
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठभित्रै सञ्चालनमा ल्याइनेछ।
- मन्त्री देवेन्द्र दाहालले निर्माण कार्यको अनुगमन गरी काम चाँडै पूरा गर्न निर्देशन दिए।
- निर्माणमा केही प्राविधिक समस्या भए पनि समाधान भइसकेको र काम अन्तिम चरणमा रहेको जानकारी दिइयो।
११ जेठ, काठमाडौं । ललितपुर ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठ भित्रै सञ्चालनमा ल्याइने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आइतबार स्थलगत अनुगमन गर्दै यसबारे जानकारी गराएका हुन् । काम सकिए लगत्तै फ्लाइओभरबाट सवारीसाधन सञ्चालन हुने उनको भनाइ छ ।
आइतबार बिहान फ्लाइओभर निर्माण कार्यको स्थलगत निरीक्षण क्रममा उनले निर्माणका बाँकी काम चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
‘अब पनि ढिलाइ गर्ने छुट छैन,’ मन्त्री दाहालले भने, ‘परिस्थिति बाहिरको प्राकृतिक विपत्ति नआए जेठ अन्त्यसम्ममा गाडी चल्नुपर्छ । यो एक प्रतीक्षारत आयोजना पनि हो ।’
फ्लाइओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्र निर्माण भएको हो । फ्लाइओभरमा ट्राफिक लाइट जडान कार्य पनि हुनेछ ।
अनुगमन क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माण क्रममा केही प्राविधिक समस्या देखिएर ढिलाइ भएको र अहिले समस्या समाधान गरिसकेको जानकारी दिए ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाइओभर महत्त्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकता साथ पूरा गराउन लागिपरेको बताए ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र प्रमुख दीप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्रको काम भइरहेको छ ।
आशिष समानान्तर रेलिगेर जेभी काठमाडौंले फ्लाइओभर निर्माणको काम गरिरहेको छ । १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा निर्माण सुरु भएको फ्लाइओभर सुरु ठेक्का सम्झौता बमोजिम ११ फागुन २०८० मा सम्पन्न हुनुपर्ने थियो । तर, निर्धारित समयमा पूरा नभएपछि म्याद थप भई त्यसको निर्माण कार्य अघि बढेको हो ।
प्रतिक्रिया 4