
News Summary
Generated by OK AI. Editorially reviewed.- गर्मी मौसम सुरु भएपछि काठमाडौं लगायत नेपालभरि आइसक्रिमको माग र व्यापार तीव्र रुपमा बढिरहेको छ।
- विभिन्न ब्रान्ड र फ्लेभरका आइसक्रिम बजारमा लोकप्रिय हुँदै गएको छ र यसको व्यापार मौसमी रुपमा मात्र होइन, स्थायी रुपमा पनि विस्तार हुँदै गएको छ।
- सरकारी र निजी क्षेत्रले आइसक्रिम उत्पादन र बिक्रीमा ठूलो लगानी गरेको छ र नेपाली बजारमा स्थानीय उत्पादनको हिस्सा बढ्दै गएको छ।
२९ वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौं नयाँ बानेश्वरको लिभरपुल इन्टरनेसनल कलेजमा अध्यनरत छात्रा स्मृति राई आइसक्रिम भनेपछि हुरुक्कै हुन्छिन् ।
कलेज नजिकैको एक पसलमा साथीसँग आइसक्रिम खाँदै गरेकी भेटिइन् स्मृति । उनलाई मनपर्ने आइसक्रिम फ्लेभर हो ‘स्ट्रबेरी’ ।
‘यो गर्मीमा आइसक्रिम खानुको मजा नै बेग्लै छ,’ उनी सुनाउँछिन्, ‘म त आइसक्रिमको यस्तो फ्यान हो कि जाडो महिनामा पनि खान्छु हाहा…!’
यतिबेला काठमाडौंमा गर्मीको पारो बिस्तारै चढ्न थालेको छ । गर्मी मौसमका बेला बालबालिका, युवायुवती र बुढाबुढीले समेत आइसक्रिम खान मन पराउँछन् ।
अहिले आइसक्रिम पार्लर, डिपार्टमेन्टल स्टोर, डेरी पसल र साना किराना पसलमा समेत गर्मीमा आइसक्रिम पारखीहरूको भीड नै लाग्ने गर्छ ।
अहिले विभिन्न पार्टी, भोजभतेर र अन्य सभा–समारोहमा समेत डिजर्टका रूपमा आइसक्रिम राखिएको हुन्छ । साथै, साथीभाइबीच पनि खुसीयाली मनाउन परे ‘आइसक्रिम पार्टी’ दिने चलन छ । विभिन्न ब्रान्ड र फ्लेभरका आइसक्रिम खानेको फेसन नै छ ।
काठमाडौं शंखमुलकी रियासा पाण्डे पनि आइसक्रिम पारखी हुन् । गर्मी लागेपछि आइसक्रिम खान पाइन्छ भनेरै खुसी हुने उनी सुनाउँछिन् ।
‘मलाई मन पर्ने फ्लेभर चोको बार र भेनिला हो,’ उनी भन्छिन्, ‘गर्मीले तातेको ज्यानलाई चिसो आइसक्रिमको स्वादले फुर्तिलो बनाइदिन्छ, अनि बल्ल जाँगर चल्छ ।’
जाडो महिनामा आइसक्रिम व्यापार खासै नहुने भए पनि गर्मी लाग्नासाथ व्यापार ह्वात्तै बढ्न थाल्छ । यतिबेला आइसक्रिम उत्पादक र विक्रेतालाई पनि भ्याइनभ्याइ छ ।
गर्मी मौसम सुरु हुनासाथ आइसक्रिमको माग ह्वात्तै बढ्ने व्यवसायीहरू बताउँछन् ।
बुद्धनगरमा रहेको बिन्ध्यवासिनी दुग्ध खरिद–बिक्री ट्रेडर्सकी सञ्चालक गीता तिमल्सिना वैशाख लागेसँगै आइसक्रिम व्यापार बढेको बताउँछिन् । उनका अनुसार अहिले बालबालिकादेखि बुढाबुढीसम्म आइसक्रिम किन्न आउँछन् ।
‘अहिले दैनिक घटीमा ५० र बढीमा १ सय वटासम्म आइसक्रिम बिक्री भइरहेको छ,’ तिमल्सिना भन्छिन््, ‘गर्मी बढेसँगै आइसक्रिमको माग अझै बढ्दै जान्छ ।’
उनले ५ सय रुपैयाँसम्म मूल्यका आइसक्रिम बेच्दै आएकी छिन् । सबैभन्दा बढी माग भने भेनिला र चकलेट फ्लेभरको रहेको उनी बताउँछिन् ।
उनले भेनिला, बटर स्कच, ट्वान्टीवान लभ, स्ट्रबेरी, मिल्की, मिक्स, चोकोबार, चोको नट्टीबार, चक्लेट भेनिला मिक्स लगायत स्वादका आइसक्रिम बेचिरहेकी छिन् ।
