
३० जेठ, काठमाडौं । ऋण दिँदा घुस, त्यो पनि बैंक सञ्चालक समितिकै अध्यक्षबाट ! झट्ट सुन्दा विश्वास नलाग्न सक्छ । तर मुलुककै पहिलो र सरकारीमध्येको एक, नेपाल बैंक लिमिटेडमा यस्तै भएको छ ।
हाल पदमुक्त भइसकेका बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई ऋणीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लागेको छ । तीनवटा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले उनीमाथि तीनवटा घटनामा ७४ लाख रुपैयाँ घुस खाएको अभियोग लगाएको छ ।
तनहुँमा पेट्रोल पम्प चलाउने अकलादेवी ट्रेडर्स भन्ने कम्पनी छ । आफ्नो व्यापार विस्तारका लागि उसले नेपाल बैंक लिमिटेडबाट २५ करोड रुपैयाँ ऋण लिन खोजेको थियो । त्यसको सुइँको पाएपछि नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले ऋणका लागि निवेदन दिने आवेदकहरूलाई भेटेर घुस मागेको अख्तियारको आरोप छ ।
कुल स्वीकृत ऋणको २ प्रतिशत रकम आफूलाई दिनुपर्ने र २५ करोड ऋण स्वीकृत गर्दा ५० लाख रुपैयाँ आवश्यक पर्ने भनी उनले सेवाग्राहीसँग घुस मागेका थिए । उनकी पत्नी मधुमाया अधिकारीको खातामा सुरुमा ५ लाख, त्यसपछि चेकमार्फत १५ लाख र ३० लाख रुपैयाँ ‘डिपोजिट’ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
सुरुमै घुस लिएका उनले पछि ऋण दिन ढिला गरे । त्यसपछि घुस लिएर पनि काम नगरेको आरोपमा अविनाश श्रेष्ठको नामबाट नेपाल राष्ट्र बैंकमा उजुरी पर्यो । उजुरीपछि अधिकारीले मिलापत्र गर्नुका साथै पत्नी मधुमायाको खाताबाट अविनाशको खातामा ५० लाख रुपैयाँ फिर्ता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले आफ्नो र पत्नीको खातामा घुस माग्ने क्रममा प्रायः आफ्ना ड्राइभर उमेश महर्जनमार्फत कारोबार गरेको भेटिएको छ । हुन पनि ड्राइभरसँगको १४ पटकको कारोबारबाट उनले २५ लाख ५७ हजार रुपैयाँ लिएका थिए । त्यस क्रममा उनीहरूले बारम्बार नगद, मोबाइल बैंकिङ र चेकमार्फत कारोबार गरेको खुलेको छ ।
११ भदौ २०८० मा नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका अधिकारी डा. चन्द्रबहादुर अधिकारीले घुस माग्न थालेको उजुरीपछि नेपाल राष्ट्र बैंकले नै छानबिन गरेको थियो । त्यही छानबिन प्रतिवेदनका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
घुस खाएको आरोप लागेपछि तत्कालीन अध्यक्ष अधिकारीले ड्राइभर उमेश महर्जनसँग आफ्नो व्यक्तिगत लेनदेन हुने गरेको र त्यस क्रममा कारोबार भेटिएको बताए । चितवनमा मधु एकीकृत कृषि फार्म खोलेकी आफ्नी पत्नीले पनि त्यस क्रममा ड्राइभरसँग कारोबार गर्ने भनी उनले बयान गरेका थिए, जसलाई अख्तियारले अपत्यारिलो भनेको छ ।
उनले नेपाल राष्ट्र बैंकमा दर्ता भएको उजुरीलाई पनि कन्सल्टेन्सी खरिदका क्रममा अविनाश श्रेष्ठसँग भएको विवादको कारण भन्दै अहिले त्यो मिलिसकेको जिकिर गरेका छन् । एउटा मुद्दामा अख्तियारले रमेश आचार्य भन्ने व्यक्तिलाई पनि मुद्दा चलाएको छ, जुन घटनामा अधिकारीले आफूले कन्सल्टेन्सी बेच्नका लागि चेक लिएको बयान गरेका छन् ।
नेपाल राष्ट्र बैंकको छानबिनले घुस दिँदा पनि ऋण नपाएपछि उजुरीकर्ता रुष्ट भएको निष्कर्ष निकाल्दै नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई ५ लाख रुपैयाँ जरिवाना गर्यो । अनि ५ वर्षसम्म बैंक तथा वित्तीय संस्थामा जिम्मेवारी नपाउने गरी कारबाही गर्ने निर्णय लिएको थियो ।
