
१६ जेठ, काठमाडौँ । सरकारले विदेशबाट आयात हुने मदिरामा भन्सार दर परिमार्जन गरेको छ । यसअघि विदेशबाट आयातित मदिरामा सामान्यतया प्रतिलिटर २ हजार रुपैयाँका दरले भन्सार लाग्ने गरेको थियो ।
त्यस्तै बियरमा प्रतिलिटर २ सय रुपैयाँ र वाइनमा ३ सय रुपैयाँ भन्सार लिने गरेको थियो ।
अब ह्विस्की, रम, ब्रान्डी, जिन, भोड्का लगायत तयारी मदिरामा सरकारले आयात मूल्यको शतप्रतिशत भन्सार दर लगाउने गरी आर्थिक विधेयक मार्फत संशोधन गरेको छ ।
विदेशबाट ठूलो मात्रामा ब्रान्डेड मदिरा नै आयात गर्दा पनि प्रतिलिटर ४-५ देखि १४-१५ अमेरिकी डलरसम्म पर्ने मदिरा उद्योगी तथा आयातकर्ता बताउँछन । अनलाइन सपिङ प्लेटफर्महरूमा सार्वजनिक तथ्यांक हेर्दा कुनै-कुनै ब्रान्डका हकमा त्यो कुरा पुष्टि हुन्छ ।
उदाहरणका लागि होलसेलरहरूका लागि भ्याट सिक्स्टी नाइन ह्विस्की एक लिटरको फ्याक्ट्री मूल्य ४.८५ डलर सम्ममा पाइने गरेको देखिन्छ ।
त्यस्तै रेड लेबल ह्विस्कीको एफओबी मूल्य (आयातकर्तालाई पर्ने बिजक मूल्य) १० डलर हाराहारी पर्ने देखिन्छ । एब्सोलुट भोड्काको पनि त्यस्तै हाराहारी एफओबी मूल्य देखिन्छ ।
तर, कुन ठाउँबाट कुन देशमा डेलिभरी गर्ने हो, त्यसका आधारमा मूल्य तह हुने गर्छ ।
साथै, यसरी प्रतिशतमा कर लगाउँदा सस्तो मूल्यका विदेशी मदिरा सस्तो हुने मदिरा उत्पादक रवि केसी बताउँछन् ।
नेपालमा विदेशी मदिर आयात बढ्ये भने स्वदेशी उद्योगलाई समस्या पर्ने उनको भनाइ छ ।
त्यस्तै शारडा ग्रुपका निर्देशक गौरव शारडा पनि सरकारले मदिराको भन्सार दर परिवर्तन गर्नुअघि पर्याप्त अध्ययन नगरेको बताउँछन् ।
खासगरी विदेशबाट आयात हुने मध्यमस्तरका मदिरा रेड लेबल, भ्याट सिक्स्टी नाइन, एब्सोलुट भोड्का लगायतमा भन्सार घट्ने तर प्रिमियम मदिरामा बढ्ने उनी बताउँछन् ।
‘नेपाली उद्योगका उत्पादनसँग प्रतिस्पर्धा गर्ने ब्रान्डमा भन्सार दर घट्ने देखिएको छ । यो त्यति मिलेको देखिँदैन,’ उनी भन्छन् ।
त्यस्तै वाइन र बियरमा नयाँ भन्सारले शतप्रतिशत जति मूल्य बढ्न सक्ने पनि उनी बताउँछन् ।
मदिराको कच्चापदार्थका रूपमा रहने स्पिरिटमा भन्सार दर परिवर्तन गरेर ३० प्रतिशतमा झार्नु गलत भएको उनी बताउँछन् ।
सरकारको यो नीतिले स्पिरिटमा करिब आत्मनिर्भर भइसकेको नेपाललाई धक्का लाग्ने उनी बताउँछन् । ‘नेपालका मदिरा उद्योगले करिब ९५ प्रतिशत स्पिरिट नेपालमै उत्पादन भएको प्रयोग गर्छन् । अब भन्सार सस्तो भई भारतबाट भित्रिने सम्भावना धेरै छ,’ उनी भन्छन् ।
स्पिरिटमा यसअघि प्रतिलिटर ६० रुपैयाँ भन्सार थियो । ‘स्पिरिटको मूल्य सामान्यतया १ सय रुपैयाँ प्रतिलिटर हुने हुनाले ६० प्रतिशत भन्सार हुन आउँथ्यो । तर, अब ३० प्रतिशत मात्रै लाग्ने भयो,’ उनी भन्छन् । यो नीति ल्याउनुअघि पर्याप्त अध्ययन गरेको नदेखिने उनी बताउँछन् ।
प्रतिक्रिया 4