ठूला आइसक्रिम पार्लर, डेरी तथा साना पसलमा मात्रै होइन, आइसक्रिम व्यापार साइकल तथा ठेलामा समेत हुने गरेको छ ।
साइकलमा डोहोर्याउँदै बेच्न ल्याइएको आइसक्रिम, कुल्फी, बरफ स्वादिलो मात्रै नभई सस्तो समेत हुने हुँदा त्यसमा पनि उपभोक्ताको बाक्लै भीड लाग्ने गर्छ ।
रौतहट घर भएका पप्पु गुप्ताले ३ वर्षदेखि साइकलमा कुल्फी, बरफ र आइसक्रिम बेच्दै आएका छन् । फागुन दोस्रो सातादेखि नै साइकलमा कुल्फी बेच्न थालेको उनले सुनाए ।
‘जाडो महिनामा आइसक्रिमको व्यापार नहुने हुँदा मैले ठेलामा पोलेको मकै तथा बदाम बेच्छु,’ उनी भन्छन्, ‘गर्मी लागेसँगै फेरि आइसक्रिमको व्यापार गर्छु । मेरो व्यापार व्यवसाय मौसमी छ ।’
वैशाख लागेसँगै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्मको व्यापार गर्ने गरेको गुप्ता बताउँछन् ।
वर्षको ६० हजार लिटर आइसक्रिम उत्पादन गर्ने डीडीसीको अवस्था के छ ?
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि आइसक्रिम उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
आइसक्रिमको माग अनुसार उत्पादन र बिक्री वितरण गरिरहेको डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतम बताउँछन् ।
‘गर्मी लागेपछि माग बढ्नु स्वाभाविक हो,’ उनी भन्छन्, ‘हामीले माग अनुसार उत्पादन गरेर बजार पठाइरहेका छौं । उत्पादन त्यति ठूलो परिमाणमा भने छैन ।’
गौतमका अनुसार डीडीसीको दैनिक उत्पादन क्षमता ३ सय देखि ५ सय लिटरसम्म हो । डीडीसीले ५ फ्लेभरका आइसक्रिम उत्पादन गर्ने गरेको छ । जसमा भेनिला, बटर स्कच, चकलेट, चकलेट क्रन्च र स्ट्रबेरी छन् ।
डीडीसीले भेनिला, चकलेट र स्ट्रबेरी फ्लेभरको आइसक्रिम ४ लिटरको १ हजार ७ सय र १ लिटरको ४ सय ५५ रुपैयाँमा बेच्दै आइरहेको छ । बटर स्कच र चकलेट क्रन्च भने ४ लिटरलाई १ हजार ९ सय ५० र १ लिटरलाई ५ सय २५ रुपैयाँ तोकेको छ ।
डीडीसीको आधा लिटर आइसक्रिमको मूल्य २ सय ७० रुपैयाँ तोकिएको छ । डीडीसीले वार्षिक ६० हजार लिटर आइसक्रिम उत्पादन गर्दै आएको छ ।
आइसक्रिम उद्योगमा साढे ३ अर्ब लगानी
आइसक्रिम व्यवसायीहरूको छाता संगठन नेपाल आइसक्रिम उद्योग संघका अनुसार गर्मीयामको ५ महिना आइसक्रिम व्यापार सबैभन्दा राम्रो हुने गर्छ ।
हाल नेपालमा साना, मझौला र ठूला गरी १ सय ५० वटा आइसक्रिम उद्योग छन् । ती उद्योगमा ३ अर्ब ५० करोड रुपैयाँ बराबर लगानी भएको छ ।
संघका सचिवालय प्रमुख कृष्णप्रसाद बास्तोला आइसक्रिम सिजनेबल र विलाशिताको वस्तु भएको बताउँछन् ।
उनका अनुसार देशभरि आइसक्रिमको वार्षिक खपत ३५ लाख लिटर हाराहारी छ । आइसक्रिमलाई ‘साफ्टा’ सन्धि अन्तर्गत राखिएको उनी बताउँछन् ।
‘साफ्टा अन्तर्गत आयात गरेको सामानमा साढे ९ प्रतिशत भन्सार छ, हामीले उत्पादन गर्दा कच्चापदार्थमा ४० प्रतिशत भन्सार लाग्छ,’ उनी भन्छन्, ‘हामीले उत्पादन गर्नेभन्दा पनि भारतबाट आयात हुने सामान सस्तो भएको हुनाले आयातित वस्तु हाबी छ ।’
वार्षिक १५ लाख लिटर आइसक्रिम आयात
आइसक्रिम उद्योग संघ सचिवालय प्रमुख बास्तोलाका अनुसार नेपालमा वर्षेनि १२ देखि १५ लाख लिटर आइसक्रिम आयात हुन्छ ।