सूचना–प्रविधि क्षेत्रका विवादास्पद सुनिल–विपल पौडेलले सिंगापुरमा घुस लुकाएको भनी अख्तियारले गरेको दाबी बाहेक मुलुकभित्र घुसको कारोबार नै ट्र्याकिङ गरेको यो ठूला केही घटनामध्येको एक हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु हरिवंश कार्की, उनकी श्रीमती लक्ष्मी लम्साल कार्की लगायतहरू ७२ लाख रुपैयाँसहित पक्राउ परेका थिए । २२ कात्तिक २०७१ मा बरामद भएको त्यो रकमलाई अख्तियारले घुस भनी दाबी गरेको थियो । । जुन मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।
यी दुई बाहेक अख्तियारकै आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस खाएको आरोपलाई विशेष अदालतले आंशिक अनुमोदन गरेको छ, जुन मुद्दा सर्वोच्चमा विचारीधिन छ । त्यो घटनामा ७८ लाख रुपैयाँ बरामद भएको नभई आयुक्त पाठकले रकम लिएको स्वीकार गरी फिर्ता गर्छु भनेर गरेको प्रतिवद्धता लुकाएर खिचिएको भिडियोमा रेकर्ड भएको थियो ।
घुस लेनदेनको यो घटनाले केही नयाँ प्रवृत्ति सतहमा ल्याएको छ । प्रत्यक्षतः कुनै पनि बैंकका सञ्चालक समितिका अध्यक्षले ऋण प्रवाह जस्ता कार्यकारी निर्णय गर्ने अधिकार राख्दैनन् । त्यस्तो अवस्थामा समेत अध्यक्षले गरेको सौदाबाजी र मोलमोलाइले सरकारी बैंकबाट ऋण लिन सेवाग्राहीले खेप्नुपर्ने सास्ती र हैरानी सतहमा ल्याएको हो ।
सस्तो र स्थिर व्याजदर, सहज रूपमा किस्ता तिर्ने सुविधा लगायतका सहुलियतले सरकारी बैंकहरूको ऋणमा व्यवसायीहरूको आकर्षण छ, तर उनीहरूबाट ऋण लिने क्रममा सेवाग्राहीले बेहोर्नुपर्ने झन्झट भने चर्को छ ।
अख्तियारले गत माघमा नै अधिकारीको घरमा छापा मारेर चेकहरू, बैंक खाताका स्टेटमेन्ट र लेनदेनको टिपोट समेत भएका डायरीहरू बरामद गरेको थियो । त्यहीबाट प्राप्त ‘क्लू’ पछ्याउँदै जाँदा अनुसन्धान अधिकारीहरूले अरु महत्वपूर्ण विवरण फेला परेको जिकिर गरेका छन् ।
दुई साताअघि मात्रै अख्तियारले दुईजना अनुसन्धान अधिकृत तोकेर उनीमाथिको छानबिनलाई तिव्रता दिएको थियो । त्यस क्रममा उसले ऋणीहरूबाट व्यक्तिगत रूपमा आर्थिक लाभ लिएको र आचरण विपरीतका काम गरेको भनी राष्ट्रबैंकले नै प्रतिवेदन तयार पारेको खुलेको हो ।
अख्तियारले उनीमाथि अनुसन्धान गर्ने क्रममा अरु व्यक्तिहरूबाट पनि घुस लिएको भेटायो । भैरहवामा एक हस्पिटालिटी कम्पनीलाई ऋण दिने क्रममा अधिकारीले ‘श्रीमती बिरामी भएकाले उपचार गर्नुपर्ने’ भन्दै सापटी मागेको खुल्यो । अख्तियार स्रोतले भन्यो, ‘मानवीय पक्ष देखाए सापटी भनिए पनि त्यो फिर्ता गर्ने रकम थिएन । ऋण मिलाइदिए वापतको लाभ नै थियो ।’
अख्तियारको अनुसन्धानले त्यो डिलमा मात्रै नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले १२ र ७ लाख गरी १९ लाख रुपैयाँ खाएको खुल्यो । अरु व्यक्तिको खातामा पैसा हाल्न लगाएका उनले एकपछि अर्को तह गर्दै अन्ततः लक्की खानको खातामा रकम ट्रान्सफर गर्ने र उनीबाट आफूले नगद लिने गरेको खुलेको छ ।
तेस्रो मुद्दा हिमाल–तराई कन्स्ट्रक्सनसँग सम्बन्धित हो । उसले बैंकमा ऋण लिन निवेदन पेस गरेकोमा चन्द्रबहादुरले एक प्रतिशतका दरले हुने ५ लाख रुपैयाँ घुस लिएको खुलेको छ । छानबिनका क्रममा लोनको फाइल हेरी उनले मात्रै १ देखि ३ प्रतिशत लोन माग्ने गरेको खुलेको हो ।
मुद्दा जाने अवस्था भएपछि अख्तियारले उनलाई बोलाएर बयान लिएको थियो । उनले ‘केही समयदेखि रिक्त भएको नेपाल राष्ट्र बैंकको गभर्नरका लागि म सशक्त उम्मेद्वार हुँ’ भनी प्रतिक्रिया दिए ।
‘उक्त पदका लागि मेरो जक्तिको क्षमता कमै व्यक्तिमा थियो, यसैको डाह गरेर मलाई जसरी पनि असफल बनाउन झुटो आरोप लगाई फसाउने उद्देश्यले उजुरी दिएका हुन्,’ उनले भने ।
प्रतिक्रिया 4