+
+
Shares

सगरमाथा आरोहीको सम्मान र आरोहणको उत्सव

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेष्ट एलाएन्स नेपालले काठमाडौंमा सगरमाथा आरोहीहरूलाई सम्मान गरेको छ।
  • कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आरोहीहरूलाई सम्मान पत्र र पदक प्रदान गरे।

१३ जेठ, काठमाडौं । एभरेष्ट एलाएन्स नेपालले विश्वका विभिन्न २५ मुलुकका सगरमाथा आरोहीहरूलाई एकै स्थानमा भेला गरेर सम्मान गरेको छ ।

एभरेष्ट समिटिएर्स समिट नाम दिइएको उक्कत कार्यक्रममा नेपालसहित चीन, भारत, अमेरिका, पाकिस्तान, अष्ट्रेलिया, बेलायत लगायत राष्ट्रका सगरमाथा आरोहीहरूलाई सम्मान गरेको हो ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण भएको ७२ वर्ष पुगेको अवसर एभरेष्ट समिटिएर्स समिटमा आरोहीहरूलाई सम्मान गर्दै उत्सव मनाइएको हो ।

राजधानीको सोल्टी होटलमा सोमबार आयोजित कार्यक्रकममा संस्कृति पर्यटन तथा उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा आरोहीहरूलाई सम्मान पत्र प्रदान गरेका थिए । यस्तै आयोजकले आरोहीहरूलाई सम्मान स्वरुप पदक समेत प्रदान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको बताए । हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता समेत व्यक्त गरे ।

‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौं’ मन्त्री पाण्डेले भने ।

उनले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्‍याउने सबैप्रति विशेष सम्मान व्यक्त गर्दै उनीहररूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको बताए ।

पछिल्लो समय विश्वभर चर्चा रहेको क्लाइमेट चेन्ज (जलवायु परिवर्तन) र यसको असरबारे बहस भइहरँदा एभरेष्ट समिटिएर्स समिटमा पनि विभिन्न प्यानल डिस्कसन मार्फत क्लाइमेट चेन्ज र सगरमाथा आरोहण लगायत विषय विषयवस्तुमाथी छलफल भएको थियो ।

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलेरीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यही दिनलाई विश्वभर विशेष रुपमा मनाइने गरिन्छ ।

नेपालमा पहिलो पटक सगरमाथा आरोहीहरूको सम्मानमा यति भव्य कार्यक्रम आयोजना गरिएको र सफल रुपमा सम्पन्न भएको भन्दै आयोजक एभरेष्ट एलिएन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले खुशी व्यक्त गरे ।

‘हामीले सगरमाथा आरोहीहरूको सम्मान केही गर्नुपर्छ भनेर पहिलो पटक यो कार्यक्रम सुरु गरेका हौँ । उहाँहरूको प्रतिक्रिया एकदमै राम्रो रह्यो,’ नेपालले भने । ‘यसले हामीलाई निकै उत्साहित बनाएको छ । यस पटक विदेशी आरोहीहरू आफ्नै खर्चमा समेत आउनुभयो । आगामी वर्षहरूलाई यो कार्यक्रमलाई अझ भव्य रुपमा मनाउने र आरोहिहरूको संख्या समेत बढाउन प्रयास गर्नेछौं ।’

नेपालले लामो समयदेखि यो समिट बारे सोच बनाएको र पछिल्लो एक वर्षदेखि रिचर्स गरेर सगरमाथा आरोहीहरूलाई भेला गरेर सम्मान गर्ने अवस्थासम्म आइपुगेको बताए ।

यस्तै सगरमाथा आरोहण गरेका मात्र नभई कीर्तिमान बनाएकाहरूलाई समेत एकै स्थानमा भेला गरेर सम्मान गर्न पाउँदा आफैँ सगरमाथा पुग्नेजस्तो अनुभव भएको पनि नेपालले बताए । समिटमा सहभागी सगरमाथा आरोहीहरूले आयोजकले यसरी आफूहरूलाई सम्मान गर्दा निकै खुशी भएको प्रतिक्रिया दिए ।

घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरि बुढा मगरले यसरी सम्मानित हुन पाउँदा गर्व लागेको बताए । ‘यो समिटले एभरेष्ट आरोहीलाई एकै ठाउँमा ल्याएको छ । सबैसँग भेट्ने मौका पनि मिल्यो ।’

साथै उनले सटिटमा आफ्नो बाल्यकालदेखि सगरमाथा आरोहण गर्दासम्मको अनुभव पनि सुनाएका थिए । यस्तै विश्वको १४ वटै अग्ला हिमाल आरोहण गर्नुका साथै विन्टरमा के ६ हिमाल चढ्ने कान्छा बरोही गेल्जे शेर्पाले समिटलाई उत्सवको रुपमा मनाउनुपर्ने बताए । ‘यो सेलेब्रेसनको समय हो र हामी सबैले सेलेब्रेट गर्नुपर्छ ।’
हरि बुढा मगर र गेल्जे शेर्पाले सर्भाइभिङ दी डेथ जोन विषयमा आफ्नो भनाइहरू राखेका थिए ।

यसैगरी विश्वकको ८ हजार मिटर भन्दा अग्ला १४ वटै चुचुरोको आरोण गर्ने सबैभन्दा कान्छी कीर्तिमानी आरोही बेलायतकी एड्रियाना ब्राउनलीले अन्य आरोहीसँगै यसरी नेपालमै सम्मानित हुन पाउँदा खुशी व्यक्त गरिन् ।

अधिकांश आरोहीले सगरमाथा मात्र नभई अन्य अग्ला हिमालहरू समेत आरोहण गरेका छन् । उनीहरू पनि समिटमा सहभागी थिए ।

कार्यक्रममा धेरै पटक सगरमाथा आरोहण गर्ने देखि विभिन्न खालको कीर्तिमान बनाउने, थोरै समयमा धेरै पटक सगरमाथा चढ्ने, कान्छा आरोही लगायत विभिन्न कीर्तिमान बनाउने आरोहीहरू सहभागी थिए ।

यसैगरी पिक्स अफ प्यासन: लेजेण्ड्स इन्पायर दी नेक्स्ट क्लाइम् र क्लाइमेट चेन्ज एण्ड दी प्युचर हिमालयज विषयमा प्यानल डिस्कनसन समेत भएको थियो ।

यस्तै माउण्ड एभरेष्ट र के टु आरोहण गर्ने युवा पाकिस्तानी आरोही, सगरमाथा आरोहण गर्ने पहिलो नेपाली अभिनेत्री, भारतीय सगरमाथा आरोही अनुजा वैद्य, तीन दशक भन्दा लामो समयदेखि आरोहणमा लागेका चिनिया आरोही काओ सुनले आफ्नो आरोहणको अनुभव सुनाएका थिए ।

कार्यक्रममा सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीसँगै सगरमाथा आरोहण गरेका टिमको अन्तिम जीवित सदस्य कान्छा शेर्पालाई लाइफ टाइम अचिभ्मेन्ट अर्वाडबाट सम्मान प्रदान गरिएको थियो । यस्तै विभिन्न झाँकी सहित हिमाली संस्कृति, हस्तकला र फोटो प्रदर्शनी गरिएको थियो ।

एभरेष्ट एलाएन्स नेपालका प्रमुख सल्लाहकार अच्युत गुरागाईँले यस्ता खालको कार्यक्रम आयोजना गर्न सपना देख्नु नै ठूलो विषय भएको र केही कमी कमजोरी भएपनि पहिलो संस्करण भव्य रुपमा सफल भएको भन्दै सम्बन्धित सबै स्टेकहोल्डरहरूलाई धन्यवाद दिए ।

साथै उनले आगामी वर्षदेखि यसलाई अझ भव्य रुपमा आयोजना गर्दै लगिने बताए । ‘अर्को वर्ष पनि यही मितिमा यो कार्यक्रम आयोजना हुन्छ । आजै घोषणा गर्छौँ । अर्को वर्ष देई दिन मे २७ र २८ मा हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?