
१९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले वित्तीय प्रणालीको पैसा सीमित व्यक्तिहरूको मात्र पहुँचमा हुन नहुने बताएका छन् । नेपाल राष्ट्र बैंकका पुर्व कर्मचारी संघको ३२ औ स्थापना दिवसमा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् ।
वित्तीय क्षेत्रले सम्पन्न र विपन्न बिचको अन्तर कम गर्ने गरी काम गर्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ । ‘कसरी हुन्छ विपन्न वर्गलाइ सहयोग गर्नु पर्छ भन्ने हो,’ गभर्नर पौडेलले भने, ‘सबै नेपालीहरूको लागि समान हुने गरी काम गरौं भन्ने हो ।’
हाल बैंकिङ प्रणालीमा करिब १८ अर्ब जति विदेशी विनिमय सञ्चिति छ । त्यसैगरी करिब ६८ खर्ब रुपैयाँ निक्षेप छ । यो स्रोत केही व्यक्तिको हातमा मात्रै जान नहुनेमा पौडेलले जोड दिए । वित्तीय क्षेत्रको यो स्रोतको असमान वितरण हुँदा अर्थतन्त्रले गति लिन नसक्ने उनको भनाइ छ ।
‘सबै नेपालीको जीवनस्तर उकास्न यो स्रोत प्रयोग होस भन्ने हो,’ गभर्नर पौडेलले भने, ‘साना तथा मझौला उद्यम र कृषि क्षेत्रमा खराब कर्जा बढ्यो भन्ने आएको छ । यस विषयलाई गहन रुपमा बुझ्न सुरु गरेको छु ।’
बैंकिङ क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू थपिँदै गएका छन् । बैंकिङ प्रणाली पनि प्रविधिमैत्री बन्दै गएको अवस्था छ । यसमा पनि केही व्यक्ति मात्र फाइदा लिने अवस्था बन्न नहुने पौडेलको भनाइ छ ।
कार्यक्रममा पूर्व कर्मचारी संघका अध्यक्ष आश्विनी कुमार ठाकुरले मौद्रिक नीतिको प्रभावकारी उपकरण नै ब्याजदर रहेको बताएका छन् । ब्याजदरको विषयमा सरकारले भन्दा पनि केन्द्रीय बैंकले नै बोलेको उपयुक्त हुने उनको सुझाव छ । निर्यात र घर कर्जामा स्थिर ब्याजदर यो निर्णय नेपाल सरकारले गर्ने हो भन्दै उनले प्रश्न गरे ।
भारुसँगको विनिमयदर एक वर्षभित्र परिवर्तन गर्ने विषय सरकारे हल्ला गरेर भन्दा पनि गोप्य रुपमा गर्नुपर्ने सुझाए । नेपाली मुद्राको चलनचल्तिमा र विदेशी मुद्रा सञ्चितिमा के कस्तो असर पर्छ भन्ने विषयमा विचार गरेर मात्र भारुसंगको विनिमयदर चलाउन ठाकुरले सुझाए ।
जब फिस्कल अथोरिटी मोनिटरी अथोरिटीलाई भारी हुन्छ । त्यस्तो अवस्थमा देशको अर्थतन्त्रले नकारात्मक असर गर्ने गरेको उनले बताए ।
प्रतिक्रिया 4