+
+
Shares

ग्रहशान्ति के हो ? किन गर्नुपर्छ ?

पण्डित नारायणप्रसाद दुलाल पण्डित नारायणप्रसाद दुलाल
२०८२ वैशाख २२ गते १४:०८

हाम्रो वैदिक ज्योतिषशास्त्रमा ग्रहहरूको नकारात्मक प्रभावलाई कम गर्ने र सकारात्मक प्रभावलाई बढाउने उद्देश्यले गरिने धार्मिक कार्य नै ग्रह शान्ति हो ।

खगोलमा रहेका ग्रह, नक्षत्र, तारा, पिण्ड आदिको आ-आफ्नै गुण र प्रभाव रहेको हुन्छ, तिनै अस्तित्व र प्रभाव सम्पूर्ण ब्रह्माण्डमा पञ्चतत्त्‍व (पृथ्वी, जल, तेज, वायु र आकाशहरूको माध्यमबाट ऊर्जा दिइरहेको हुन्छ ।

आ-आफ्ना गुण र विशेषताले गर्दा पञ्चतत्त्वहरूकै माध्यमबाट हाम्रो शरीरले ती ग्रह तथा नक्षत्रहरूको ऊर्जा ग्रहण गरिरहेको हुन्छ, चाहे त्यो राम्रो होस् वा नराम्रो । तिनै ग्रह तथा नक्षत्रहरूको फललाई हामीले वैदिक विधि अनुसार नकारात्मक ऊर्जालाई शुभ या सकारात्मक ऊर्जामा परिणत गर्ने विधिलाई ग्रहशान्ति भन्ने गरिन्छ ।

ग्रहदशा भन्नु नै ग्रहको प्रभाव हो अत: हामीहरू जुनसुकै ठाउँमा भए पनि पञ्चतत्त्वकै माध्यमले सबै भन्दा बढी जुन ग्रहले प्रभावित बनाइरहेको हुन्छ, हाम्रो ग्रहदशा भनेको त्यही नै हो ।

वैदिक या तान्त्रिक मन्त्रको ध्वनि, हवन, पाठ, स्तोत्र, ध्यान आदिको माध्यमबाट सम्बन्धित ग्रह तथा नक्षत्र आदिको ऊर्जाले हाम्रो यो पञ्चतत्त्‍व द्वारा निर्मित पार्थिव शरीरसँग जोड्ने काम गर्दछ । त्यसैले, शुभ फल र सकारात्मक ऊर्जा पाउन सकिन्छ जसले आँटेको, ताकेको, रोजेको, खोजेको फल दिनुका साथै मानलाई स्थिरता प्रदान गर्दछ ।

जन्म समयमा आएको नक्षत्र अनि त्यसै नक्षत्रको आधारमा जन्म लग्नसहित चिना वा कुण्डली बनाई ग्रहदशाहरू निर्धारण हुन्छन् । एकजनाको चिना वा कुण्डलीको भाव र अन्य कुण्डलीहरूको विश्लेषण गरी अन्य परिवारको बारेमा समेत केही जान्न र बुझ्न सकिन्छ ।

ग्रहहरूले हामीलाई प्रभाव पार्ने माध्यम भनेको एउटा ग्रहयोग र अर्को हो ग्रहदशा । ज्योतिषशास्त्र अनुसार हाम्रो जीवनमा विशेष गरी नौवटा मुख्य ग्रहहरूको प्रभाव रहन्छ- जसमा सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु । त्यसैगरी मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भाद्रिका, उल्का, सिद्धा र सङ्कटा गरी अष्ट योगिनीहरूको महत्त्व पनि रहन्छ ।

सामान्यत हामीले ग्रह शान्ति गर्नुको मुख्य कारणहरू जब यी ग्रहहरू अशुभ स्थानमा हुन्छन् वा कुन्डलीमा दोषयुक्त भएर बस्दछन्, जस्तै मङ्गल दोष, गुरु चाण्डाल योग, जडत्त्व योग, अल्पायु योग, ऋण योग, प्रेम विवाह असफल योग, सर्प योग, पितृ दोष, विष योग, ग्रहण योग, दारिद्र योग, कालसर्प योग, कारागार योग आदि छ भने अशुभ फल दिन सक्छ, त्यसैले योग शान्ति गरिन्छ ।

शनिको साढेसाती, अढैया त्यसैगरी शनि, राहु, केतु, सङ्कटा आदिको महादशा, अन्तर्दशा, प्रति अन्तर्दशा, सूक्ष्म प्रति अन्तर्दशा, दिनदशा र गोचर आदिको प्रभावले नराम्रो फल दिन सक्छ त्यसैले ग्रह शान्ति गरिन्छ ।

जन्म समयको मूल आदि नक्षत्र (अश्लेषा, मूल, विशाखा, जेष्ठा) हो जसले गर्दा पिरने या दु:ख दिने हुन्छ, त्यसको पनि शान्ति गर्ने शास्त्रीय विधान रहेको छ । अर्को कारण भनेको तिथि (औंशी, चतुर्दशी आदि) आदिको शान्ति हो ।

यिनै ग्रह तथा नक्षत्रको नकारात्मक प्रभावबाट बचनका लागि विशेष पूजा, पाठ, दान, जप, तप, सत्कर्म, निष्ठा आदि विधिपूर्वक गर्न र गराउन सके अवश्य दोष कम र निवारण हुन सक्छ । उपरोक्त दोष शान्ति या निवारण गर्नु भनेको पानी पर्न लागेको अनुमान लगाएर घर बाहिर निस्कँदा छाता या वर्षादी लिएर निस्कनु जस्तै हो ।

त्यस कारणले आफ्नो जन्म कुण्डलीको अवस्था के कस्तो छ भनेर ज्ञान लिएर पानीमा छाताको महत्त्व भए जस्तै नक्षत्र, ग्रहदशा र योगको पहिचान गरेर ग्रह शान्ति गर्नु या गराउनु उपयुक्त हुनेछ । अस्तु ॥

लेखक
पण्डित नारायणप्रसाद दुलाल

दुलाल ज्योतिषाचार्य र वास्तुविद्  हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?