
News Summary
Generated by OK AI. Editorially reviewed.- इरानमाथि इजरायलको आक्रमणपछि होर्मुज स्ट्रेट बन्द हुन सक्ने चिन्ता व्यक्त भएको छ।
- स्रोतले बताए, यदि बन्द भयो भने विश्वभर ग्यास र तेल आपूर्ति प्रभावित हुने छ।
- अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उछाल आएको छ।}
३ असार, काठमाडौं । जुन १३ मा इरानमाथि इजरायलले आक्रमण गरेपछि होर्मुज स्ट्रेट बन्द हुन सक्ने चिन्ता व्यक्त भइरहेको छ । यदि यो जलमार्ग बन्द भएमा विश्वभर ग्यास र तेल आपूर्ति प्रभावित हुने जानकारहरु बताउँछन् ।
होर्मुज स्ट्रेट विश्वभर ग्यास र तेल आपूर्तिका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण छ । यो इरान र ओमानको सिमानामा पर्दछ । यसले फारसको खाडी र ओमानको खाडीलाई जोड्छ ।
यही बाटो हुँदै मध्यपूर्वका तेल भण्डार भएका देशहरूबाट एशिया, युरोप र उत्तर अमेरिका लगायत विश्वका अन्य भागसम्म तेल र ग्यास आपूर्ति हुन्छ । त्यसैले यो क्षेत्र दशकौंदेखि भू–राजनीतिक तनाव र बेलाबेला विवादको केन्द्रमा पनि रहँदै आएको छ ।
इजरायल र इरानबीच बढ्दो तनावका कारण तेल आपूर्ति प्रभावित हुने पूर्वानुमानले सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उछाल आएको छ । एशियाली बजारमा सोमबारको कारोबार सुरुवातसँगै ब्रेन्ट क्रुड तेल (कच्चा तेल)को मूल्य २.८ प्रतिशतले बढेर ७६.३७ डलर प्रतिब्यारेल पुगेको छ । अमेरिकी कच्चा तेलको मूल्य पनि झण्डै दुई डलर बढेर ७५.०१ डलर प्रति ब्यारेलमा पुगेको छ । यो उछाल शुक्रबार आएको ७ प्रतिशतको तीव्र वृद्धिपछि देखिएको हो ।
होर्मुज स्ट्रेट किन महत्त्वपूर्ण छ ?
फारसको खाडी र ओमानको खाडीको बीचमा रहेको होर्मुज स्ट्रेट, इरान र ओमानको समुद्री सिमानामा पर्छ । यो एक साँघुरो जलमार्ग हो जुन कतिपय स्थानमा केवल ३३ किलोमिटर मात्र चौडा छ ।
विश्वको कुल तेल आपूर्तिको करिब पाँचौं हिस्सा यही मार्ग भएर जाने भएकाले यसको महत्त्व बढी छ ।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र इरानबाट निर्यात हुने कच्चा तेल यही बाटो हुँदै अन्य देशहरूमा पुग्दछ ।
त्यस्तै, विश्वको सबैभन्दा धेरै लिक्विफाइड नेचुरल ग्यास (एल.एन.जी.) निर्यात गर्ने देश कतार पनि यही मार्गमा निर्भर छ ।
सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्धका क्रममा दुवै देशले एक–अर्काको तेल आपूर्ति यसै मार्गमा रोक्न खोजेका थिए ।
त्यस संघर्षमा व्यावसायिक ट्यांकरहरूमा आक्रमण भएका थिए, जसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको थियो । यस संघर्षलाई ‘ट्यांकर युद्ध’ को नामले चिनिन्छ ।
होर्मुज स्ट्रेट बन्द भए के हुन्छ ?
