News Summary
Generated by OK AI. Editorially reviewed.- महिला सीप विकास जागरण समाजले काठमाडौंमा १५ दिने सौन्दर्य सीप तालिम सुरु गर्यो।
 - कार्यक्रमले ३० महिलालाई सौन्दर्य कला, हेयर स्टाइल र मेकअप सिकाउँदै आत्मनिर्भरता प्रवर्द्धन गर्दछ।
 
१६ जेठ, काठमाडौं । महिला सीप विकास जागरण समाजको आयोजनामा तथा बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालयको सहकार्यमा काठमाडौं महानगरपालिका–१२ मा १५ दिने सौन्दर्य सीप विकास तालिम सुरु गरिएको छ।
महिला सशक्तिकरणका लागि महत्वपूर्ण मानिएको यो कार्यक्रम जेठ १४ देखि सुरु भएको हो। तालिममा ३० जना महिला सहभागी छन्, जसले सौन्दर्य कला, हेयर स्टाइल र मेकअप सम्बन्धी व्यावसायिक सीपहरू हासिल गर्दैछन्।
कार्यक्रमको उद्देश्य महिलाहरूलाई सीपयुक्त बनाउँदै आत्मनिर्भर बनाउने हो, जसले उनीहरूलाई स्वरोजगार तथा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न सहयोग पुर्याउनेछ।
तालिमको क्रममा सहभागी महिलाहरूलाई अनुहारको बनोट अनुसारको मेकअप कला, हेयर कट तथा डिजाइन, सरसफाइ, ग्राहक सेवा, सौन्दर्य सामग्रीको सही प्रयोग तथा ट्रेन्डिङ शैलीहरूबारे व्यवहारिक अभ्यास गराइनेछ।
यस्ता तालिमहरू केवल सीप सिकाउने माध्यम मात्र नभई महिलाको आत्मबल, आत्मविश्वास र समाजमा उनीहरूको योगदानको कदर गर्ने अवसरसमेत हुन्। धेरैजसो महिला घरायसी जिम्मेवारीमा सीमित रहँदा यस्ता कार्यक्रमहरूले उनीहरूलाई बाह्य संसारसँग जोड्ने, आर्थिक रूपमा सक्षम बनाउने र आफ्नै पहिचान निर्माण गर्न सहयोग पुर्याउँछन्।
महिला शिप विकास जागरण समाजकी अध्यक्ष अनिता ठकुरीका अनुसार, यो तालिम समाजको दीर्घकालीन अभियानको थालनी हो। आगामी दिनहरूमा थप वडाहरूमा सिलाई–कटाई, बस्त्र निर्माण, हस्तकला, घरेलु उत्पादन, फेशन डिजाइन तथा डिजिटल सीपसम्बन्धी तालिमहरू पनि सञ्चालन गरिनेछ। उनले सीप विकास कार्यक्रमहरूलाई लिङ्ग समानता, सामाजिक समावेशिता र स्थानीय समृद्धिमा योगदान पुर्याउने रणनीतिक पाटोको रूपमा लिनुपर्ने धारणा व्यक्त गरिन्।
तालिममा सहभागी महिलाहरूको उत्साह अत्यन्त सकारात्मक देखिएको छ। उनीहरूले सिकेका सीपहरूलाई प्रयोग गरी घरमै सैलुन सञ्चालन गर्ने र आम्दानीको स्रोत बनाउने लक्ष्य राखेका छन्। यस्ता कार्यक्रमहरूले महिलाको सीपलाई रूपान्तरण गर्दै, उनीहरूलाई परिवार मात्र होइन, समाजको आर्थिक विकासमा समेत सक्रिय सहभागी बनाउँछन्।
महिला सशक्तिकरणले मात्र समतामूलक र दिगो समाज निर्माण सम्भव हुने लक्ष्यसहित, महिला सीप विकास जागरण समाजले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने दृढ संकल्प लिएको छ।
स्थानीय सरकार, सामाजिक संस्थाहरू र समुदायको संयुक्त प्रयासबाट महिलाको सशक्तिकरण अब शब्दमा मात्र नभई व्यवहारमा परिणत हुँदै गएको छ, र यो तालिम कार्यक्रम त्यसको जीवन्त उदाहरण बनेको छ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4