+
+
Shares

सुर्खेतमा प्रादेशिक युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १३:५५

७ असार, सुर्खेत । राष्ट्रिय युवा परिषदद्वारा कर्णाली प्रदेशका युवाहरुलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्ने उद्देश्यले सुर्खेतमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन आयोजना गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सम्मेलनको उद्घाटन गरे ।

‘युवाका लागि अवको निकास : उद्यमशीलता, रोजगारी र सिप विकास’ भन्ने मूल नारा सहित सुरु भएको सम्मेलनमा मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेशमा कृषि , पर्यटन र उद्यमशीलताको प्रचुर सम्भावना रहेको बताए । कंडेलले विगत लामो समय केन्द्रीय राज्यसत्ताको कोपभाजनमा परेर पछि परेको कर्णालीले विस्तारै समृद्धिको ढोका खोल्ने प्रयास गरिरहेको बताए ।

मुख्यमन्त्री कंडेलले भने, ‘प्रदेश सरकारले आगामी आ.व.को बजेटमा उद्यशीलता र रोजगारी सृजनालाई उच्च प्राथमिकता दिएको छ ।’ कंडेलले संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गरिरहेका युवा लक्षित् कार्यक्रममा सक्रियतापुर्वक जोडिन युवाहरुलाई अपिल गरे ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले प्रदेशका युवालाई स्वरोजगार र आत्मनिर्भर वनाउन वजेटमा विशेष योजना ल्याइएको दाबी गरे । मन्त्री शाहले युवाहरूलाई देशभित्रै भविष्य देख्न सक्ने वातवरण निर्माण गर्न तिनै तहका सरकार लाग्नुपर्ने बताए ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सिमित स्रोतसाधनका बाबजुद प्रदेश सरकारले सञ्चालन गररहेका युवा केन्द्रित् कार्यक्रमवारे जानकारी दिए ।

भण्डारीले भने, ‘कर्णालीका सम्भावनालाई साकार पार्न युवा उद्यमशीलताको माहोल बनाउन जरुरी छ ।’

कर्णाली प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री एवम् लेखा समिति सभापति विन्दमान विष्टले कर्णालीको समृद्धिका लागि युवा उद्मशीलता र रोजगार सृजनामा जोड दिए । विष्टले प्रदेशको विशेषता अनुसारको उद्यममैत्री वातवरण निर्माण गर्न सबै दल एकठाउँ हुनुपर्ने धारणा राखे ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तिनै तहका सरकारवाट सञ्चालित युवा लक्षित् कार्यक्रमको प्रभावकारी र नतिजामुखी कार्यान्वयनमा जोड दिए । बस्नेतले उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप, सहुलियत कर्जा, वित्तीय पहुँच अभिबृद्धि लगायतका वहुआयामिक विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको बताए ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले प्रदेशको विशेषता र आवश्यकताको आधारमा कर्णालीको रणनीतिक विकास योजना बनाइने बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवा रोजगारी सृजनाका लागि सिपमुलक कार्यक्रममा जोड दिएको बताइन् । कर्णाली प्रदेशका युवा नेता भुपेन्द्रजंग शाहीले युवाका लागि तिनै तहका सरकारले ल्याएका योजना असफल भइरहेको बताए ।

सम्मेलनमा पढ्दै–कमाउँदै अभियानका अगुवा नारायण सिग्देल, उद्यमी भद्र भण्डारी लगायत विभिन्न क्षेत्रका सफल उद्यमी तथा अभियन्ताले आ–आफ्ना सङ्घर्ष र सफलताका अनुभव आदानप्रदान गरेका थिए ।

कर्णाली प्रदेशका विभिन्न जिल्लावाट अनलाइन फर्म मार्फत् छनौट भएका नवदित युवा उद्यमी तथा सहभागीले खुल्ला छलफलमा भाग लिएका थिए । राष्ट्रिय युवा परिषदले यसअघि कोशी प्रदेशको विराटनगर , मधेस प्रदेशको जनकपुर र गण्डकी प्रदेशको पोखरामा प्रदेश स्तरीय युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन आयोजना गरिसकिएको परिषद् सदस्य विनोद शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?