
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षिजनक विश्व विद्यालयका ८६ विद्यार्थीलाई दीक्षित गरेका छन्।
- स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरू मध्ये उत्कृष्ट १० विद्यार्थीले गोल्ड मेडल समेत प्राप्त गरेका छन्।
२७ जेठ, जनकपुरधाम । राजर्षिजनक विश्व विद्यालयका ८६ जना विद्यार्थी दीक्षित भएका छन् ।
जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कलाकेन्द्र भवनमा विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ८६ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।
त्यस्तै, विश्वविद्यालय टपर चार जना, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० विद्यार्थीले गोल्ड मेडल प्राप्त गरेका छन् ।
सन् २०१८, २०१९ र २०२० ब्याचका स्नातक तहमा विश्वविद्यालय टपरमा क्रमशः प्रिया कर्ण, दीक्षाकुमारी मण्डल र ज्योती चौधरीलाई कुलपति पदक दिइएको छ ।
त्यस्तै, रश्मीकुमारी सन् २०२० को स्नातकोत्तर तहमा विश्वविद्यालय टप गरेकी हुन् ।
त्यसैगरी, विभिन्न संकायमा उत्कृष्ट हुने काजोल रौनियार, प्रिया कर्ण, आरतीकुमारी राउत, रुपेश ठाकुर, दीक्षाकुमारी मण्डल, पंकज यादव, दीक्षा कर्ण, रानीकुमारी साह, ज्योती चौधरी र रश्मीकुमारीलाई उपकुलपति पदक दिइएको छ ।
दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवम् कुलपति ओलीको अध्यक्षतामा विश्वविद्यालय सभा (सिनेट) को बैठक पनि बसेको थियो ।
संघीय सरकार मातहतको यो विश्वविद्यालयमा हाल चार संकायका १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन छन् । जसमा एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई–सिभिल, बीआईटी, बीसीए, बीएस्सी–सीएसआईटी, बीपीएच, बीएस्सी–एमएलटी, बीएस्सी–एजी, बीए–एलएलबी र बीजेएमसी छन् ।
यो विश्वविद्यालय मातहत पाँच वटा आंगिक क्याम्पस छन् भने हालै देशका ६८ वटा कलेजले सम्बन्धन लिएका छन् । जनकपुरधामस्थित यस विश्वविद्यालयको स्थापना १२ कात्तिक २०७४ मा भएको हो ।
वरिष्ठ साहित्यकार तथा प्रध्यापक डा. राजेन्द्र बिमल प्रमुख अतिथि रहेको समारोहमा विश्व विद्यालयका सहउपकुलपति समेत रहेका मधेशका मुख्यमन्त्री शतिसकुमार सिंह, उपकुलपति प्रध्यापक डा. अमरप्रसाद यादव लगायत सहभागी थिए ।
प्रतिक्रिया 4