
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चेम्बर अफ कमर्स र आईएमएफ का प्रतिनिधिहरूले नेपालको वर्तमान आर्थिक अवस्था, बजेट र मौद्रिक नीति विषयमा छलफल गरेका छन्।
- अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी बजेटले आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सक्ने विश्वास व्यक्त गरे ।
२२ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधिबीच नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाइ, आगामी आर्थिक वर्षको बजेट लगायत विषयमा छलफल भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यावसायिक वातावरण, कोभिडपछिको अर्थतन्त्र, आगामी आवको बजेट र मौद्रिक नीति लगायत विषयमा केन्द्रित भएर छलफल भएको हो ।
आईएमएफका प्रतिनिधिसँग चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको वर्तमान समस्या सम्बोधन गर्ने गरी आगामी आवको बजेट आएकाले निजी क्षेत्रमा आशा पलाएको बताए ।
‘सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र निजी क्षेत्रले दिएका सुझावका आधारमा नै आगामी आवको बजेट ल्याएको छ । बजेट समग्रमा सन्तुलित छ । कार्यान्वयनको पाटो प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छौं,’ उनले भने ।
६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी ल्याइएक बजेटको लक्ष्य पूरा गर्न सोही अनुसार सहजीकरण हुने गरी मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
कोभिड-१९ पछि अंगिकार गरिएका संकुचित नीतिका कारण निजी क्षेत्रले धेरै ठूलो क्षति बेहोर्नुपरेको र वर्तमान आर्थिक शिथिलताका कारण पनि सोही नीति नै रहेको अध्यक्ष अग्रवालले बताए ।
मुलुकको अर्थतन्त्र केही दबाबमा रहे पनि आगामी बजेटको प्रभावकारी कार्यान्वयन हुन सके अधिकांश समस्या सम्बोधन हुनेमा आफूहरू विश्वस्त रहेको अध्यक्ष अग्रवालले बताए ।
नेपालमा प्रचुर सम्भावना भएको भन्दै अध्यक्ष अग्रवालले उपयुक्त आर्थिक नीति अंगिकार गरिए उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने बताए ।
आईएमएफ मिसन चिफ डा. सर्वात जाहान नेतृत्वको प्रतिनिधिमण्डलले चेम्बर पदाधिकारीसँगको भेटमा नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका समस्या, आगामी आवको बजेट र मौद्रिक नीति लगायत विषयमा जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया 4