+
+
Shares

क्याफेहरूमा भावना र विचारको डबल सट

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असार ९ गते २२:२०
विष्णु पाण्डे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शनिबार भरिभराउ उजामा क्याफेमा विभिन्न व्यक्तिहरू भेटिन्छन् र उनीहरु पढ्ने लेख्ने काम गरिरहेका हुन्छन् ।
  • हाल नेपालमा कफीको व्यवसायिक र सामाजिक महत्व बढ्दै गएको छ।
  • कफी र क्याफे संस्कृति नेपाली समाजमा विचार र व्यवसायिक गतिविधिका लागि महत्त्वपूर्ण बन्न थालेको छ ।

९ असार, काठमाडौं । छेउमा सेलाइसकेको अमेरिकानो । हातमा अमिस राज मुल्मीको ‘अल रोड्स लिड नर्थ’ । सायद पुस्तकमा उल्लेखित चीन–नेपाल सम्बन्धको कुनै अंशले ‘उकुसमुकुस’ बनाउँछ, किताब छेउमा राखेर सकिनै लागेको अमेरिकानो घुटुक्क पार्छन्– विष्णु पाण्डे ।

नजिकैको अर्को टेबलमा बसेका हामीले पाण्डेको हाउभाउ ‘नोट’ गरिरहेका थियौँ । उनले आराम गरिरहेझैँ देखिएको त्यो समय नै उपयुक्त हुने ठानेर कुरा गर्न गयौँ । ‘डिस्टर्ब त गरेनौँ नि ?,’ प्रश्न भुईंमा नखस्दै जवाफ आयो, ‘यस्तो क्याफेको मज्जा नै यही हो । यहाँ बसिरहेको टेबल छुट्टै होला, भावना समान पाउँछु । कतिपय राम्रा साथी यहीँबाट बनेका पनि छन् ।’

शंखमुलको उजामा क्याफे शनिबार साझ ७ बजे पुग्दा पनि भरिभराउ थियो । त्यहीँ थिए– पाण्डे । हालै सम्पन्न अनेरास्ववियुको महाधिवेशनमा नीति, योजना तथा अनुसन्धान आयोगको सचिव जितेका उनी दिनभरको थकान मेट्न उजामा आएका रहेछन् । थकान मेट्ने साधन बनाएका थिए, अल रोड्स लिड नर्थ ।

संयोग के भने, पाण्डे गुल्मीका रहेछन् । र, कफी पारखी पनि । ‘क्याफे, भाइब्स, अमेरिकानो र किताब– यत्ति नहुँदो हो त दिन कसरी कट्थ्यो होला ? कटे पनि निरस हुन्थ्यो वा म अरु चिजमै ‘रस खोज्न’ थाल्थेँ होला,’ ठट्यौली शैलीमा उनले भने ।

हुन पनि कफी र गुल्मीको पुरानो सम्बन्ध छ । राष्ट्रिय कफी तथा चिया विकास बोर्डका अनुसार सन् १९३८ मा नेपालमै पहिलोपटक गुल्मी आइपुगेको थियो, कफी । तत्कालीन समयका एक तपस्वी हिरा गिरिले बर्मा (हालको म्यानमार) को सिन्दु प्रान्तबाट केही कफीको बिउ ल्याएर गुल्मीको आपचौरमा रोपेका थिए । तर, आमकौतुहलताकै विषय बन्यो त्यो । कफीले करिब चार दशकसम्म गुल्मीबाट फैलन पाएन ।

सन् १९८० को दशकमा आएर उक्त कफीले बल्ल अरु जिल्लाका माटो स्पर्श गर्न पायो । सन् १९८३–८४ मा रुपन्देहीको माणिग्राममा नेपाल कफी कम्पनी स्थापना भएपछि किसानले उत्पादन गर्न थाले । यद्यपि, सन् २००० सम्म यसले सोचेजस्तो व्यवसायिक रुप धारण गरेन ।

‘मैले गुल्मी छोडेर आएपनि कफीले छोडेन । आफ्नो जिल्लाको माटोमा पहिलोपटक टेकिएको कफी विभिन्न ब्रान्डका नाममा यस्ता क्याफेमा छ्यासछ्यास्ती पाइन थाल्यो । त्यसैले यसप्रति विशेष प्रेम पनि छ,’ पाण्डेले सुनाए ।

