
News Summary
Generated by OK AI. Editorially reviewed.- मालिका गाउँपालिकामा योजनाहरूको कार्यान्वयन र वितरणमा पारदर्शिता र परिणाममुखीता अभाव रहेको आरोप लगाइएको छ।
- नेकपा एमालेले गाउँपालिकाको नेतृत्व र योजनाहरूको कार्यशैलीमा सुधारको माग गर्दै आन्दोलनको चेतावनी दिएको छ।
- गाउँपालिकाका योजनाहरू मुख्य रूपमा डोजरे विकासमा केन्द्रित भएको र स्वास्थ्य, शिक्षा, आयआर्जन लगायतका क्षेत्रमा ध्यान नदिइएको उल्लेख छ।
३१ वैशाख, गुल्मी । मालिका गाउँपालिकाको कार्यसम्पादन मितव्ययी, पारदर्शी र परिणाममुखी नभएको भन्दै नेकपा एमाले मालिका गाउँपालिका कमिटीले ज्ञापनपत्र बुझाएको छ ।
एमाले मालिका गाउँपालिका अध्यक्ष शोभाखर गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पालिका अध्यक्ष देवीराम अर्याललाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा स्थानीय सरकारबाट छनोट गरिएका योजनाहरू टुक्रे र वितरणमुखी भएकाले सकारात्मक परिणाम आउन नसकेको, आसेपासे र शक्तिशालीहरूको प््रभावमा योजना छनोट गरी विपन्न तथा सीमान्तकृत क्षेत्रका जनतालाई विकासको अवसरबाट बञ्चित गरिएको, योजनाको कार्यान्वयन फितलो, र अपारदर्शी तथा गुणस्तरहीन रहेको उल्लेख छ ।
यस्तै, अधिकांश योजना डोजरे विकासमा आधारित रहेको, स्वास्थ्य, शिक्षामा सुधार, आयआर्जन र स्वरोजगार वृद्धिजस्ता कुरामा ध्यान नदिइएको, विपत् व्यवस्थापन तथा वातावरण सुधार, सुशासन तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउन पालिका नेतृत्वले ध्यान नदिएको ज्ञापनपत्रमा उल्लेख छ ।
विभिन्न १७ बुँदामा माग राखेको एमाले कमिटीले आफ्ना सरोकार बेवास्ता गरिए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
प्रतिक्रिया 4