
५ असार, काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास ढाकाको सहकार्यमा बंगलादेशको चटगाउँमा ‘नेपाल–बंलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ ।
‘गन्तव्य नेपाल ः बंगालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहित आयोजित यस कार्यक्रम मार्फत नेपाल र बंगलादेशबीचको पर्यटन सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्य लिइएको थियो ।
बंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल–बंगलादेश सम्बन्धको आधारशिला भएको उल्लेख गरे ।
उनले दुई देशबीचको बढ्दो आपसी सम्बन्ध र सहकार्यमा सघन पर्यटन कूटनीतिको खाँचो औंल्याए । ‘हिमालयको शिखरसँग बंगालको गहिराइलाई साँच्चिकै जोड्न ठोस पहल आवश्यक छ,’ उनले भने ।
नेपाल सरकारद्वारा पर्यटन पूर्वाधार सुधारमा भइरहेका कार्यबारे जानकारी दिँदै उनले निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रिय भूमिकाको समेत उच्च मूल्यांकन गरिएको बताए ।
पर्यटन बोर्डका तर्फबाट पर्यटन प्रवद्र्धन विभागका कार्यवाहक निर्देशक रोहिणीप्रसाद खनालले नेपालका विविध र समृद्ध पर्यटन उत्पादन तथा गन्तव्यबारे प्रस्तुति दिए ।
उनले बंगलादेशलाई नेपालको प्रमुख स्रोत बजारमध्ये एकका रूपमा चिनाउँदै, नेपाली गन्तव्यमा बंगलादेशी पर्यटक आकर्षण बढिरहेको तथ्य प्रस्तुत गरे । उनले दुवै देशका ट्राभल एजेन्टबीच आपसी सहकार्यलाई थप मजबुत बनाउन आह्वान गरे ।
कार्यक्रममा सन् २०२४ मा सगरमाथा शिखर आरोहण गर्न सफल पर्वतारोही बाबर अलीले नेपाल भ्रमणका प्रेरणादायी अनुभव स्मरण गरे । अन्नपूर्ण हिमाल आरोहण गरेका उनले नेपालमा प्राप्त आतिथ्य, प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै पर्वतीय चुनौतीबारे जानकारी गराए ।
बंगलादेशका ट्राभल व्यवसायी संस्थाहरू एसोसिएसन अफ ट्राभल एजेन्ट्स अफ बंगलादेश (एटीएबी) तथा टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश (टीओएबी) चटगाउँ शाखाका अध्यक्षहरूले नेपालसँगको पर्यटन सहकार्यमा बढ्दो विश्वास, व्यापारिक साझेदारी र भविष्यका सम्भावना चर्चा गरे ।
कार्यक्रममा ‘राफल ड्र’ मार्फत बंगलादेशका सहभागीलाई नेपाल भ्रमण प्याकेज र ढाका–काठमाडौं आवागमनमा हवाई टिकट समेत प्रदान गरिएको छ । उक्त पुरस्कार नेपाली ट्राभल एजेन्सीहरू, हिमालय एयरलाइन्स र विमान बंगलादेश एयरलाइन्सको सहकार्यमा उपलब्ध गराइएको जनाइएको छ ।
यसैबीच नेपाल र बंगलादेशका ट्राभल एजेन्सी तथा टुर अपरेटरबीच बीटुबी बैठक र नेटवर्किङ सत्रहरू सम्पन्न भएका थिए ।
प्रतिक्रिया 4