पठनमा पनि उनी प्राय: ननफिक्सन रुचाउँछन् । पढ्ने स्थान विभिन्न ठाउँका क्याफेलाई नै बनाउँछन् । अझ ‘क्याफे कल्चर’मा झुमिरहेका अधिकांश आफूसरहका युवा पुस्तासँग चिनजान र छलफल गर्न मज्जा मान्छन् । उनकाअनुसार क्याफेमा सधैँ रमाइला साथीहरु भेटिन्छन् । फरक रुचि भएका, फरक क्षेत्रका व्यक्तिहरु पनि आउँछन् । कतिपयसँग त त्यहीँ चिनजान हुन्छ । कोही पल्लो टेबलमा कुनै चाखलाग्दो किताब पढिरहेको छ भने त्यसकै प्रसंगमा टेकेर चिनजान गर्न झन् सहज हुन्छ । त्यसैले किताबबाटै राम्रो मित्रता गाँसिएका साथीहरु पनि छन् ।

पाण्डे थप्छन्, ‘क्याफे यत्तिकै आएर बस्ने, खानेमात्र भन्दा पनि यो एउटा भाइब्स हो । र, यहाँ आउने हरेक मान्छे सकारात्मक र ज्ञान सेयर गर्ने खालकै पाउँछु । झम्सिखेलतिरका क्याफेमा जाँदा पनि उस्तै माहोल पाउँछु ।’

बानेश्वर, झम्सिखेलतिरका क्याफेमा प्राय पाण्डेको रुचि देखिन्छ । त्यसमा पनि झम्सिखेलतिरका क्याफेमा आफू धेरै भेटिने उनले बताए । यसबाहेक पाण्डेसहितका केही साथीहरुले एउटा समूह पनि बनाएका छन् । जो सधैँ शनिबार कुनै क्याफेमा जमघट गर्छ र समसामयीक विषयमा चर्चा गर्छ । त्यसैले उनको लागि क्याफे बहस र विचार निर्माणको थलो पनि हो ।

*** ***

किबोर्डमा औँला कुदिरहेका छन् । कफि खाने, काममै केन्द्रित हुनेबाहेक दायाँबायाँ हेर्ने फुर्सद पनि छैन । पछि बुझ्दा थाहा भयो – कुनै गैरसरकारी संस्थाको लागि ‘फ्रिलेन्सिङ’ गर्दै रहेछन्, बानेश्वरका एसएसवी ढुंगेल ।

अमेरिकामा डोनाल्ड ट्रम्प आएसँगै उनको पूर्णकालीन सारथि नै क्याफे र कफी बनेको छ । नत्र समय मिल्दा मात्र यस्ता ठाउँमा भेटिन्थे । कारण, ट्रम्पको निर्णयले गैरसरकारी संस्थामा चलिरहेका अधिकांश काम बन्द भए । अमेरिकी सहयोग बन्द भयो । यसको प्रभाव ढुंगेललाई पनि पर्यो । ‘साढे दुई महिना भयो, ‘ट्रम्प पोलिसी’ लागुभएसँगै प्रोजेक्टहरु बन्द भए । त्यसैले अहिले बाहिरको ‘सर्ट–टर्म कन्सल्टिङ’को काम गरिरहेको छु । यसरी काम गर्दा यस्ता क्याफे नै सबैभन्दा उपयुक्त लाग्छ,’ उनले भने ।

यसअघि एसिया फाउन्डेसनमा रहेको स्थानीय सरकारसम्बन्धित गभर्नेन्सको काम गर्ने ढुंगेल अहिले ‘मेटेर्नल हेल्थ, चाइल्ड हेल्थ’ सम्बन्धित काममा फ्रिलेन्सिङ गरिरहेका छन् । प्राप्त सूचना र रिसर्चलाई विश्लेषण (एनालिसिस) गर्नु अहिलेको जिम्मेवारी हो । अध्ययन नै डेभलपमेन्ट स्टडिज् भएकाले यही क्षेत्रको काममा उनको रुचि देखिन्छ ।

