
News Summary
Generated by OK AI. Editorially reviewed.- कुमार सानुको जन्म कोलकातामा भएको र उनको करियर मुम्बईमा स्थापित भएको हो।
- उनीले २५ हजारभन्दा बढी गीत गाएका र गिनिज बुकमा सूचीकृत भएका छन्।
- उनले किशोर कुमारको नक्कलबाट सुरु गरी आफ्नो पहिचान स्थापित गरे।
कुमार सानु, जसको मधुर आवाज सुन्दै हुर्किएको छ एउटा सिङ्गो पुस्ता । खासगरी ९० को दशकमा कुमार सानु सर्वत्र छाएका थिए । सिनेमाघरमा, मेला–उत्सवमा, बिहेभोजमा जताततै। शहरका गल्लीदेखि गाउँका कन्दरासम्म ।
आज पनि उनको धुन मत्थर भएको छैन । धेरैको घरलाई उनले संगीतमय बनाइरहेकै छन्। ४० वर्ष बितिसकेछ, उनले यसरी अविरल गीत गाएको । यसबीचमा २५ हजार गीतमा आवाज दिएका छन् । आशिकी, साजन, बाजीगर जस्ता थुप्रै फिल्ममा उनले गीत गाएका छन् ।
करियरको उत्कर्षमा उनले एकै दिन यति धेरै गीत रेकर्ड गराए, जसको हिसाब उनीसँग छैन । छोटो अवधिमा सर्वाधिक गीत रेकर्ड गराउने गायकको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उनी सूचीकृत छन् ।
कुमार सानु कहाँबाट मुम्बई पुगे? कसरी गायक बने ?
खासमा कुमार सानुको नाम केदारनाथ भट्टाचार्य हो । उनको जन्म र हुर्काइ पश्चिम बङ्गालको कोलकातामा भयो । उनका पिता पनि संगीतकार थिए। कुमार सानु पाँच दाजुभाइ र दिदीबहिनीमध्ये सबैभन्दा कान्छा हुन् ।
कुमार सानु भन्छन्, ‘मेरा पिता संगीत शिक्षक हुनुहुन्थ्यो । घरमै पिताजीले बच्चाहरूलाई संगीत सिकाउनुहुन्थ्यो। हामी त्यही हेरेर हुर्कियौँ ।’
बाल्यकालदेखि संगीतप्रति झुकाव भएकाले उनले बी.कम.को पढाइ बीचमै छोडे । आफ्नो शुरुआती करियरमा कुमार सानु कोलकाताका होटलहरूमा गीत गाउँथे । तर संगीतको संसारमा करियर बनाउन उनले मुम्बई जानु आवश्यक ठाने । उनले भने, ‘कलकत्तामा त्यतिबेला राम्रो पैसा पनि कमाइ हुन्थ्यो। तर मेरो लक्ष्य भनेको बम्बई फिल्म उद्योगमा गीत गाउनु नै थियो ।’
मुम्बईको संघर्ष
मुम्बई जानुअघि उनले कोलकातामा संगीतको क्षेत्रमा नाम कमाउने धेरै प्रयास गरे ।
एक समय यस्तो पनि थियो, जब कुमार सानुले आफ्ना गीतहरूको रेकर्डिङ क्यासेट बनाएर बाङ्गाली संगीत निर्देशकहरूलाई पठाउँथे। तर जब उनलाई बाङ्गाली संगीत उद्योगबाट निराशा प्राप्त भयो, तब उनको मुम्बई जाने निर्णय झन् बलियो भयो ।
कुमार सानु भन्छन्, ‘त्यतिबेला मेरो दिमागमा आयो, यदि यही संघर्ष म बम्बई गएर गर्छु भने, त्यहाँ मलाई धेरै सम्भावनाहरू देखिए। मलाई लाग्यो, म त्यहाँ गएर प्रयास गर्नुपर्छ ।’
दाइसँग ११०० रुपैयाँ ऋण लिएर रेल चढेर सिधै बम्बई
जब कुमार सानु दोस्रो पटक मुम्बई गए, केवल छ दिनभित्रै उनले एउटा होटलमा जागिर पाए ।
त्यो आइतबारको दिन थियो, जब कुमार सानु आराधना गेस्ट हाउस पुगे। त्यहाँ पुगेर उनले गेस्ट हाउसका मालिकसँग गीत गाउने अवसर मागे ।
कुमार सानु भन्छन्, ‘त्यहाँ गएर मैले मालिकसँग भने, मलाई एकपटक गीत गाउने मौका दिनुहोस् । त्यहाँ मैले पहिलो गीत ‘हंगामा क्यूँ है बरपा’ गाएँ ।’