इजरायलसँगको तनावबीच इरानले होर्मुज स्ट्रेट बन्द गर्यो भने विश्वव्यापी तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा प्रभावित हुने अनुमान गरिन्छ ।
जुन महिनामा वैश्विक वित्तीय संस्था जेपी मोर्गनले यदि यस्तो स्थिति आएमा कच्चा तेलको मूल्य १२० देखि १३० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने चेतावनी दिएको थियो ।
बीबीसी टर्कीसँगको कुराकानीमा प्रोफेसर डाक्टर अक्ट लेंगरले केवल होर्मुज स्ट्रेट बन्द हुनसक्ने आशंकाले नै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा असर देखिएको बताएका छन् ।
उनका अनुसार, बजारले यस खतरा पहिल्यैबाट ध्यानमा राखेर प्रतिक्रिया जनाइरहेका छन् । यदि होर्मुज स्ट्रेट बन्द भयो भने तेल आपूर्ति अवरुद्ध हुने र मूल्य बढ्ने निश्चित छ ।
यद्यपि, इजरायली हमलापछि इरानले तेल आपूर्तिमा कुनै असर नपरेको स्पष्ट पारेको छ । तेल मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ– हमलामा तेल भण्डारण केन्द्र वा रिफाइनरीहरूलाई लक्ष्य बनाइएको छैन ।
तर विश्लेषकहरू यदि इजरायल–इरान द्वन्द्व गहिरियो भने भविष्यमा यो आधारभूत संरचनामाथि आक्रमण हुन सक्ने सम्भावना रहेको बताउँछन् । आक्रमण भएमा विश्व ऊर्जा आपूर्तिमा गम्भीर झट्का पर्नसक्छ ।
पुराना विवाद
विगतमा होर्मुज स्ट्रेट इरान–अमेरिका बीचको विवाद र टकरावको केन्द्रमा रहेको थियो ।
सन् १९८८ मा एक अमेरिकी लडाकु विमानले इरानी यात्रुवाहक विमान खसाल्दा २९० जनाको मृत्यु भएको थियो । अमेरिकाले यो एक ‘सैन्य गल्ती’ भएको दाबी गरेको थियो । उसका नौसैनिक टोलीले उक्त विमानलाई लडाकु विमान ठानेर खसालेको भन्दै गल्ती भएको स्वीकार गरेको थियो । तर इरानले भने यसलाई ‘पूर्वनियोजित हमला’ करार दिएको थियो ।
अमेरिकाले आफ्ना युद्धपोतहरू यस क्षेत्रमा व्यापारिक जहाजहरूको सुरक्षाका लागि तैनाथ रहेको दाबी गर्दै आएको छ । तर अमेरिकाको यो तैनाथीप्रति इरान चनाखो छ । इरानी रिभोल्युशनरी गाड्र्सका तत्कालीन प्रमुख मोहम्मद अलजाफरीले यदि उनका डुंगाहरूमा अमेरिकाले आक्रमणको कोसिस गरेमा अमेरिकी जहाजहरू कब्जा गर्ने चेतावनी दिएका थिए ।
सन् २०१० मा यस स्ट्रेटमा एक जापानी तेल ट्यांकरमाथि आक्रमण भएको थियो, जसको जिम्मा अल–कायदा सम्बद्ध समूहले लिएको थियो ।
सन् २०१२ मा अमेरिका र युरोपले इरानमाथि आर्थिक प्रतिबन्ध लगाएपछि तेहरानले होर्मुज स्ट्रेट बन्द गर्ने धम्की दिएको थियो । इरानले ती प्रतिबन्धहरू उसलाई तेल निर्यातबाट प्राप्त हुने वैदेशिक मुद्राबाट वञ्चित गर्ने षड्यन्त्र भएको टिप्पणी गरेको थियो ।
सन् २०१८ मा अमेरिकाले इरानी तेल निर्यातलाई ‘शून्य’ बनाउने नीति अपनाएको थियो । लगत्तै इरानी राष्ट्रपति हसन रूहानीले यसबाट इरानलाई तेल आपूर्तिमा असर पर्न सक्ने चेतावनी दिएका थिए ।
इरानी रिभोल्युसनरी गाड्र्सका एक कमाण्डरले पनि यदि इरानी तेल निर्यात रोकिने हो भने होर्मुज स्ट्रेटबाट हुने तेल ढुवानी बन्द गर्ने चेतावनी दिएका थिए ।
-बीबीसीबाट
प्रतिक्रिया 4