
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशसभाको सातौं अधिवेशनमा प्रतिपक्षीले सरकारको कामकाज र संसदको सुनुवाइमा कमीको आलोचना गरे।
- पूर्वमुख्यमन्त्री राजेन्द्र राईले सुझाव कार्यान्वयन नभएको र नियमावली बनाउन नसकेको बताए।
- नेकपा माओवादी केन्द्रले गठबन्धनको असफलता र सरकारको असफलता औंल्याउँदै वैकल्पिक सरकारको आवश्यकतालाई जोड दियो।
- सांसदहरूले लोकतन्त्रमा फरक मतको सम्मान र बजेट निर्माणमा समावेशीता माग गरे।
- सत्ता पक्षले सरकारको सफलताको पक्षमा समर्थन जनाउँदै राजनीतिक स्थिरता र विकासको चर्चा गरे।
४ जेठ, विराटनगर। कोशी प्रदेशसभाको सातौं तथा बजेट अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दलले सरकारको आलोचना गरेका छन् । सरकारले काम गर्न नसकेको र संसदको कुरा नसुनेको भन्दै आलोचना गरेका हुन् ।
‘औपचारिकता पूरा गर्नका लागि उपस्थित छु, यहाँ धेरै पटक बोलियो, बोलेर केही हुन्छ जस्तो भएको छैन, आफ्नै इज्जत जोगाउनका लागि भएपनि नबोल्नु धेरै उत्तम जस्तो महसुस भएको छ,’ पूर्वमुख्यमन्त्री राजेन्द्र राईले भने,‘ शुभकामना दिउँ भने शुभकामनाका लायक हामी रहेनौं ।’
सरकारलाई दिएकाे सुझाव पनि कार्यान्वयन नभएको उनले बताए । ‘सुझाव दिउँ सुझाव उपहास हुन्छ, कामको कुरा गरौं, काम नगर्दा पनि भएकै छ,’ उनले थप ,‘ पौने तीन वर्षमा प्रदेश सभा नियमावली समेत बनाउन सकिएन ।’
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले १० महिनायता गलत नियतले बनेको गठबन्धनको बोझ सरकारले बोकेको बताए । १० महिनामा सरकारले केही काम गर्न नसकेको बताए ।
संविधान संशोधन, राजनीतिक स्थिरता र आर्थिक सुधारका मुख्य एजेण्डामा सरकार असफल भएको बताए । ‘ देशले पाउने तीन वटा बुँदामा गठबन्धन असफल भइसकेको छ,’ उनले भने,‘ यो गठबन्धनको औचित्व समाप्त भइसक्यो, अब बाडेर खाने काम मात्रै बाँकी छ ।’
कमजोर अर्थतन्त्र सुधार गर्ने सरकारको प्रतिबद्धता अधुरै रहेको आङ्बोको भनाइ छ । गभर्नर नियुक्ति गर्न नसकेको, राष्ट्र बैंक ‘ग्रे लिष्ट’ मा परेको अवस्थालाई पनि उनले असफलताको कारण रहेको बताउँदै उनले भने,अब वैकल्पिक सरकारको खाँचो छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सिटौलाले फरक मत राख्नेहरूप्रति राज्य कठोर भएको भन्दै चिन्ता व्यक्त गरे । ‘लोकतन्त्रमा सबैको आवाजलाई सुन्ने संस्कार हुनुपर्छ’ उनले भने’ ‘फरक विचार राख्नेप्रति निर्मम व्यवहार हुनु विडम्बना हो।’ जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले सबै क्षेत्रलाई समेटेर बजेट निर्माण गर्न आग्रह गरिन् ।
प्रतपक्षि दलले सरकारको आलोचना गरिरहदा सत्ता पक्षीय दल भने सरकारको पक्षमा उभिएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कांग्रेस–एमाले सरकारले राजनीतिक स्थिरताको सन्देश दिएको बताए । प्रदेशले गरेको लगानी सम्मेलनले लगानीको वातावरण रहेको सन्देश दिएको बताए ।
नेकपा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले प्रदेशको सिमित स्रोतलाई अधिकतम उपयोग गरी सरकारले जनमुखी काम गरिरहेको बताए । मुलुक परिवर्तनको संघारमा रहेको बताउँदै उनले आगामी नीति तथा कार्यक्रम र बजेट ‘सुखी नेपाली, समृद्ध नेपालको’ राष्ट्रिय अभियानमा योगदान गर्ने गरी ल्याइने बताए ।
प्रदेशसभाको अर्को बैठक भोलि बस्दैछ । भोलिको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम पेश हुनेछ ।
प्रतिक्रिया 4