+
बजेट २०८२/८३ :

यस्तो छ युवा तथा खेलकुद मन्त्रालयको बजेट (पूर्णपाठ)

२०८२ जेठ  १५ गते १७:४५ २०८२ जेठ १५ गते १७:४५
यस्तो छ युवा तथा खेलकुद मन्त्रालयको बजेट (पूर्णपाठ)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोडको बजेट विनियोजन गरेको छ।
  • बजेटमा खेल पूर्वाधार र खेलाडी विकासमा लगानी वृद्धि र निजी क्षेत्रलाई आकर्षित गर्ने उल्लेख छ।
  • राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न बजेट व्यवस्था गरिएको छ।

१५ जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका लागि सरकारले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार घोषणा गरेको बजेट खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै हो । यसअघि अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो ।

बजेटमा मुलुकको आर्थिक सामाजिक विकास र सेवा प्रवाहमा युवाको योगदान वृद्धि गरिने उल्लेख छ भने खेल पूर्वाधारको निर्माण तथा खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने उल्लेख गर्दै निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने उल्लेख छ ।

पूर्णपाठ

युवा जनशक्तिलाई आत्म अनुशासन र सेवाभावका साथ राष्ट्र निर्माणमा परिचालित हुन अभिप्रेरित गरिनेछ । मुलुकको आर्थिक सामाजिक विकास र सेवा प्रवाहमा युवाको योगदान वृद्धि गरिनेछ ।

राष्ट्रिय युवा परिषद्को समन्वयमा १६ वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिनेछ । उनीहरूलाई तालिम तथा प्रशिक्षणबाट योग्य बनाई शिक्षा, स्वास्थ्य, सामाजिक जागरण, वातावरण संरक्षण, विपद्मा उद्धार, राहत र पुनर्स्थापनाका लागि परिचालन गरिनेछ ।

शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा विनाधितो रु. दुई लाखदेखि बीस लाखसम्म तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ ।

खेल पूर्वाधारको निर्माण र खेलाडीको व्यावसायिकता विकासको लागि लगानी बढाउदै लगिनेछ। खेलाडीमा “म जित्न सक्छु” भन्ने उच्च मनोवल विकास गर्न निरन्तर प्रशिक्षण र प्रतियोगिता सञ्चालन गरिनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन र खेल प्रतियोगिता प्रवर्द्धन गर्न निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिनेछ। त्यस्ता खेल पूर्वाधारका लागि सडक, खानेपानी र विजुलीको पहुँच सुनिश्चित गरिनेछ ।

झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गरिनेछ। खेल विधाको विविधीकरण र खेल पर्यटनको प्रवर्द्धनका लागि सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युड स्पोर्टस् स्टेडियम निर्माण गरिनेछ ।

काठमाडौंको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रूपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि रु. ४२ करोड विनियोजन गरेको छु। कीर्तिपुरस्थित क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि रु. ४० करोड विनियोजन गरेको छु। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट गरिने मूल्याङ्कनका आधारमा चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरेको छु। खेल पूर्वाधार निर्माण गर्न बजेटमा उल्लेखनीय वृद्धि गरेको छु।

सुर्खेतको वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न रु. ५४ करोड विनियोजन गरेको छु। राष्ट्रिय एण्टीडोपिङ्ग एजेन्सी सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गरिनेछ। यस्ता खेलाडी र उनीहरूका सन्ततिलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ। खेलाडी र प्रशिक्षकलाई प्रदान गरिंदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिएको छु।

खेल क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्न महिला लक्षित प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ। उत्कृष्ट महिला खेलाडीका लागि पुरस्कारको विशेष व्यवस्था गरिनेछ ।

प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस एकेडेमी सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु। बालबालिका तथा युवायुवतीलाई स्काउटका माध्यमबाट कर्तव्यपरायण, अनुशासित, स्वावलम्बी, चरित्रवान तथा सुयोग्य बनाई सामाजिक सेवा र उद्धार कार्यमा परिचालन गरिनेछ ।

नेपाल बजेट युवा तथा खेलकुद मन्त्रालय
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय