
News Summary
Generated by OK AI. Editorially reviewed.- इरानको सरकारी मिडियाले रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख हुसेन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको जानकारी दिएको छ।
- सलामी सन् १९८० देखि सैनिक सेवामा थिए र इजरायलसँगको तनाव उत्कर्षमा पुगेको समयमा मृत्यु भए।
- बीबीसीले इरानी परमाणु वैज्ञानिकहरू र नतांज परमाणु केन्द्रमा पुनः विस्फोट भएको उल्लेख गरेको छ।
३० जेठ, काठमाडौं । इरान रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रमुख हुसेन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको इरानको सरकारी मिडियाले जानकारी दिएका छन् ।
उनी इजरायलको पछिल्लो हमलामा मृत्यु भएका केही शीर्ष अधिकारीहरूमध्ये एक हुन् ।
इरानी सरकारी टेलिभिजनले इजरायली हमलामा मृत्यु भएका दुई वरिष्ठ परमाणु वैज्ञानिकहरूका नाम समेत सार्वजनिक गरेको छ।
इरानी सरकारी सञ्चार माध्यमहरूलाई हवाला दिंदै बीबीसीले इरानको परमाणु ऊर्जा संगठनका पूर्वप्रमुख फिरेदून अब्बासी र तेहरानस्थित इस्लामिक स्वतन्त्र विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि मृत्यु भएको उल्लेख गरेको छ ।
सन् २०१० मा तेहरानमा फिरेदून अब्बासीमाथि हत्या प्रयास भएको थियो । यद्यपि उनी जोगिएका थिए ।
इजरायलले इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित स्थानहरू र अन्य सैनिक केन्द्रहरूमा लक्षित हमला गरेको जनाएको छ ।
इरानी सरकारी टेलिभिजनका अनुसार, नतांज परमाणु केन्द्रमा पुनः विस्फोट भएको छ। उक्त केन्द्र तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा अवस्थित छ।
को हुन् सलामी ?
बीबीसीले इस्लामिक रिभोल्युशनरी गार्ड्सका कमाण्डर होसेन सलामी इजरायली हमलामा ज्यान गुमाउने सम्भवतः सबैभन्दा उच्चपदस्थ इरानी नेता भनेको छ ।
सलामीले सन् १९८० मा इरान–इराक युद्ध सुरु हुँदा रिभोल्युशनरी गार्ड्समा प्रवेश गरेका थिए।
उनी सैनिक पदोन्नतिक्रममा अघि बढ्दै जाँदा अमेरिकासहित उसका सहयोगीहरूप्रति दिएको कडा अभिव्यक्तिका लागि परिचित हुँदै गए।
सन् २००० को दशकदेखि इरानको परमाणु र सैनिक कार्यक्रमहरूमा संलग्नता देखाएको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद् र अमेरिकाद्वारा उनीमाथि प्रतिबन्ध लगाइएको थियो।
सन् २०२४ मा इरानले इजरायलमाथि पहिलोपटक सिधा सैन्य हमला गर्दा उनी नै रिभोल्युशनरी गार्ड्सका प्रमुख थिए। उक्त हमलामा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरिएको थियो ।
भर्खरका दिनहरूमा इजरायलसँगको तनाव उत्कर्षमा पुगेपछि सलामीले बिहीबार “इरान जुनसुकै परिदृश्य, अवस्था र चुनौतीको लागि पूर्णरूपमा तयार रहेको’ अभिव्यक्ति दिएका थिए ।
‘शत्रुले इजरायली नाकाबन्दीमा परेका असहाय प्यालेस्टिनीहरूलाई जसरी लड्छ, त्यसैगरी इरानसँग पनि लड्न सकिन्छ भन्ने सोच राखेको छ,’ उनले भनेका थिए, ‘तर हामी युद्धको अनुभव भएका, परिक्षणमा परेका सैनिकहरू हौं।’
प्रतिक्रिया 4