
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले चार्टर्ड एकाउन्टेन्सी (सीए) शिक्षाको नयाँ पाठ्यक्रम लागू गरेको छ जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिएको हो।
- नयाँ पाठ्यक्रमले सीए को पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः २०२५, २०२६ र २०२८ देखि लागू हुनेछ र यसले देशको लेखा व्यवसायको गुणस्तर र प्रतिस्पर्धात्मकता बढाउने अपेक्षा गरिएको छ।
- पाठ्यक्रममा संहिताका विषयवस्तु, दिगोपना, प्रविधि र सार्वजनिक वित्त व्यवस्थापनलाई समावेश गरिएको छ र यसले विद्यार्थीहरूलाई विश्वव्यापी स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य राख्दछ।
३० वैशाख, काठमाडौं । नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) शिक्षामा अब नयाँ पाठ्यक्रम लागु हुने भएको छ ।
लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी नयाँ पाठ्यक्रम लागु भएको जानकारी गराएको हो ।
आइक्यान अध्यक्ष प्रविणकुमार झाका अनुसार सीए शिक्षामा युवापुस्ताको बढ्दो आकर्षण ध्यानमा राख्दै नयाँ पाठ्यक्रम बनाइएको छ ।
अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम निर्माण गरिएको र यसले नेपालमा पढेका सीएले संसारको जुनसुकै देश पुगेर समेत सहजै काम गर्न सक्ने वातावरण बनाउने उनको भनाइ छ ।
संस्थाका अनुसार इन्स्टिच्युट अफ चार्टर्ड एकान्टेन्ट्स इन इङल्यान्ड एन्ड वेल्ससँगको प्राविधिक सहकार्यमा पाठ्यक्रम परिमार्जन गरिएको हो । यसरी विकास गरिएको नयाँ पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागु हुने भएको छ ।
नयाँ पाठ्यक्रम लेखा व्यवसायको सर्वोच्च निकाय इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्सबाट जारी भएको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिएको छ ।
यसपटक लेखा क्षेत्रका महत्त्वपूर्ण पक्ष संहिता, दिगोपना, प्रविधि र सार्वजनिक वित्त व्यवस्थापन लगायत विषयवस्तु हरेक विषयको सान्दर्भिकता अनुसार समावेश गरिएको संस्थाले उल्लेख गरेको छ ।
गुणस्तरीय पाठ्यपुस्तकले सीए शिक्षाको गुणस्तर बढाउने अपेक्षा गरिएको समेत संस्थाले जनाएको छ । नयाँ पाठ्यक्रम लागु भएपछि देशमा आवश्यक दक्ष लेखा व्यवसायी उत्पादन भई देशको समग्र लेखा व्यवसाय क्षेत्रको विकासमा टेवा पुग्ने तथा संस्थाका सदस्यको पहिचान तथा प्रतिस्पर्धी क्षमतामा समेत उल्लेख्य वृद्धि हुने विश्वास संस्थाको छ ।
नयाँ पाठ्यक्रमले सीए पढ्न इच्छुक तर प्राविधिक कारण पढ्न नपाएका विद्यार्थीलाई सहजीकरणको प्रयास गरेको छ । नेपालको पाठ्यक्रममा अब नेपालको कर र कानुनमात्र ३० प्रतिशत हाराहारी पढ्नुपर्ने गरी डिजाइन गरिएको छ । पाठ्यक्रममा परिवर्तन भए पनि शुल्कमा भने फेरबदल नभएको समेत संस्थाले जनाएको छ ।
प्रतिक्रिया 4