+
+
Shares

श्रीनारायणको प्रश्न- प्रधानन्यायाधीशज्यू, पिन्टुको हत्यारा जोगाउनेलाई कहिले कारबाही हुन्छ ?

उच्च अदालत, वीरगञ्जले अस्वाभाविक रुपमा आफताब आलमलाई सफाइ दिएपछि ८४ वर्षीय वृद्ध बाबुको प्रश्न छ, ‘गलत फैसला गर्ने न्यायाधीशमाथि कारबाही गर्ने प्रधानन्यायाधीशले उनीहरूमाथि चाहिँ कहिले कारबाही गर्छन् ?’

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८२ असार ३ गते २१:४२

३ असार, काठमाडौं । पिन्टु, कति प्रिय नाम थियो । श्रीनारायणसिंह राजपुत दम्पतीले कान्छो छोराको नाम त्रिलोकप्रताप नाम राखेपनि मायाले पिन्टु भनी बोलाउँथे । राजनीतिशास्त्रमा स्नातक पढ्दै थिए, बाबुआमाको ख्याल गर्थे, अह्राएको मान्थे । १८ वर्षअघिदेखि ऊ साथमा छैन भन्दा ८४ वर्षीय वयोवृद्ध झसंग हुन्छन् ।

‘पुत्रशोकभन्दा अर्को चोट के हुन्छ ?,’ मंगलबार बिहान श्रीनारायण अचानक भक्कानिए, ‘त्यही शोकले श्रीमती गइन् । मेरो यो हालत छ ।’

०००

श्रीनारायण आफैं पनि राजनीतिक रुपमा सचेत व्यक्ति थिए, २०१५ सालमै म्याट्रिक पास गरेका उनी सुझबुझ भएका कांग्रेस कार्यकर्ता थिए । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा चुनावी चहलपहल गर्माएको थियो ।

कांग्रेस उम्मेद्‌वार मोहम्मद आफताब आलमले २२ वर्षीय त्रिलोकप्रताप (पिन्टु) लाई डाके । राजनीतिक रुपमा सचेत, प्रभावकारी भाषण गर्नसक्ने भएकाले आलमले पिन्टुलाई निर्वाचन प्रसारप्रसारमा लिएर हिँडेका थिए । संविधानसभा निर्वाचनको अघिल्लो साँझ आलमको घरमा कार्यकर्ताहरूको जमघट थियो ।

त्यही अपरान्ह आलमको घरमा अचानक विस्फोट भयो ।

खासमा प्रतिस्पर्धी उम्मेद्वार र मतदाता तर्साउन आलमले केही व्यक्तिहरूलाई बम बनाउन लगाएका थिए । घरेलु बम भण्डारण भइरहेको थियो, त्यसैक्रममा भएको विस्फोटमा केही मारिए, केही घाइते भए । मारिनेहरूको लाश इटाभट्टामा हालेर पोलियो, घाइतेहरूलाई पनि ज्यँदै इटाभट्टामा हालियो ।

विस्फोटको खबर तत्काल गाँउभर फैलियो, भोलिपल्ट छिमेकीहरूले उनलाई भने, ‘तपाईंको छोरा पनि त्यसमा परेको छ ।’

थाहा पाएपछि श्रीनारायण हतारिँदै आलमको घरमा पुगे । आलमले भने, ‘तपाईंको छोरा कलेज छ भनेर हतार हतार बेलुकी नै गइसक्यो ।’

श्रीनारायणसिंह राजपुत (पिन्टुका बुवा)

एउटै पार्टीको मान्छे, त्यति भनेपछि कसरी नपत्याउनु ? छोरा खोज्दै सितमढी गए, तर सोधखोज गर्दा छोरा कहिँ भेटिएनन् । छिमेकीहरूले पनि ‘छोरा विस्फोटमै परेको हो’ भनेर बताइदिए । त्यसपछि उनलाई यकिन भयो, ‘छोरा ज्युँदो छैन ।’

त्यसपछि श्रीनारायण न्यायको संघर्षमा छन् । सुरुमा प्रहरीमा जाहेरी दिए, जाहेरी दर्ता भएन । आलमविरुद्ध उजुरी दिन अनेक गरे, प्रयासमा सफल भएनन् । जसोतसो जाहेरी दर्ता भयो ।

प्रहरी, प्रशासन मिलेर मुद्दा नचल्ने निर्णय गरे । यसबीचमा उनलाई अनेक प्रलोभन आयो, आलम परिवारले धम्की दियो । त्यही घटनामा छोरा गुमाएकी रुक्साना खातुनमाथि गोली प्रहार गरी हत्या भयो । यो हदसम्मको आतंक हुँदा पनि श्रीनारायण धर्मराएनन् ।

न्यायका लागि लड्ने अठोट गरेका उनी सर्वोच्चसम्म पुगे । सर्वोच्चले फेरि अनुसन्धान गर्नू भन्ने आदेश दियो । त्यसपछि पनि पटकपटक अल्झाउने काम भयो । २०७६ साल आलम पक्राउ परेपछि मात्रै केही आशा बढ्यो ।

