
काठमाडौं । साहित्यकार बीएन जोशीको संस्मरणकृति ‘श्रमाटन’माथि विमर्श सम्पन्न भएको छ । ‘श्रमाटनः संवाद’मा सहभागी कवि-लेखक शकुन्तला जोशीले झन्डै तीन दशकअघिको कष्टपूर्ण यथार्थलाई पुस्तकले मार्मिक तवरले प्रस्तुत गरेको टिप्पणी गरिन् ।
‘हिजोआज मलेसिया जान सजिलो छ तर तीन दशकअघि मलेसिया छिर्न खोज्दा बीएन जोशीले झन्डै ज्यानै गुमाउनु परेको थियो’ जोशीले भनिन्, ‘मलेसिया लगायत विभिन्न खाडी मुलुकमा भोग्नुपरेको कष्टपूर्ण र मार्मिक यथार्थलाई श्रमाटनले समेटेको छ ।’
पुस्तक पढ्दा आफूलाई ‘लाइफ अफ पाई’ को झझल्को आएको पनि जोशीले बताइन् ।
यासाः समूहले राजधानीमा गरेको कार्यक्रममा अर्का टिप्पणीकार अभय श्रेष्ठले ‘श्रमाटन’ नेपाली युवाहरूको साझा जीवन भोगाइको प्रामाणिक दस्तावेज भएको बताए । ‘श्रमाटनमा वैदेशिक रोजगारीका लागि मलेसिया छिर्ने क्रममा बीएन जोशीले पाएको हण्डर र ठक्करको फेहरिस्त छ’ श्रेष्ठले भने, ‘यो उनले खाडी मुलुकमा काम गर्दाका व्यक्तिगत भोगाइको सङ्गालो हो तथापि यसले आम नेपाली युवाहरूको साझा भोगाइलाई प्रतिनिधित्व गर्छ ।’ यो पुस्तक आद्योपान्त पठनीय रहेको उनले सुनाए ।
कार्यक्रममा समीक्षक राजकुमार बानियाँले वैदेशिक रोजगारीको सिलसिला नरोकिएसम्म ‘श्रमाटन’को सान्दर्भिकता रहिरहने बताए भने समीक्षक कुमारी लामाले पुस्तकमा दुःख र कष्ट मात्र नभएर रमाइला प्रसंग पनि समेटिएको जानकारी दिइन् । कार्यक्रममा लेखक बीएन जोशीका साथै बैंकर डा. बुद्धि मल्ल, शैलेन्द्र अधिकारी, अमृत भादगाउँले, जगदीश भेटवाल लगायतले आआफ्ना धारणा राखेका थिए ।
नेपाली श्रमिक युवाको कारुणिक भोगाइको जीवन्त प्रस्तुति रहेको ‘श्रमाटन’ नेपाली र अंग्रेजी भाषामा प्रकाशित छ ।
प्रतिक्रिया 4