+
+
Shares

कतारले खोल्यो हवाई मार्ग, जनजीवन सामान्य बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते ६:४७

१० असार, काठमाडौं । कतारले जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग खुला गरेको छ ।

इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी रुपमा बन्द गरेको थियो । त्यसबाट कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरु अलपत्र परेका थिए ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुहरु त्यहीँ सुतेका थिए । कतिपय जहाजलाई डाइभर्ट गरिएको थियो ।

तर अहिले कतारको अवस्था सामान्य बन्दै गएको र आकाश मार्ग मंगलबार मध्यरातबाट पुन: खोलिएको कतार सरकारका अधिकारीहरुलाई उद्धृत गर्दै दोहा टाइम्स अनलाइनले जनाएको छ ।

अमेरिकाले दुई दिनअघि इरानी आणविक केन्द्रमाथि गरेको आक्रमणको जवाफस्वरूप इरानले सोमबार साँझ स्थानीय समय अनुसार ७:३० बजे दोहास्थित अमेरिकी सैन्यबेसमा कम्तीमा ६ वटा मिसाइल प्रक्षेपण गरेको थियो ।

तीमध्ये एउटा सैन्य अड्डाभित्रै खसेको र अरु सबैलाई निस्तेज पारिएको कतारको रक्षा मन्त्रालयअन्तर्गत संयुक्त कार्य सञ्चालन विभागका उपप्रमुख शायेक अल–हजरीले बताएका छन् ।

तर त्यसबाट कुनै मानवीय क्षति नभएको कतारको गृह मन्त्रालयले जनाएको छ । कतारको गृह मन्त्रालयका प्रवक्ता जबर अल–नुआइमीका अनुसार मिसाइलका टुक्राले सानातिना आगलागी भए पनि त्यसलाई तुरुन्त नियन्त्रणमा लिइएको थियो ।

‘कतारमा शान्ति र स्थायित्व हाम्रो प्राथमिकता हो । बाह्य कारणले हाम्रो सुरक्षामा असर पार्न दिइने छैन,’ उनले दोहा टाइम्स अनलाइनसँग भनेका छन् ।

जनजीवन सामान्य

यसैबीच कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले कतारको जनजीवन पुन: सामान्य अवस्थामा फर्किंदै गएको बताएका छन् ।

‘हामी नागरिक र यहाँ बसोबास गर्ने सबैलाई विश्वस्त पार्न चाहन्छौं कि कतारमा स्थिति पूर्णरूपमा नियन्त्रणमा छ र मिसाइल आक्रमणपछिको अवस्था सामान्य फर्किंदैछ’ उनले कतार टेलिभिजनमार्फत भने ।

इरानी आक्रमणमाथि विश्वभरबाट निन्दा भइरहेको बेला कतारले पनि कडा आपत्ति जनाएको छ । कतारले उक्त आक्रमणलाई ‘सार्वभौमिकताको खुला उल्लंघन’ भनेको छ ।

कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता अल–अन्सारीले ‘कतारले अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफ दिने अधिकार सुरक्षित राख्दछ’ भन्दै चेतावनी पनि दएका छन् ।

कतारले हाल गाजाको युद्ध सुरु भएयता हमास र इजरायलबीच युद्धविराम र बन्दी आदानप्रदानका लागि मध्यस्थता गरिरहेको छ । यहीबेला कतारमाथि आक्रमण हुनुलाई आश्चर्य लागेको अल–अन्सारीले बताएका छन् । ‘यो आक्रमण हामीलाई आश्चर्यचकित बनाउने खालको थियो, विशेष गरी कतारको सधैंको छिमेकी मित्रता र मध्यस्थता प्रयासलाई ध्यानमा राख्दा,’ उनले भने ।

इजरायलले जुन १३ मा इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । यही बेला अमेरिकाले समेत इरानका तीन प्रमुख परमाणु केन्द्रमा आक्रमण गरेपछि तनाव चर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?