जिल्ला प्रहरी कार्यालयले, निकै मेहनतका साथ प्रमाण जुटायो । आलम पक्राउ परेपछि जिल्ला अदालतमा मुद्दा दायर भयो । सधै त्रासमा बाँचिरहेका श्रीनारायणले चैनको सास फेरे ।

त्यतिबेला नै न्यायालयमाथि राजनीतिक हस्तक्षेपको प्रयास नभएको होइन । कांग्रेस सभापति शेरबहादुर देउवाले पटकपटक आलमको बचाउमा राजनीतिक अभिव्यक्ति दिइरहे । मुद्दाको थुनछेक बहस चलिरहँदा नेताहरूले फोन समेत गरे, तर केही न्यायाधीशहरूले दबाब थेगे ।

श्रीनारायण जाहेरीकर्तामात्रै होइनन्, घटनास्थलका साक्षी समेत हुन् । भोलिपल्ट आलमको घर पुग्दाको अवस्था उनले भुलेका छैनन् । विस्फोटले घरका दिवाल (पर्खाल) हरू छियाछिया भएका थिए, छाना उडेको थियो ।

आलमलाई छाडिदिन दबाब दिने कांग्रेसका एक नेतालाई ती न्यायाधीशले भनिदिए, ‘म मुद्दामा दाँयाबाँया गर्दिनँ । दबाब नै दिनुहुन्छ भने यो मुद्दा अरु इजलासमा पठाइदिन्छु ।’ उच्च र सर्वोच्चले समेत आलमलाई थुन्न आदेश दियो । मुल मुद्दामा पछि जिल्ला अदालत रौटहटले आलम लगायतलाई जन्मकैदको फैसला सुनायो । १२ वर्षसम्म निराश बनेका श्रीनारायणलाई लाग्यो, ‘मुलुकमा धन्न कानुन रहेछ । ढिलै भएपनि न्याय पाएँ ।’

त्यो मुद्दा उच्च अदालत, वीरगञ्ज पुगेपछि भने अचानक अवस्था फेरियो । न्यायाधीश डा. खुसीप्रसाद थारुको इजलासमा पेशी नपर्दासम्म अनेक तरहले सुनुवाइ अघि बढेन, अनेक गरेर मुद्दा अल्मलियो ।

जुन दिन उनी सहितको इजलासमा मुद्दाको पालो पर्‍यो, ४–५ घण्टाको सुनुवाइमा फैसला भयो ।

मिलेमतोका कारण हुनसक्छ, सरकारी वकिलहरूको समूहले पनि बहसलाई अस्वभाविक रुपमा छिटोछरितो रुपमा टुंग्याए । फैसलाका संक्षिप्त रायमा जे जस्ता आधार उल्लेख भए, त्यसबाट उनी झनै विक्षिप्त छन् । विस्फोटको घटनै भएको होइन, कोही मारिएको पुष्टि भएन भन्ने जस्ता आधार देखाएपनि उनलाई लाग्यो, ‘मैले पाइसकेको न्याय फेरि मर्‍यो ।’

उच्च अदालतको वीरगञ्ज इजलासले फैसलाको पूर्णपाठ तयार गरिसकेको छैन । तर रायकिताबमा विस्फोटको घटना पुष्टि नभएको र इटाभट्टामा पोलिएको दावी पुष्टि नहुने आधार अघि सार्दै सबै आरोपितहरूलाई सफाइ दियो । न्यायाधीशहरूले अघि सारेका यी आधार सुनेर श्रीनारायण ‘यति सम्म हुँदोरहेछ’ भन्दै छक्क परेका छन् ।

हुन पनि श्रीनारायणलाई दुई कारणविना यस्तो ‘जघन्य’ फैसला हुनै नसक्ने लागेको छ । ‘उच्च अदालतको फैसला सुनेपछि मलाई लाग्यो, कानुन मरिसकेको छ,’ उनको आकलन छ भन्छन्, ‘कि त माथिको दबाबले हो, कि पैसाले ।’

यी बाहेकको अवस्थामा यतिविघ्न विचलन नहुनपर्ने उनको आकलन छ ।

घरमै बसिरहेका श्रीनारायणको मनले के मान्थ्यो ? उच्च अदालतको फैसलापछि उनको बेचैनी बढेको छ । मन ब्याकुल भइरहन्छ । कानले कम सुन्ने लगलगाउदो ८४ वर्षीय ज्यान काठमाडौं हिँड्न तम्सियो । एक शुभचिन्तकले भाडाको गाडी मगाएर उनलाई काठमाडौं झिकाए ।

श्रीनारायणले सोमबार छोराका हत्यारालाई ‘उन्मुक्ति’ दिने न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि कारबाहीको माग राखेर न्यायपरिषद्मा उजुरी दिएका छन् । उनले न्यायाधीशहरू थारु र महर्जनलाई तत्काल निलम्बनको माग त राखेका छन् नै, आर्थिक चलखेलको आचरणजन्य प्रश्न समेत गरेका छन् ।

