
५ असार, हुम्ला । सरकारले चीनसँग सीमा जोडिएका १५ जिल्लाका नागरिकले राहदानी बेगर नै सीमापार ओहोरदोहोर गर्न पाउने प्रावधान ल्याएपछि चीनको ताक्लाकोट प्रवेश गर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ ।
हुम्लाको हिल्सा नाकाबाट चीनको ताक्लाकोटका लागि सीमापास लिने नेपालीको संख्या ८ हजार नाघेको छ । गत २ महिनाको अवधिमा मात्र झन्डै २ हजार ७०० नेपालीले सीमापास लिएको हिल्सा प्रहरी चौकीको तथ्यांकमा भेटिन्छ ।
नेपाल-चीन द्विपक्षीय सम्झौताअनुसार दुवै देशका सीमावर्ती जिल्लाका नागरिकले ३० किलोमिटरसम्म बिना राहदानी जिल्ला प्रशासनको पत्रका आधारमा आउजाउ गर्न पाउने व्यवस्था छ ।
सरकारले ‘चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र उपलब्ध गराउनेसम्बन्धी कार्यविधि-२०८१’ जारी गरेको छ ।
कार्यविधिअनुसार सम्बन्धित जिल्लाको नागरिकता प्राप्त व्यक्ति, निजका नाबालक सन्तान, सम्बन्धित जिल्लाका नागरिकसँग विवाह सम्बन्ध भई स्थायी बसोबास गरेका र अन्य जिल्लाबाट बसाइँसराइ गरी सम्बन्धित जिल्लामा आएका व्यक्तिले चीन आउजाउ गर्न यो सुविधा पाउने छन् ।
तर, सीमावर्ती क्षेत्रमा मानिसको निगरानी, नियमन र सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा प्रशासन र सुरक्षा संयन्त्रको उपस्थिति कमजोर देखिएको छ । जसका कारण आपराधिक गतिविधि बढ्ने जोखिम छ ।
हुम्लाको सदरमुकाम सिमकोटबाट हिल्सा नाकासम्म पुग्न ९५ किलोमिटर कच्ची सडक पार गर्नुपर्छ । यो नाका हुम्लाको व्यापारिक केन्द्र पनि हो । सुरक्षा संयन्त्रको कमजोरी हुँदा विभिन्न किसिमका अवाञ्छित गतिविधि बढ्ने गरेको छ ।
पछिल्ला केही वर्षयता बाहिरी जिल्लाका नागरिकहरू पनि हिल्सा नाका हुँदै चीनको ताक्लाकोट पुग्ने गरेका छन् । बझाङ र दार्चुला जिल्लामा चीनसँग जोडिएको नाका चीनले कडाइ गरेपछि हुम्ला जिल्लाको हिल्सा नाकाबाट चीन प्रवेश गर्नको संख्या बढेको छ ।
८ हजार नेपालीले लिए सीमापास
स्थानीय प्रशासनको रेकर्डमा ८ हजार नेपालीले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट सीमापास लिएका छन् । छिमेकी चीनसम्मको सीमा जोडिएका बासिन्दाका लागि ३० किलोमिटर परसम्म जाने अनुमति भएपछि जिल्ला प्रशासन कार्यालयबाट चीनको ताक्लाकोटका लागि सीमापास लिनेको संख्या बढेको हो ।
हुम्लाको हिल्सा नाकाबाट २ महिनाको अवधिमा झन्डै २ हजार ७०० नेपाली चीनको ताक्लाकोट प्रवेश गरेका छन् । हिल्सा प्रहरी चौकीको तथ्यांकअनुसार गत वैशाखमा १ हजार ५१९ र जेठमा १ हजार १७९ जना गरी २ हजार ६९८ जना हिल्सा नाकाबाट चीनको ताक्लाकोट गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिए ।
कमजोर प्रशासन
प्रशासनले १ मंसिर २०८१ मा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा जनप्रतिनिधि, राजनीतिक दल र पत्रकारहरुको उपस्थितिमा नयाँ निर्णय गरेको छ ।
बाहिर जिल्लाका नागरिकको हकमा बसाइँसराइ गरेको ३ वर्षसम्म जिल्ला प्रशासन कार्यालयबाट सीमापास जारी नगर्ने निर्णयलाई उल्ट्याएर सीमापास तत्काल दिने निर्णय गरेको छ ।
निर्णयमा जग्गाधनी प्रमाणपुर्जा, नागरिकता प्रमाणपत्र र मतदाता परिचयपत्र लिएर आएमा एकै दिनमा सीमापास दिने गरिएको छ ।
रोजागारको नाममा बसाइँसराइ
हिमालबाट शहर बसाइँसराइ गर्ने प्रक्रिया चलिरहेका बेला शहरबाट हिमालतिर बसाइँसराइ गर्नेको संख्या समेत बढेको छ । रोजगारीका लागि ताक्लाकोट जाने बहानामा बसाइँसराइ गर्नेको संख्या बढेको हो ।
बझाङ, डोटी, दार्चुला, प्युठान, ओखलढुंगा, सिन्धुपालचोक, खोटाङ, सोलुखम्बु लगायतका जिल्लाबाट हुम्लाको नाम्खा गाउँपालिका- १ हेप्का खगालगाउँ, मुचु सिमकोट गाउँपालिका ठेहे, दोजाम स्याडा लगायतका स्थानमा जग्गा खरिद बसोबास गर्ने क्रम बढेको छ ।
हुम्लामा बसोबास गरी जिल्ला प्रशासन कार्यालयबाट सीमापास लिएर अधिकांश महिला तथा किशोरीहरू होटल तथा दोहोरी साँझमा रोजगारीका लागि चीनको ताक्लकोट जाने गरेको पाइन्छ ।
जिल्ला बाहिरबाट आएका २५ जनाले हुम्लाका गाउँघरका जग्गा खरिद गरेका छन् भने कतिपयले हुम्लामै विवाह दर्ता र नेपाली नागरिकता समेत लिएका छन् । मालपोत कार्यालय हुम्लाको तथ्यांकमा २५ जना जिल्ला बाहिरबाट आएर गाउँघरको जग्गा खरिद गरेको देखिन्छ ।
स्थानीय प्रशासनले सीमापास लिनका लागि जग्गाधनी प्रमणपत्र, नेपाली नागरिकता र मतदाता परिचयपत्र माग गरेपछि जिल्ला निर्वाचन कार्यालयमा जिल्लाा बाहिरबाट आएका व्यक्तिले हुम्लाबाटै मतदाता परिचयपत्र लिने गरेका छन् ।
सीमापास लिएर चीनको ताक्लाकोटमा एक/दुई वर्ष रोजागारी गर्ने र त्यसपछि यताको बसाइँसराई त्याग्ने प्रवृत्ति चढेको छ । जिल्ला निर्वाचन कार्यालयमा २५ जना जिल्ला बाहिरका महिलाले मतदाता परिचयपत्र हुम्लाबाट बनाएको तथ्यांक छ ।
प्रतिक्रिया 4