एसएसवी ढुंगेल

उजामामै आउन थालेको करिब चार वर्ष भएको ढुंगेल बताउँछन् । साथीमार्फत यहाँ छिरेका उनलाई अहिले लत नै लागको छ । कारण, क्याफेको हकमा उनी अलि ‘चुज्जी’ रहेछन् । ‘माहोल फ्रेन्ड्ली होस्, ‘अर्डर–अर्डर’ भनेर कचकच नगरोस्, लाइब्रेरी सेटअप अनि वर्क कल्चर स्थापित भएको होस्,’ ढुंगेल क्याफेमा हुनुपर्ने गुण सुनाउँछन्, ‘यस्तो माहोल भयो भने हामी काम गर्ने, स्टार्टअप गर्ने, पढ्ने– सबैको लागि आकर्षण बन्नसक्छ ।’

‘क्याफे कल्चर’ त्यति नभित्रिँदासम्म ढुंगेल ‘वर्क अराउन्ड’ भन्ने ‘को–ओर्किङ स्पेस’मा जाने गर्थे । आइतबार र शनिबार छुट्टीको मौकामा त्यहीँ जान्थे, जसमा प्रतिघण्टा निश्चित रकम तिर्नुपर्ने हुन्थ्यो । तर, जब क्याफेहरु खुल्न थाले त्यसपछि उनको मन यता डोहोरियो । क्याफेमै लत बस्यो ।

ढुंगेलकाअनुसार पछिल्लो समय क्याफेमा क्रियटिभ मान्छेहरु आउँछन् । त्यस्तै कोही काम गर्न, कोही गेम खेल्न, कोही छलफल गर्न आउने गर्छन् । त्यसैले क्याफेको माहोल ‘मोनोटोनस’ नहुने उनको अनुभव छ । विशेषगरी बानेश्वर, झम्सिखेल, बालुवाटारतिरका क्याफे उनको रोजाइमा पर्छ । ‘जहाँ जान्छु, भर्खर करियर सुरु गरेकोदेखि हामीजस्ता ‘मिड–करियर’सम्मका पुस्ता नै क्याफेमा झुमिरहेको भेट्छु,’ उनले भने ।

‘रिसर्च गर्ने कम, कोर्स बुक पढ्ने धेरै’

काठमाडौंको टोखास्थित ‘रिडर्स हब’मा अध्ययन गरिरहेका भेटिए, बझाङका रोशन जागरी । उनी त्यहीँ नजिकैको साउथ वेस्टर्न कलेज र क्यान्भास कलेजमा पढाउँछन् । रिडर्स हबको भित्री कोठामा पढिरहेका जागरीलाई ‘क्याफे कल्चर’को प्रसंग कोट्याउँदा उनी चिन्तित सनिए– पढेको त देखिन्छ । तर, सबैजना बाहिरका पुस्तक/रिसर्च भन्दा पनि कोर्स बुक पढ्ने धेरै देख्छु ।

जागरी त्रिभुवन विश्वविद्यालयका लाइब्रेरीको प्रसंग कोट्याउँदै थप भन्छन्, ‘यहाँ के कुरा, त्रिविको लाइब्रेरीमा पनि लोकसेवा, कोरियन भाषाहरु तयारी गर्ने देखिन्छन् । रिसर्च सेक्सन खाली हुन्छन् ।’

रोशन जागरी

जागरी आफैँ भने सोसियल वर्क पढेका हुन् । उनी समाजसँग सम्बन्धित रिसर्चमै आफूलाई केन्द्रित गर्छन् । त्यसको लागि उपयुक्त थलो ठान्छन्, क्याफे । उनका लागि क्याफे भनेको ‘भाइब्स’ हो । त्यसैले त्यो माहोलमा पढ्न आफैँ किताब लिएर आउँछन् । नन–फिक्सन किताबमा बढी समय दिन्छन् ।

उमेरले ३० नाघेका जागरी आफ्नो विद्यार्थीकाल र अहिले आकाश–पातालको फरक रहेको बताउँछन् । बझाङबाट सुरुसुरुमा आउँदा चिया पसल नै उनीसहितका साथीहरुको गफ गर्ने थलो थियो । त्यसबेला सामान्य चिया पसलमा चियाचर्चा गर्थे । अहिले त्यही कुरा क्याफेमा सरेको छ । क्याफेहरु सुस्तरी विचार निर्माणको थलो पनि बनिरहेको उनको बुझाइ छ ।

