 
																			२० जेठ, काठमाडौं । आज पनि काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् ।
सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता गर्ने अडानमा व्यवसायी छन् ।
नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले विश्व ब्रह्माण्ड नै विश्वासमा बाँचेको तर एक वर्ष अगाडि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले यस सम्बन्धी नियमावली नल्याउने बचनमा विश्वास गर्दा अहिले धोका खाएकाले पुनः बन्दमा उत्रिनु परेको बताए । संघीय सरकारसँग आफूहरुको अविश्वास नभएको तर गण्डकी प्रदेश सरकारबाट प्रतिबद्धता नआएसम्म विश्वासको वातावरण नबनेकाले गाडी नचलाएको उनले बताए ।
रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका थिए ।
वार्ताका लागि गठन भएको कार्यदलले सहमति भएका विषय समेटेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्ने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्राचार गर्ने, प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने र गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्ने सहमति भएको स्वाँरको भनाइ छ ।
तर सहमति पछि पनि उपत्यका सहितका जिल्लामा सार्वजनिक यातायातका साधन फाट्टफुट्ट मात्रै चलेका छन् । सार्वजनिक सवारी साधन नचलेपछि यात्रुहरू मर्कामा परेका छन् । बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू प्रभावित भएका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवासम्बन्धी नियमावली जारी गरेपछि त्यसको खारेजीको माग गर्दै यातायात व्यवसायीहरु पाँच दिनदेखि आन्दोलित छन् । उनीहरुले गत शुक्रबारदेखि गण्डकी प्रदेशभर र जेठ १९ गतेदेखि देशभर चक्काजाम गरेका छन् ।
तस्वीरहरू : विकास श्रेष्ठ


 
  
   
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4