
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतको न्यायपालिका अधिकृत समाजले गैरकानूनी रुपमा नयाँ कार्यसमिति चयन भएको भन्दै असन्तुष्टि जनाएको छ।
- उनीहरूले अवैधानिक रुपमा गठन भएको नयाँ कार्यसमितिलाई मान्यता नदिन र पुनः निर्वाचन गर्न माग गरेका छन्।
- अदालतमा काम गर्ने कर्मचारीहरूले २०६५ सालमा गठन भएको संस्थालाई पुनर्गठन प्रयास भइरहेको समयमा नयाँ कार्यसमिति चयन भएको थियो।
३ असार, काठमाडौं । सर्वोच्च अदालतमा हालै पुनर्गठन भएको न्यायपालिका अधिकृत समाज विवादमा परेको छ ।
गैरकानूनी रुपमा समाजको नयाँ कार्यसमिति चयन भएको भन्दै असन्तुष्ट समूहले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका हुन् ।
उनीहरुले अवैधानिक रुपमा नयाँ कार्यसमिति गठन भएको भन्दै त्यसलाई मान्यता नदिन, संस्था नवीकरण नगर्न र वैधानिक रुपमा फेरि निर्वाचन गराउन आदेश दिनुपर्ने माग गरेका छन् ।
उजुरी दिनेमा समाजको अध्यक्षमा उम्मेद्वारी दिने शाखा अधिकृत हरि भट्टराई र अर्का शाखा अधिकृत सुकराम मोक्तान छन् । उनीहरुले नयाँ कार्यसमितिका साथै निर्वाचन मण्डलका संयोजक तोकिएका सर्वोच्च अदालतका सहसचिव मानबहादुर कार्कीलाई पनि विपक्षी बनाएका छन् ।
अदालतमा काम गर्ने शाखा अधिकृत वा त्योभन्दा माथिल्लो तहका कर्मचारीहरु सदस्य रहन पाउने गरी कात्तिक, २०६५ सालमा न्यायपालिका अधिकृत समाज गठन भएको थियो ।
लामो समय निष्कृय रहेको उक्त संस्थालाई गत वर्षदेखि पुनर्गठन गर्ने प्रयास भएको थियो । त्यसक्रममा १७, जेठ, २०८२ मा पाँचौ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको थियो ।
कार्यसमितिमा विभिन्न उम्मेद्वारहरुले मनोनयन गरेको अवस्थामा निर्वाचन हुनुपर्नेमा सीमित २/४ जनाले निर्णय गरी सामूहिक छलफलबाट पदाधिकारीहरु चयन गरिएको भन्दै उजुरी दिनेहरुले विरोध गरेका हुन् ।
बहुमत सदस्यहरुले सर्वसम्मत चुनेका व्यक्तिलाई अध्यक्ष बनाउनुको साटो सहमतीका आधारमा भन्दै जबर्जस्ती कार्यसमिति चयन भएको भन्दै उनीहरुले फेरि निर्वाचन प्रक्रियाको माग गरेका हुन् ।
१८ जेठमा सर्वोच्च अदालतका सहरजिष्ट्रार अच्यूत कुइकेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको भन्दै न्यायपालिका अधिकृत समाजले विज्ञप्ति सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया 4