‘अब क्याफेहरु सार्वजनिक थलो बनिसकेको छ । म पनि पढ्ने, कोही साथीसँग जमघट गर्न यस्तै स्पेसलाई रुचाउँछु,’ जागरीले आफूले पढिरहेको पुस्तक पब्लिक स्पेयरको प्रसंग कोट्याउँदै भने, ‘कुनै बेला फ्रान्समा वाक स्वतन्त्रता थिएन । त्यस्तोमा बोल्न, गफ गर्न सैलुनतिर जाने, चिया पसलमा जाने, क्याफेमा जाने चलन थियो, जुन क्रम अहिलेको सामान्य समयमा पनि कायम नै छ । त्यसैले विशेषगरी नयाँ पुस्ताको विचार निर्माण गर्ने हब बन्दै छ, क्याफे ।’

क्याफेबाटै फस्टाउँछन् स्टार्टअप !

लिलाराम खड्का

बानेश्वरकै उमोजा क्याफेका सञ्चालक लिलाराम खड्का पछिल्ला वर्षहरूमा सिर्जनशील युवाहरुको जमघटस्थल बन्दै गएको बताउँछन् । उनकाअनुसार कफी मगाउँदै ल्यापटप खोलेर बस्ने, स्टार्टअपको योजना बनाउने वा साना मिटिङ सञ्चालन गर्ने युवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । उमोजा अहिले केवल खानपिनको स्थल नभएर सोच्ने, लेख्ने र छलफल गर्ने स्पेसका रूपमा स्थापित हुँदैछ ।

‘यहाँ बैंकिङ, प्राइभेट अफिस, स्टार्टअप, आईटी क्षेत्र, पत्रकारिता लगायत क्षेत्रमा काम गर्ने युवा प्राय: देखिन्छन् । विशेषगरी फ्रिलेन्सिङ गर्ने युवाहरुको क्रेज क्याफेमा देखिन्छ,’ उनले भने ।

अचम्म त के भने, क्याफेमै बसेर स्टार्टअप योजना बनाउने अनि व्यवसाय चल्ने छाँट देखेपछि ‘अफिस सेट’ गरिएका प्रशस्त उदाहरण खड्कासँग छन् । उनकाअनुसार केही समयअघि क्याफेमा दुई–तीनजना युवाहरू दिनहुँजसो कफी खाँदै व्यवसायिक योजना बनाउँथे, त्यहीँ बसेर ‘डेमो’ पनि गरे । चल्छ भन्ने भएपछि उनीहरूले कम्पनी खोलेर आफ्नै अफिससमेत स्थापना गरे ।

यसरी क्याफेमा आउँने कसैले ‘मिटिङ गर्ने, आइडिया आदानप्रदान गर्ने, किताब पढ्ने, गीत–कविता सुन्ने सुनाउने’ गतिविधि धेरै हुने खड्काको अनुभव छ ।

‘फ्रिलेन्सिङ कल्चरसँगै फस्टायो क्याफे कल्चर’

शहरका क्याफेहरू अब चिया–कफी मात्रै पिउने ठाउँ रहेनन् । पछिल्ला केही वर्षमा ती ‘मिनी अफिस’झैँ भएका छन् । ल्यापटप खोलेर बसेका युवाहरू, ग्रुप मिटिङमा व्यस्त टोलीहरू, स्टार्टअपको योजना बनाउँदै गरेका फ्रिल्यान्सरहरूको उपस्थिति क्याफेमा दिन–प्रतिदिन बाक्लिंदै गएको छ । त्यसमा पनि फ्रिल्यान्सिङ गर्नेहरुको समूह धेरै आउने बताउँछन्, रिडर्स हबका सञ्चालक अनुप आचार्य ।

अनुप आचार्य ।

आचार्य भन्छन्, ‘मैले क्याफे खोलेको ५ वर्ष हुन लाग्यो, पछिल्लो दुई–तीन वर्ष यो एकदमै राम्रो भएको छ । विशेषगरी नेपालमा फ्रिल्यान्सिङ कल्चर बढेसँगै क्याफे कल्चर पनि फस्टाएको छ ।’

