
८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं अन्तर संसदीय संघ (आईपीयू) को स्वास्थ्य समिति सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाएर अघि बढ्न आह्वान गरेकी छिन् ।
स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ७९ औं सभा अन्तर्गतको ग्लोबल संसदीय संवादमा सहभागी हुँदै उनले यसका लागि आवश्यक कानुन र लगानी सुनश्चितता गर्न लाग्नुपर्ने बताइन् ।
‘दृढताका साथ कानुन बनाऔं, निर्भयतापूर्वक आवश्यक लगानी गरौं,’ संवादमा सहभागी हुने क्रममा गौतमले भनिन्, ‘स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीलाको रूपमा संरक्षण गरौं ।’
‘विश्व स्वास्थ्य सभाका प्राथमिकताहरूलाई अगाडि बढाउन सांसदहरूको निर्णायक भूमिका’ विषयक संवादका क्रममा उनले अब सांसदहरू परिवेक्षक मात्रै नभइ दूरगामी विकासका नेतृत्वकर्ताको रुपमा अघि बढ्नुपर्ने बताइन् ।
‘सांसदहरू अब परिवेक्षकजस्तो मात्र होइन, हामी उत्तरदायित्वको रक्षा गर्ने, समताका पक्षधर, र दूरगामी विकासका नेतृत्वकर्ता हौं,’ उनले भनिन् ।
डब्लूएचओको सभाका क्रममा भएका उक्त संवादलाई ऐतिहासिक पहलको रुपमा स्वागत गर्दै उनले आफूलाई आईपीयूको स्वास्थ्य सल्लाहकार समूहमा नेपालको तर्फबाट प्रतिनिधिको रुपमा सदस्य हुन पाउँदा गौरव अनुभव भएको बताइन् ।
यस प्रकारको कार्यक्रमले संसदहरूलाई पनि स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिन थालेको महसुस गरेको उनले बताइन् ।
उनले डब्लूएचओले हालै पारित गरेको महामारी सम्झौतामा सांसदहरूको निर्णायक भूमिका रहेको पनि बताइन् ।
‘यो सम्झौताले ठूलो काम सकिएको संकेत हैन, सुरुवात गरेको छ । अब आउने चरणहरूमा महामारीको सम्भावना भएका जैविक सामग्री र सम्बन्धित जानकारीको द्रूत, व्यवस्थित र समयमै आदानप्रदान र महामारीजन्य उत्पादन र सम्बन्धित लाभहरूको समयमै तथा न्यायोचित पहुँच सुनिश्चित गर्न पहुच र लाभ साझेदारी प्रणालीमा संवाद–वार्ता गर्नुपर्नेछ,’ उनले भनिन् ।
उनले सबै राष्ट्रको संसद्बाट यो सम्झौता अनुमोदन हुन आवश्यक रहेको पनि बताइन् ।
हालै केही दातृ निकायहरूले विदेशी सहायता कटौती गर्ने संकेत दिएकोप्रति उनले सम्मेलामा चिन्ता व्यक्त गरिन् ।
‘नेपालजस्ता निम्न आय भएका देशहरूमा यसको गम्भीर असर पर्छ । भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन,’ सांसद गौतमको भनाइ थियो , ‘जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन ।’
नेपालको कुल बजेटमा स्वास्थ्यको हिस्सा अझै पनि ५ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा निकै कम रहेको बताइन् । ‘स्वास्थ्य केवल खर्च होइन, यो भविष्यको लागि लगानी हो । अहिले लगानी गर्यौं भने भोलि खर्च घट्छ,’ सांसद गौतमले भनिन्, ‘तर अहिले कटौती गर्यौं भने भोलि त्यसको महगो मूल्य चुकाउनुपर्नेछ ।’
सोही कारण पनि स्वास्थ्य क्षेत्रको बजेट छुट्याउँदा सरकारले दीर्घकालिन सोच राख्नुपर्ने विचार व्यक्त गरिन् ।
उनले अब काम गर्नुपर्ने समय आफूहरूमाझ आएको बताउँदै उनले थप भनिन्, ‘हाम्रो विरासत के हो ? हाम्रो कर्म नै हाम्रो विरासत हो । इतिहासले हामीले के बहस गरेका थियौँ, के काम गर्यौं भनेर सम्झन्छ । त्यसैले अब समय आएको छ, काम गरौं, अगाडि बढौं ।’
संसद् नै कार्यपालिकालाई जवाफदेही बनाउने मुख्य अंग रहेको बताउँदै उनले संसद्को सक्रियताबिना कुनै पनि प्रतिबद्धता प्रभावकारी नहुने बताइन् ।
डब्लूएचओले आयोजना गरेको संवादले संसद्लाई विश्व स्वास्थ्य संरचनाको मेरुदण्डको रुपमा स्थान दिएको उनको भनाइ थियो ।
संवादमा आईपीयूका महासचिव मार्टिन चुंगोङ, डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम, डब्लूएचओको समन्वय स्रोत परिचालन निर्देशक डानियल थोर्नटन, डब्लूएचओ सचिवालय प्रमुख डा. जौआद महाजहुर, स्वीट्जरल्याण्डको तर्फबाट आईपीयू स्वास्थ्य समिति सदस्य क्रिस्टियन लोर, डब्लूएचओ युथ काउन्सिलका सदस्य कात्या चिच लगायत सहभागी थिए ।
प्रतिक्रिया 4