यो गीतपछि उनले १४,००० रुपैयाँको बक्सिस पाए र त्यही दिन उनलाई त्यहाँ जागिर पनि प्राप्त भयो ।
यद्यपि, यो जागिर उनको लागि सहारा बन्यो, तर उनको वास्तविक सपना भनेको बम्बई फिल्म उद्योगमा गायक बन्ने नै थियो ।
किशोर कुमारको नक्कल
हरेक कलाकारको कुनै न कुनै प्रेरणा स्रोत हुन्छ, जसलाई सुरुमा पछ्याउँछन् । कुमार सानुको लागि यो प्रेरणा थिए गायक किशोर कुमार ।
उनी भन्छन्, ‘हामी कसै न कसैलाई पछ्याउछौँ। मैले किशोर दालाई पछ्याएँ ।’
तर जब उनलाई आफूलाई प्रमाणित गर्ने अवसर प्राप्त भयो, उनको मनमा एउटा कुरा स्पष्ट थियो । यदि उनी केवल ‘किशोर कण्ठी’ बनिरहे भने, उनी पनि ती व्यक्तिहरूमध्ये गनिनेछन् जो आउँछन् र गुमनाम भएर जान्छन् ।
यहाँबाट उनले आफूमा परिवर्तन ल्याउन थाले । उनले माने कि आफ्नो छुट्टै पहिचान हुनु अत्यन्त आवश्यक छ ।
कुमार सानु भन्छन्, ‘जब म किशोर दाका गीत गाउँथें, त्यसमा थोरै–थोरै आफ्नो केही मिसाउँथें। त्यही कुरालाई मैले बिस्तारै स्थापित गरें ।’
‘त्यतिबेला मलाई जे–जति अवसर प्राप्त भयो, त्यसमा मैले जिउ ज्यान लगाएँ ।’
‘आशिकी‘को सफलता
र जब उनलाई फिल्म ‘आशिकी’मा गीत गाउने अवसर प्राप्त भयो, तब उनले पहिचान मात्र प्राप्त गरेनन्, संगीतको संसारमा एउटा नयाँ आवाजको रूपमा उदाए ।
कुमार सानु भन्छन्, ‘तपाईंले मेरा गीतहरूमा किशोर दाको झलक पनि पाउनुहुनेछ र कुमार सानु पनि देखिनेछ ।’
उनको विश्वास छ कि कुनै पनि गायकको लागि आफ्नो योगदान दिनु धेरै आवश्यक छ । यदि गायकले केवल दिइएका निर्देशनमा गाउँछ र त्यसमा आफ्नो केही जोड्दैन भने, ऊ अगाडि बढ्न सक्दैन ।
उनले भने, ‘मेरा धेरै गीतहरू छन् जसमा मैले आफ्नो योगदान दिएको छु । र जुन गीतहरूमा मैले मेरो योगदान दिन सकिनँ, ती गीतहरूको स्टेज प्रदर्शनमा मैले मेरो सम्पूर्ण योगदान हालिदिन्छु ।’
कुमार सानुको नजरमा गुलशन कुमार
गुलशन कुमारलाई सम्झँदै कुमार सानु भन्छन्, ‘गुलशन कुमार यस्ता व्यक्ति थिए जसले संगीत उद्योगलाई आफ्नो हक माग्न सिकाए ।’
‘चाहे संगीत निर्देशक होस्, गायक होस् वा गीतकार, गुलशन कुमारले आफैं पैसा दिन्थे र आफ्नो हकको पैसा लिने बानी सिकाए ।’
कुमार सानु आफ्नो सफल करियरको श्रेय गुलशन कुमारलाई दिन्छन् ।
उनी भन्छन्, ‘गुलशन जीले मलाई ‘धीरे–धीरे से मेरी जिन्दगी में आना’ गीत दिए, जसले गर्दा म आज कुमार सानु छु ।’
आशिकीले बनायो स्टार
कुमार सानु ९० को दशकको संगीतको बारेमा कुरा गर्दै भन्छन्, ‘त्यतिबेला संगीतको धेरै मूल्य थियो। फिल्मको संगीत बेचेरै फिल्मको आधा छायांकन पूरा हुन्थ्यो । त्यतिबेला फिल्महरू सिल्भर जुबली मनाउँथे ।’
जब फिल्म ‘आशिकी’ रिलिज भयो, तब कुमार सानु मुम्बईको प्रसिद्ध चन्दन टकिजमा फिल्म हेर्न गए ।
त्यो क्षणलाई सम्झँदै उनी भन्छन्, ‘त्यहाँ गएर मैले देखें, फिल्मको हरेक गीतमा मानिसहरूले पर्दामा पैसा फालिरहेका छन् । फिल्म हेरेपछि सबै दर्शक मेरो बारेमा कुरा गर्दै मेरो छेउबाटै हिँडिरहेका थिए ।’
यो अनुभवपछि उनलाई थाहा भयो कि उनको आवाजले लाखौं मनहरू छोएको छ ।
बिबिसीबाट
प्रतिक्रिया 4