नेपालमा वर्षमा प्रतिव्यक्ति आइसक्रिम खपत १ सय २० मिलिलिटर मात्रै छ । भारतमा ४ सय मिलिलिटर र चीनमा सबैभन्दा धेरै २ हजार २ सय मिलिलिटर (२.२ लिटर) रहेको उनी बताउँछन् ।
नेपालमा उत्पादित आइसक्रिमले कुल बजारको ५२ प्रतिशत हिस्सा ओगट्ने गर्छ । ३८ प्रतिशत हिस्सा भारतीय आइसक्रिमले ओगटेको र १० प्रतिशत भने आइसक्रिम जस्तै कुल्फी तथा बरफ बनाएर बेच्नेले ओगटेको उनी बताउँछन् ।
नेपाली बजारमा नेपाल डेरी (एन्डिज), अजबको, क्वालिटी, निरुलाज, बास्किन एन्ड रोबिन्स (बीआर), स्नोफन, सुजल लगायत ब्रान्डमा आइसक्रिम पाइन्छ ।
बास्किन एन्ड रोबिन्स (बीआर) भने अमेरिकी आइसक्रिम ब्रान्ड हो । यो ब्रान्डलाई नेपालमा व्यापारिक घराना ज्योति ग्रुपले केही वर्षयता बिक्री वितरण गर्दै आएको छ । बीआरले काठमाडौं उपत्यकादेखि प्रमुख सहरहरूमा आउटलेट खोलेर आइसक्रिम व्यापार गर्दै आएको छ ।
‘अधिकांशको रोजाइमा नेपाली आइसक्रिम’
आइसक्रिम उद्योग संघका सचिव सरोज श्रेष्ठ अहिले आइसक्रिमले राम्रो बजार लिएको बताउँछन् । अघिल्लो वर्ष फागुन–चैतमा नभएको व्यापार यो वर्ष वैशाखमा भएको उनको भनाइ छ ।
उनका अनुसार पोहोर परार पनि आइसक्रिमले राम्रो व्यापार गरेको थियो । ‘भारत र अन्य देशबाट आयात भएको आइसक्रिमले भन्दा नेपालमै उत्पादन भएको आइसक्रिमले पनि राम्रो बजार पाउन थालेको छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘आयातितले स्थानीय बजार अलिकति प्रभावित त पार्छ नै । तर, अहिले नेपाली आइसक्रिम अधिकांशको रोजाइमा छ ।’
आइसक्रिम उद्योग स्कुप फुड प्रडक्टका सञ्चालक समेत रहेका श्रेष्ठले ‘स्कुपिज’ ब्रान्डमा आइसक्रिम बिक्री गर्दै आएका छन् ।
‘हामी अहिले पनि प्रिमियम सेग्मेन्टमा गएका छैनौं, पहिलेदेखि चल्दै आएकै उत्पादनमा छौं,’ उनी भन्छन्, ‘हाम्रो पनि अर्को वर्ष प्रिमियममा जाने योजना छ ।’
पहिलेका वर्षहरूमा भारत तथा अन्य देशबाट आयात भएका आइसक्रिमले बजार ओगटेको भए पनि पछिल्ला वर्ष आइसक्रिम बजारमा नेपाली उत्पादनकै हिस्सा बढ्दै गएकोमा खुसी लागेको उनले सुनाए ।
उनका अनुसार स्कुप फुड प्रडक्टले भेनिला, बटर स्कच, स्ट्रबेरी, चकलेट, ब्ल्याक फरेस्ट, केसर पिस्ता, केसर बदाम, ब्लुबेरी, ओरियो, म्यांगो लगायत फ्लेभरमा आइसक्रिम उत्पादन गर्छ । अहिले नेपाली बजारमा आइसक्रिम खाने ‘ट्रेन्ड’ एकदमै बढ्दै गएको उनी बताउँछन् ।
उनका अनुसार आइसक्रिमको फ्लेभर अनुसार मूल्य पर्न जाने हुँदा सस्तोदेखि महँगोसम्मको स्वाद चाख्न पाइन्छ । बारहरूमा सस्तोमा २० रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्म र लिटर तथा कपहरूमा ३० रुपैयाँदेखि ४ सय रुपैयाँसम्म पर्न जाने उनी बताउँछन् । यस्तै पार्टीप्याकहरूमा ९ सयदेखि १ हजार २ सय रुपैयाँसम्म पर्न जान्छ ।
उनले गत वर्ष २ करोड रुपैयाँसम्मको आइसक्रिम व्यापार गरेको जानकारी दिए । यस वर्ष पनि त्यसकै हाराहारी अथवा केही बढी व्यापार हुने उनको अनुमान छ ।
प्रतिक्रिया 4