श्रीनारायणलाई प्रधानन्यायाधीशसामु यत्ति भन्न मन लागेको छ, ‘उहाँहरू (उच्च अदालतका न्यायाधीशद्वय थारु र महर्जन)ले गल्ती गर्नुभयो । दुवैलाई कारबाही हुनुपर्छ ।’

उनी हिँड्न पाएका थिएनन्, गाँउभर ‘श्रीनारायण काठमाडौं गए’ भन्ने हल्ला फैलियो । आलम र उनका परिवारले आफ्नो चियोचर्चो गर्न केही व्यक्ति खटाएको भन्दै उनले आफू निरन्तर ‘सीआईडी’को घेराबन्दीमा रहेको सुनाए । उनी भन्छन्, ‘मेरो वरपर सीआईडी भइरहन्छ । यताउता गर्‍यो कि फोन गरिरहन्छन् । उनीहरूले कहिले मलाई के गरिदिन्छन्, थाह छैन । भगवान जानून् ।’

श्रीनारायण जाहेरीकर्तामात्रै होइनन्, घटनास्थलका साक्षी समेत हुन् । भोलिपल्ट आलमको घर पुग्दाको अवस्था उनले भुलेका छैनन् । विस्फोटले घरका दिवाल (पर्खाल) हरू छियाछिया भएका थिए, छाना उडेको थियो । घटनाबाट पीडित घाइतेहरू यही समाजमा छन्, छानविन प्रतिवेदनहरू विस्फोट भएको निष्कर्ष निकालेका छन् । ‘घटना नभएको भए मेरो छोरा ज्युँदै हुनुपर्ने । मेरो छोरा कहाँ छ ?’ उनी भन्छन्, ‘सरकारसँग सबै शक्ति छ, पत्ता लगाएर मेरो छोरा देखाइदिए भइहाल्यो ।’

मुद्दाको मिसिलमा रहेका प्रमाण र यथार्थसँग मेल नखाने फैसलामाथि चौतर्फी प्रश्न उठिरहेको छ । सार्वजनिक वृत्तमा न्यायिक कामकारबाहीमाथि तिखो टिकाटिप्पणी भएको छ । न्यायाधीशको कामकारबाही र आचरणमाथि निगरानी गर्ने न्यायपरिषद् बैठकमा आलम सफाई प्रकरणबारे छलफल भएको थियो ।

परिषद् बैठकमा यसवारेमा छलफल भए पनि कुनै निष्कर्ष निस्किएन । न्याय परिषदसम्वद्ध स्रोतका अनुसार, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र सदस्य रामप्रसाद भण्डारी यो मुद्दा फैसलासँग जोडिएका दुवै न्यायाधीशलाई परिषदमा झिकाएर छानबिन गर्नुपर्ने पक्षमा छन् ।

तर कानुनमन्त्री अजयकुमार चौरसिया र अर्का सदस्य दामोदर भण्डारी त्यसमा उतिसाह्रो सहज देखिएनन् । ‘न्यायपालिकाभित्रको जिम्मेवारी म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिने प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मौन छन् ।

बैठकमा छलफल हुँदा ‘थारु र महर्जनलाई तान्ने भए बम्जन प्रकरणमा सफाइ दिने ‘नरिश्वर भण्डारीलाई पनि तान्नुपर्ने होला’ भन्ने तहको प्रतिक्रिया समेत आएको स्रोत बताउँछ । त्यसपछि परिषद्मा आलम सफाई प्रकरण छलफलको एजेण्डा बनेन ।

तर श्रीनारायणको मनमा भने एउटा कुरा गढिरहेको छ । ‘घटना नभएको हो त मेरो छोरा कहाँ छ ? न्यायाधीशले देखाउन सक्छन् ?,’ उनलाई प्रधानन्यायाधीशसामु यत्ति भन्न मन लागेको छ, ‘उहाँहरू (उच्च अदालतका न्यायाधीशद्वय थारु र महर्जन)ले गल्ती गर्नुभयो । दुवैलाई कारबाही हुनुपर्छ ।’

यो १६ वर्ष छोराको हत्यामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन उनले केसम्म गरेनन् ? पटकपटक प्रहरी, प्रशासन अनि अड्डा अदालत धाए । कैयौंपटक चप्पलको भरमा काठमाडौं आए । यसरी धाँउदाको खर्चका लागि चार विगाहा जग्गा नै बेचे ।

गत पुसमा श्रीमती समेत गुमाएका उनी थप टुटेका छन् । उनको साथमा अहिले अर्का छोरा छन् । तर श्रीमती समेत गुमाएपछि एक्लिएको महसुस गरिरहन्छन् । निवेदनका पाना बोकेर अड्डाअदालत धाएका उनलाई न्याय पाउने बेलासम्म आफ्नो ज्यान तलमाथि भइहाल्ने हो कि भन्ने चिन्ता समेत छ ।

‘छोराको आत्माको शान्तिका लागि पनि केही त गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘हिँड्न पनि सक्दिन, बोल्न पनि सक्दिनँ । तर उसैको आत्माको शान्तिका लागि बाचुञ्जेल यति गरिरहेको छु ।’

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?