 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलोपटक दोलखामा बोलिने नेवार भाषामा नाटक ‘मिसामी’ मञ्चन भयो।
- नाटक ‘मिसामी’ले प्रेमकथा र निःसन्तान महिलाले भोगेका सामाजिक उत्पीडनलाई प्रस्तुत गरेको हो।
- नाटकको मञ्चनमा विभिन्न देशका विद्यार्थी र कलाकारले सहभागिता जनाएका थिए।
काठमाडौं । काठमाडौंको रङ्गमञ्चमा पहिलोपटक दोलखामा बोलिने नेवार भाषामा नाटक मञ्चन भएको छ । डा. श्याम जोशीद्वारा ‘दोलखा नेवार भाषा’मा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको हो ।
न्यूयोर्क विश्वविद्यालय आबुधाबीमा सन्दर्भ सामाग्रीको रुपमा रहेको ५० वर्षअघि लिखित यस नाटककलाई सो विद्यालयकै सहकार्यमा दोलखा भाषा संरक्षण अभियान अन्तर्गत दस्तावेजीकरणका लागि नाटक मञ्चन भएको हो ।
नाटक हेर्न उक्त विश्वविद्यालयको आबुधाबी शाखामा अध्ययनरत विभिन्न देशका विद्यार्थी नेपाल आएका थिए । उनीहरुले नाटक निर्माणको प्रक्रिया समेत अध्ययन-अवलोकन गरेका थिए । ३० वर्ष अघि दोलखा नेवार भाषामा क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्राध्यापक क्यारोल जेनेट्टीको नेतृत्वमा विद्यार्थीको समूह नेपाल आएका हुन् ।

नाटक ‘मिसामी’ अर्थात् ‘स्वास्नीमान्छे’ले तत्कालिन समयको प्रेमकथासँगै निःसन्तान महिलाले भोगेका पारिवारिक तथा सामाजिक उत्पीडनलाई प्रस्तुत गरेको छ । २०३० सालमा लेखिएको यो नाटक दोलखामा सोही वर्ष दशैंको खड्गजात्राको दिन मञ्चन भएको थियो । हाल न्यूयोर्क विश्वविद्यालयका लागि न्यूज नेपाल प्रालिले ‘मिसामी’लाई निर्माण गरेको हो भने डबली थिएटर र थिएटर मल नेपालले प्रस्तुत गरेको हो ।
दोलखा र काठमाडौंका कलाकारको संयुक्त सहभागिता रहेको नाटकको मुख्य भूमिकामा कलाकार सुशिला लक्ष्मी महर्जन, विणा चाकुबजी मानन्धर र अमिर ताम्रकार थिए । साथै अन्य भूमिकामा सुजन श्रेष्ठ, अन्नपूर्ण श्रेष्ठ, रिना चाकुबजी, कलावती श्रेष्ठ, रमेश बज्राचार्य र दिप्तान्शु श्रेष्ठले अभिनय गरेका थिए । निर्देशक केदार श्रेष्ठलाई भाषा सहजकर्ताको रुपमा दीपनारायण श्रेष्ठले सघाएका थिए ।
नाटक मञ्चनसँगै नेपालका प्रख्यात कलाकार तथा निर्देशक नीर शाह, क्यारोल जेनेट्टी, दोलखा भाषा संरक्षण अभियानका हरिदर्शन श्रेष्ठ तथा लेखक श्याम जोशीले नेपाली व्यवसायिक रङ्गमञ्चमा दोलखा नेवार भाषामा नाटक मञ्चन हुनु ऐतिहासिक रहेको उल्लेख गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4