
२७ वैशाख, काठमाडौं । विश्वका प्रमुख सात औद्योगिक राष्ट्रहरूको समूह जी-सेभेनले भारत र पाकिस्तानलाई उच्चतम संयम अपनाउन आग्रह गरेको छ । जी-सेभेनले दुवै परमाणु सम्पन्न छिमेकी राष्ट्रहरूबीच बढ्दो तनावलाई लिएर गहिरो चिन्ता व्यक्त गरेको छ।
जी-सेभेनद्वारा शनिबार प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘थप सैन्य तनावले सम्पूर्ण क्षेत्रीय स्थायित्वलाई गम्भीर खतरा पुर्याउन सक्छ। हामी दुवै पक्षका नागरिकहरूको सुरक्षाप्रति गहिरो चिन्तित छौँ ।’
जी-सेभेनले भारत र पाकिस्तानलाई प्रत्यक्ष संवादमा सहभागी हुन आह्वान गर्दै कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ।
‘हामी घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ र चाँडो र दिगो कूटनीतिक समाधानका लागि समर्थन जनाउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
जी-सेभेनमा अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् ।
के हो जी-सेभेन ?
जी–सेभेन अर्थात् ‘ग्रुप अफ सेभेन विश्वका सातवटा अत्याधुनिक अर्थव्यवस्था भएका देशहरूको एक समूह हो । विश्वव्यापी व्यापार तथा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा यो समूहको दबदबा छ ।
यसका सदस्य मुलुकहरुमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका हुन् ।
रुसलाई पनि सन् १९९८ मा यो समूहमा सामेल गरिएको थियो र त्यसको नाम जी–८ भयो । तर सन् २०१४ मा क्राइमियामाथि कब्जा गरेसँगै रुसलाई सो समूहबाट निस्कासन गरियो ।
एउटा विशाल अर्थतन्त्र तथा विश्वको दोश्रो ठूलो जनसंख्या भएको देश हुनुका बाबजुद चीन हालसम्म यो समूहमा सहभागी छैन ।
चीनमा प्रतिव्यक्ति आय यी सात देशहरुको तुलनामा निकै कम छ । त्यसैले चीनलाई समृद्ध अर्थतन्त्र मानिँदैन । तर जी–ट्वान्टी समूहमा भने चीन लगायतका विकासशील देशहरु समेत सामेल छन् ।
युरोपेली संघ पनि जी–सेभेनको सदस्य छैन । तर पनि उसका अधिकारीहरुले जी–सेभेनको वार्षिक शिखर सम्मेलनहरुमा भाग लिन्छन् ।
जी–सेभेन देशका मन्त्री तथा अधिकारीहरुले वर्षभर नै बैठक गर्दछन्, सम्झौता तयार गर्दछन् र विश्वव्यापी घटनाहरुका विषयमा साझा वक्तव्य जारी गर्दछन् ।
प्रतिक्रिया 4