 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको लागि थप १३ अर्ब रुपैयाँ बजेट प्राप्त गरेको छ।
- मन्त्रालयले नयाँ कार्यक्रमहरू कार्यान्वयन गर्न र स्वास्थ्य सेवामा विस्तार गर्न बजेट आवश्यक भएको जनाएको छ।
- मन्त्री प्रदीप पौडेलले निरन्तर छलफलपछि बजेट थप गर्न सफल भएको बताइएको छ।
१४ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रारम्भिक सिलिङभन्दा थप १३ अर्ब रुपैयाँ बजेट प्राप्त गरेको छ । मन्त्रालय स्रोतका अनुसार यससँगै कुल बजेट सिलिङ करिब ९६ अर्ब रुपैयाँमा पुगेको छ ।
राष्ट्रिय योजना आयोगले सुरुमा स्वास्थ्य क्षेत्रका लागि ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ दिएको थियो । उक्त रकम चालु आर्थिक वर्षको बजेटभन्दा ३ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ कम थियो ।
तर स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निरन्तर अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल र अनुरोध गरेपछि थप १३ अर्ब रुपैयाँको बजेट प्राप्त गर्न सफल भएको मन्त्रालय स्रोतले जनायो ।
‘नीति तथा कार्यक्रममा स्वास्थ्यका नयाँ कार्यक्रम आएका छन् । त्यस कार्यक्रमलाई कार्यावन्यन गर्न थप बजेटको आवश्यकता थियो,’ मन्त्रालयले स्रोतले भन्यो, ‘निरन्तर अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफलपछि तोकिएको सिलिङ भन्दा थप १३ अर्ब थपिएको छ ।’
स्वास्थ्य सचिव डा. विकास देवकोटाले अर्थ मन्त्रालयसँग मन्त्री र सचिवस्तरीयको पटक पटको छलफलपछि सिलिङभन्दा थप बजेट प्राप्त हुने अवस्था बनेको बताए । ‘ पटक पटकको छलफलपछि स्वास्थ्य मन्त्रालयले राखेका कार्यक्रममा केही बजेट थपिएको छ,’ देवकोटाले अनलाइनखबरसँग भने ।
नीति तथा कार्यक्रममा क्यान्सर, जलन र मानव अंग प्रत्यारोपण सेवा अब सातै प्रदेशका संघीय अस्पतालमा विस्तार, काठमाडौंमा न्यूरो अस्पतालको स्थापना, मधेश प्रदेशमा किड्नी सेन्टर खोल्ने नयाँ कार्यक्रमको घोषणा गरिएको छ ।
त्यसैगरी स्वास्थ्य बीमा प्रणालीमा व्यापक सुधार गर्ने लक्ष्यसहित बीमा बक्यौता शून्यमा झार्ने योजना अगाडि सारिएको छ । नसर्ने रोगका पहिचानका देशव्यापी रुपमा फागुन महिनाभर स्त्रिङ र सबै स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको व्यवस्था गर्ने नयाँ कार्यक्रम थपिएका छन् ।
‘संघीय बजेट अघिल्लो वर्षको तुलनामा घट्दा तथा अमेरिकी सहयोगमा आएको कटौतीका कारण नयाँ कार्यक्रम प्रभावित हुने स्थिति देखिएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्री पौडेलले प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग लगातार संवाद गर्दै बजेट थप गर्ने सहमति जुटेको हो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4