
१७ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायमै रहेको टिप्पणी गरेका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन नसक्ने बताउँदै उनले देश र जनता बनाउनुको ठाउँमा नेताहरू धन कमाउने कुरामा ध्यान केन्द्रित गरिरहेको बताए ।
‘पार्टीहरू पञ्चायत जस्ता भए । अलिअलि छलफल त पञ्चायत, राष्ट्रिय पञ्चायतमा पनि हुन्थे । पार्टीहरूको पञ्चायतीकरण, नेताहरूको राजातन्त्र,’ भूसालले भने, ‘गणतन्त्रको एउटा स्टिकर टाँसेर हुने हो की ? हामी धन कमाउनु, धमाउनु आदि इत्यादि काममा हामी गयौँ । लोकतन्त्रमा दल नसुध्रिकन हुँदैन ।’
महाससचिव भुसालले भारदारहरू र अहिलेका नेताहरूमा कुनै फरक नरहेको पनि बताए । लोकतन्त्रका नेताहरूको विलासी जीवनशैली, व्यवहार नसुधारेसम्म दूरदिन अझै लम्बिने जिकिर उनको थियो ।
‘भारदारहरू र हाम्रा नेताहरू फरक छन् साँच्चै ? भन्नसक्छौँ । म गणतन्त्रवादी, मेरा नेता र राजाका भारदारको जीवनमा फरक छैन । तिनले बस्ने कुर्सी, तिनले हिँडने तरिका, तिनका भेटघाट, रातिको भेटघाट, सम्पती,’ भूसालले भने, ‘साँच्चै कति कति फरक छ ? गणतन्त्रवादीले यो नैतिकताका साथ किन भन्न सकिरहेका छैनन् । दोषी को हो ? यो नखोज्ने हो भने बिरालाको घाँटीमा कसैले घण्टी बाँध्दैनन् । दुरदिन अझै लम्बिएर जान्छ । यो त्यही विचारमा हामीले गरेको कम्परमाइजका लागि बीपीले र पुष्पलालले लिएको बदला हो भन्ने लाग्छ ।’
प्रतिक्रिया 4