+
+
Shares

संसद्को अवरोध खुलाउन बहुपक्षीय छलफलमा कांग्रेस-माओवादी, एमाले मौन

संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस सहितका दलहरू बहुपक्षीय छलफलमा रहँदा सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले कम सक्रिय छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १७:१८

२५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा दलहरू बहुपक्षीय छलफलमा छन् ।

विपक्षी दलहरूको छुट्टै बैठक बसेको छ । सत्तारुढ दल कांग्रेससँग विपक्षी दलहरू माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छुट्टाछुट्टै छलफल गरेको छ । कांग्रेसका नेताहरू पनि विपक्षी दलसँग निरन्तर संवादमा छन् ।

आइतबार बिहान नयाँ बानेश्वरमै विपक्षी दलहरूको बैठक बस्यो । जहाँ माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरे । प्रचण्ड देउवालाई भेट्न शनिबार उनकै निवास बुढानीलकण्ठ पुगेका थिए ।

त्यसअघि गत शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिवद्धय वर्षमान पुन र शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए ।

विपक्षी दलहरूसँगको छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र नेता ज्ञानेन्द्र कार्की बस्दै आएका छन् ।

कांग्रेसका नेताहरूसँग रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, सन्तोष परियार लगायतले संवाद गरिरहेका छन् । बहुपक्षीय छलफलमा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, कार्यवाहक प्रवक्ता मनिष झा लगायत सरिक हुँदै आएका छन् ।

संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस सहितका दलहरू बहुपक्षीय छलफलमा रहँदा सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले कम सक्रिय छ ।

सभामुखले बेलाएको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौला सरिक हुँदै आएका छन् । एमालेका अन्य नेताहरू संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सक्रिय भएको सार्वजनिक जानकारीमा छैन ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।

यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।

जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?