+
+
Shares
मास्टरपिस सिनेमा :

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

सापेक्ष सापेक्ष
२०८२ जेठ ३० गते ८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘बाइसाइकल थिभ्स’ चलचित्रलाई ‘द बाइसाइकल थीफ’ नामले चिनिन्छ र सामाजिक यथार्थको चित्रण गर्दछ।
  • यो फिल्म दोस्रो विश्वयुद्धपछिको रोमको यथार्थ जीवनलाई सरल र सजीव ढंगले प्रस्तुत गर्दछ।
  • चलचित्रको मुख्य पात्र एन्टोनियो रिचीको साइकल चोरीको कथा मार्फत संघर्ष र आशाको कथा देखाइन्छ।

सन् १९४९ मा न्युयोर्क टाइम्सका चर्चित चलचित्र समीक्षक बोस्ली क्राउचरले एउटा इटालियन चलचित्रबारे लेखेका थिए – मानिसहरूले यसलाई हेर्नुपर्छ । उनीहरूले चासो दिनुपर्छ ।

अमेरिकी दर्शकमाझ ‘द बाइसाइकल थीफ’को नामले परिचित त्यो चलचित्र आज ‘बाइसाइकल थिभ्स’ (इटालियनमा ‘लद्री डि बाइसिकेट’)को नामले चिनिन्छ । रोचक तथ्य के छ भने चलचित्रमा धेरै साइकल चोरी हुने भएकाले अहिले यो नाम राखिएको थियो ।

खैर, चलचित्रमा साइकल चोरेको दृश्य त छ । तर यो चोरीको कथा मात्र होइन । बरु आधुनिक जीवनको क्रूरताले कसरी सबैलाई चोर्न बाध्य पार्न सक्छ भन्ने गहिरो सामाजिक यथार्थको चित्रण हो ।

भिट्टोरियो डे सिकाको यो निराशा र मानवीय संघर्षको अनुपम गाथालाई साढे ७६ वर्षभन्दा बढी समयदेखि विश्वभरका दर्शक, समीक्षक र विद्यार्थीहरूले निरन्तर अध्ययन, विश्लेषण र प्रशंसा गर्दै आएका छन् ।

तर आजको समयमा तपाईंले यो चलचित्र किन हेर्नुपर्छ ? फेरि किन हेर्नुपर्छ ? अझै पनि किन चासो दिनुपर्छ ? सामान्यत: उत्कृष्ट कृतिलाई यस्तै प्रश्नहरूले जीवित राख्ने गर्छन् । बाइसाइकल थिभ्सको हकमा यी प्रश्न अझ बढी सान्दर्भिक छन् ।

लुइगी बार्टोलिनीको पुस्तकमा आधारित यो फिल्म दोस्रो विश्वयुद्धपछिको रोमको पृष्ठभूमिमा सेट गरिएको छ । एक वाक्यमा भन्दा यो फिल्म गरिबी, आशा र संघर्षको मार्मिक कथा हो ।

चलचित्रको केन्द्रमा एन्टोनियो रिची (लामबर्टो म्यागियोरानी) नामक एक बेरोजगार व्यक्ति छन् । केही समयपछि उनले विज्ञापनहरू टाँस्ने काम पाउँछन्  ।  तर त्यो काम गर्न उनलाई एउटा साइकल अनिवार्य हुन्छ । आर्थिक अभावका कारण उनले नयाँ साइकल किन्न सक्दैनन् । यद्यपि उनकी पत्नी मारिया (लियानेला क्यारेल)ले घरका महत्वपूर्ण कपडाहरू धितो राखेर साइकल जुटाइदिन्छिन् ।

एन्टोनियोको जीवनमा त्यो खुसीको क्षण छोटो समयका लागि मात्र रहन्छ । कामको पहिलो दिनमा नै उनको साइकल चोरी हुन्छ । उनका लागि सो साइकल यातायातको साधन मात्र नभएर परिवारको एकमात्र आशा र जीविकोपार्जनको आधार थियो ।

साइकल चोरी भएपछि एन्टोनियो र उनका सानो छोरा ब्रुनो रोमका सडकहरूमा दिनभर साइकल खोज्न निस्कन्छन् । त्यसबीच के-के हुन्छ भन्ने कुरा देखाउँदै चलचित्रको कथा अघि बढ्छ ।

यस चलचित्रका धेरै जसो कलाकार व्यावसायिक थिएनन् । यसले पनि फिल्मलाई अझै यथार्थ बनाएको छ । खासमा यो फिल्म इटालियन नवयथार्थवादी (नियोरियालिज्म) शैलीको उत्कृष्ट उदाहरण हो ।

नवयथार्थवादी शैली दोस्रो विश्वयुद्धपछि इटालीमा विकसित भएको एक प्रकारको चलचित्र शैली हो । यसमा सामान्य मानिसहरूको जीवन, सामाजिक/आर्थिक सङ्घर्ष र यथार्थवादी कथावस्तुलाई देखाइने गरिन्छ।

यस चलचित्रमा युद्धपछिको इटालीको यथार्थ जीवनलाई सरल, सजीव र साँचो ढंगले प्रस्तुत गरिएको छ । यो फिल्म कुनै ठूलो बजेट, नाम चलेका कलाकार, बनावटी कथा भन्दा टाढा छ । अझ फिल्म स्टुडियो सेटमा नभई रोमका सडकहरू, खुला बजार र बस्तीहरूमा खिचिएको छ ।

यसमा गरिबी, बेरोजगारी, वर्ग भेद र समाजको कठोरता देखाइएको छ । फिल्ममा कुनै नाटकीयता, नायकवाद वा कल्पना छैन । यो नै यस चलचित्रको बलि‍यो पक्ष हो ।

यो फिल्म हेर्दा जति सरल र साधारण लाग्छ, त्यति नै मात्रामा यसको अर्थ र भाव गहिरो छ । दोस्रो विश्वयुद्धपछिको समय इटालीमा धेरै कठिन थियो । न पैसा थियो, न राम्रो उपकरण । ठूला फिल्म स्टुडियोहरू बन्द भइसकेका थिए ।

त्यस्तो अवस्थामा दे सिकाले जुन आँट र हिम्मत लिएर मानिसको पीडा, सङ्घर्ष र भावना देखाए, यही सच्चाइ र इमान्दारी नै अहिले यत्रो समय बित्दा पनि यो फिल्म हेर्नुको प्रमुख कारण बनेको छ ।

तर केही फिल्म समीक्षकहरूले यो चलचित्रलाई पूर्णरूपमा नवयथार्थवादी मान्दैनन् । यसको कारण भनेको चलचित्रको कथामा कतै न कतै नाटकीयता छ । संरचना रैखिक छ । केही ठाउँमा निर्देशकीय हस्तक्षेप छ ।

कहिलेकाहीँ चञ्चलता, कहिलेकाहीँ काव्यात्मक आत्म-चेतना छ । तर धेरै जना यो पूर्णतया उपदेशबिहीन चलचित्र भएकोमा भने सहमत जनाउँछन् । फिल्मले सबै कुरा देखाउँछ । तर ती केही पनि व्याख्या गर्नुपर्दैन ।

बाइसाइकल थिभ्स अहिलेका लागि एउटा पुरानो चलचित्र मात्र होइन, यो अहिलेको वर्तमान पनि हो । भोलिको भविष्य पनि हो । यसकारण देख्ने र महसुस गर्ने यस्तो फिल्म हेर्नु कुनै समयवर्वादी हुँदैन ।

लेखक
सापेक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?