
News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख देवराज घिमिरेले निर्वाचन र शासन प्रणालीका दोषहरूबारे बहस आवश्यक भएको बताए।
- उहाँले निष्पक्ष, पारदर्शी र सहभागी निर्वाचन प्रणाली आवश्यक रहेको उल्लेख गर्नुभयो।
- डाः चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गरियो।
३१ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका दोषहरूका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।
शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामुलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरू गर्ने विधि के हुनसक्छ ? भन्ने विषयमा छलफल चलाउन जरुरी रहेको उनले बताए ।
‘बहुमतीय प्रणालीमा जान सजिलो छ किनभने यसमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यसैले पूर्ण समानुपातिकमा जानुपर्छ वा एकल तरिकाहरूमा जानुपर्छ भन्ने जस्ता धेरै बहसहरु चलिरहँदाखेरी हाम्रो छलफल खासगरी निर्वाचन पद्धति र हाम्रा प्रणालीहरुको बारेमा बढी विवेचना हुनुपर्छ,’ सभामुख घिमिरेले भने ।
निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी रहेको उनको भनाइ थियो ।
‘नेपालको सन्दर्भमा हामीले समावेशी बनाउने एउटा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ । दुई वटा आवधिक निर्वाचन गरेर त्यसको परिणाम भोगिरहेका छाँै,’ सभामुख घिमिरेले भने, ‘निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामुलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरु गर्ने विधि के हुनसक्छ ? यो नै आजको छलफलको विषय हो ।’
के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे बहस आवश्यक रहेको सभामुख घिमिरेले बताए ।
‘अब हामी के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ । जनमुखी बनाउनसक्छौँ ? यो शासन प्रणालीमा आएका समस्या हुन् की निर्वाचन प्रणालीका दोषहरु हुन्,’ सभामुख घिमिरेले भने, ‘निर्वाचन प्रणालीका दोषहरू हुन् की निर्वाचन आचारसंहितासँग गाँसिएका कुराहरू हुन् ? यसलाई प्रयोग गर्ने राजनीतिक दलहरूको भूमिकाको समस्या हो की ?’
प्रतिक्रिया 4