उनकाअनुसार जबदेखि युवाहरूले प्रोजेक्टमा आधारित काम गर्न थाले, अपवर्क–फाइभरजस्ता प्लेटफर्म प्रयोग गर्न थाले, तबदेखि उनीहरूले घरको सट्टा क्याफेलाई काम गर्ने विकल्प बनाएका छन् । घरमा बस्दा, कति घरमै मात्र बस्छ भन्ने अभिभावकको ‘गनगन’ छल्न अधिकांश क्याफे आउने गरेको आचार्यले सुनाए ।

कौशलटार, टोखा र सनसिटीमा रिडर्स हब सञ्चालन गरेका आचार्य आफूहरुले युवा उमेरमा चिया पसलमा गर्ने गफ अब क्याफेमा सरेको बताउँछन् । ‘हामी पहिला चिया पसलमा जम्थ्यौँ,’ विगत सम्झँदै उनले भने, ‘अब घरमा बस्दा बोर लाग्ने, साथीभाइसँग भेटघाट पनि गर्नुपर्ने अनि इन्टरनेटको आवश्यकता, यी सबैको समाधान बनेको छ क्याफे ।’

आचार्य थप्छन्– फ्रिल्यान्सिङ गर्नेहरु बढ्दा क्याफेलाई अफिसजस्तो बनाएका छन् । यो कल्चर काठमाडौंमा मात्र होइन, पोखरा, धरान, चितवनलगायतका सहरहरूमा पनि फैलिरहेको पाउँछु । विस्तारै काम गर्ने शैली परिवर्तन हुँदा क्याफेहरू ‘वर्क कल्चर’को पनि हिस्सा बन्न थालेका छन् ।’

*** ***

बबरमहलको हिमालयन जाभा पुग्दा भने अलि फरक उपस्थिति देख्न पाइयो । सबैतिर भर्खरका युवा हुँदा त्यहाँ भने ‘प्र्रोफेसनल’ व्यक्ति धेरै देखिन्थे । केही काम गरिरहेका वा आफ्नो क्षेत्रमा स्थापित भएकाहरु नै गफ गरिरहेका, काम गरिरहेका थिए ।

‘यहाँ सधैँ यस्तै हो ? कि, नयाँ पुस्ता जेनजी पनि आउनुहुन्छ ?,’ वेट्रेस भिष्मा राईसँग जिज्ञासा राख्दा उनले भनिन्, ‘यहाँ धेरैजसो अफिस स्टाफ र लअरहरु (वकिल) आउनुहुन्छ । भर्खरका ‘जेनजी युथ’ भन्दा आफ्नो काममा स्थापित भएकाको नै जमघट धेरै हुन्छ । काम/मिटिङका लागि आउने धेरै हुनुहुन्छ ।’

मोरङकी भिष्मा चार महिनादेखि उक्त क्याफेमा काम गरिरहेकी छिन् । यसअघि विराटनगरका रेष्टुरेन्टमा काम गरिसकेकी उनी काठ्माडौंमा भने केही भेद पाउँछिन् । उनका अनुसार दुई ठाउँमा काम गर्दा सबैभन्दा धेरै फरक खानाको प्रकारमा पाइन् । बिराटनगरमा भारतसँग सिमाना जोडिएकाले त्यहाँको प्रभाव धेरै परेको छ । भारतीय स्वादका खाना त्यहाँ पाइन्छ । काठमाडौंमा भने धेरै फरक अनुभूत गर्न पाएको उनले सुनाइन् ।

‘यहीँ क्याफेको कुरा गर्दा पनि बबरमहल क्षेत्रमा अदालत रहेकाले वकिल/अधिवक्ता धेरै आउने गर्नुभएको होला । पर्यटकहरु आउने हुनाले पनि विराटनगरभन्दा धेरै फरक छ,’ भिष्माले अनुभव सुनाइन्, ‘तर, क्याफे कल्चर त सबैतिर फस्टाइरहेको छ । यहाँ पनि हप्ताको ६ दिन नै भिडभाड हुन्छ । शनिबार केही राहत मिल्छ । विशेषगरी दिउँसो १२ बजे कटेपछि सधैँ भिड बढ्दै जान्छ । साँझमा झन् चाप बढ्छ ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?