+
+
Shares

तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद

अध्यक्ष शर्मा, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवास मुद्दाको पुर्पक्षका लागि थुनामा थिए । अदालतले सजाय निर्धारण गरे अनुसारको अवधि कैदमा बसेका कारण सचिव न्यौपाने र खवास भने अब छुट्न पाउनेछन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ जेठ २२ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद र ६७ करोड ५९ लाख रुपैयाँ बिगो फैसला गरेको छ।
  • आइतबार अदालतले सचिव सविना न्यौपाने र प्रबन्धक सन्दीप खवासलाई पनि दोषी ठहर गरेको थियो।
  • सहकारीले संकलन गरेको १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम गरी सञ्चालकले अपचलन गरेको अदालतको ठहर छ।

२२ जेठ, विराटनगर । जिल्ला अदालत मोरङले तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनसँग सम्बन्धित मुद्दामा सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद निर्धारण गरेको छ ।

आइतबार जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष शर्मासहित सहकारीकी सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई सहकारी ठगी मुद्दामा दोषी ठहर गरेको थियो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहीबार अध्यक्ष शर्मालाई ६ वर्ष कैद निर्धारण भएको हो । सहकारी सचिव तथा शर्माकी पूर्वपत्नी सविना न्यौपानेलाई २ वर्ष २ महिना कैदको फैसला भएको छ । प्रबन्धक खवासलाई पनि २ वर्ष २ महिना नै कैद सजाय निर्धारण भएको छ ।

सूचना अधिकारी बुढाथोकीका अनुसार ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो फैसला भएको छ । शर्मालाई ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ नै बुझाउनु पर्ने फैसला भएको छ । शर्माले २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न पनि फैसला भएको छ ।

खवासलाई २७ लाख बिगो र २७ लाख नै जरिवाना निर्धारण भएको छ । उनले पीडित राहत कोषमा १ लाख ८ हजार जम्मा गर्नुपर्नेछ । सचिव न्यौपानेको हकमा भने बिगो र जरिवाना तोकिएको छैन ।

पीडित राहत कोषमा ६०० रुपैयाँ जम्मा गर्नुपर्ने अदालतको फैसला छ । सहकारीका अध्यक्ष शर्मासहित ८ जनालाई प्रतिवादी बनाएर २०७९ साल चैत १२ गते ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसुरमा मुद्दा दायर गरिएको थियो ।

आइतबार अदालतले तीन जनालाई दोषी ठहर गर्दा सहकारीकी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईलाई सफाइ दिएको थियो । फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा भने मुल्तबीमा राखेको थियो ।

अध्यक्ष शर्मा, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवास मुद्दाको पुर्पक्षका लागि थुनामा थिए । अदालतले सजाय निर्धारण गरे अनुसारको अवधि कैदमा बसेका कारण सचिव न्यौपाने र खवास भने अब छुट्न पाउनेछन् ।

विराटनगरमा मुख्य कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय मार्फत २१ हजार १ सय ५४ जना बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत संकलन गरी अपचलन गरेका थिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?