २०१८ मा पनि असफल भएको थियो।

डाइभर्सिटी भिसा कार्यक्रम अमेरिकी अध्यागमन तथा नागरिकता ऐन अन्तर्गत सुरु गरिएको हो र यसको अन्त्य वा परिमार्जन संसदबाट मात्र सम्भव छ।

सन् १९९५ यता ५७ हजारभन्दा बढी नेपालीहरूले डिभी चिठ्ठामार्फत ग्रीन कार्ड प्राप्त गरिसकेका छन्, जुन अमेरिका बसोबास गरिरहेका नेपाली ग्रीनकार्डधारीहरूको २५ प्रतिशतभन्दा बढी हो।

डिभी लोटरी कार्यक्रम के हो?

डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम अमेरिकी सरकारले सञ्चालित एक आप्रवासन कार्यक्रम हो, जसको उद्देश्य अमेरिका आउने आप्रवासीहरूको विविधता बढाउनु हो। विश्वका ती देशहरू जहाँबाट थोरै मात्रामा अमेरिकी आप्रवासी आएका छन्, तिनका नागरिकलाई स्थायी आवासीय अनुमति (ग्रीन कार्ड) दिने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो।

डिभी कार्यक्रम अन्तर्गत हरेक वर्ष कम्प्युटर प्रणालीद्वारा र्‍यान्डम छानिएका व्यक्तिहरूलाई ग्रीन कार्ड पाउने मौका दिइन्छ। यो कार्यक्रम सन् १९९० देखि प्रारम्भ भएको हो र अध्यागमन तथा नागरिकता ऐनको एक भाग हो। सफल आवेदकले आफू र आफ्नो परिवारका सदस्यहरूका लागि अमेरिका स्थायी रूपमा बस्न, काम गर्न र अध्ययन गर्न पाउने अधिकार प्राप्त गर्छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?