+
+
Shares

यो हो बिरालोलाई शान्त पार्ने संगीत

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको लुइजियाना स्टेट युनिभर्सिटीले गरेको अध्ययनले संगीतले बिरालोलाई शान्त पार्न सक्छ भन्ने पुष्टि गरेको छ।
  • अनुसन्धानले शास्त्रीय संगीतले बिरालोलाई बढी शान्त बनाउने देखाएको छ।
  • २० वटा बिरालोलाई तीनपटक पशु चिकित्सकको सामु ल्याएर तीन हप्ताको अन्तरालमा परीक्षण गरिएको थियो।

जब हामी कुनै गीत सुन्छौँ, कहिलेकाहीँ गीतको भाकाले हामीलाई शान्त बनाउँछ । तर यस्तो अनुभूति केवल मानिसमा मात्र हुन्छ भन्ने छैन । पछिल्लो समय विज्ञानले संगीतको माध्यमार्फत विभिन्न जीवजन्तुलाई फाइदा पुग्ने बताउँदै आइरहेको छ । त्यस्तोमा बिरालो पनि पर्छ ।

प्राय: बिरालो मालिकहरूसँग सहज तरिकाले बस्छ । तर जब कुनै नयाँ मान्छे अथवा पशु चिकित्सकअघि भने निकै चञ्चल हुन्छ । डराउँछ । तर यस्तो अवस्थामा उनीहरूका लागि संगीत औषधि बन्ने अध्ययनले देखाएको छ ।

संगीतको जादु बिरालोमा पनि ?

अमेरिकाको लुइजियाना स्टेट युनिभर्सिटी (एलएसयू) को अध्ययन अनुसार संगीतले बिरालोलाई शान्त रहन सहयोग गर्न सक्छ । अनुसन्धान अलिअघि (सन् २०१९) कै भए पनि बिरालाहरू संगीतप्रति संवेदनशील हुने पुष्टि भएको छ ।

अझ रोचक कुरा त उक्त अनुसन्धानले पप अथवा हेभी मेटल विधाभन्दा पनि शास्त्रीय संगीतले बिरालोलाई बढी शान्त बनाउने देखाएको थियो । अनुसन्धानका अनुसार बिरालोलाई शान्त बनाउने संगीतमा बच्चा बिरालोले स्तनपान गरिरहँदा निस्कने ‘घुरघुर’ जस्ता तत्वहरू हुन्छन् ।

त्यसमा उनीहरूको स्वाभाविक ‘भोकलाइजेसन’ को गति र फ्रिक्वेन्सी मिलाइएको हुन्छ । यस्तो संगीत अशान्त वा डरलाग्दो अवस्थामा रहेका बिरालोलाई सुनाउँदा शान्त हुने अनुसन्धानको निष्कर्ष छ ।

परीक्षण कसरी गरियो ?

यसका लागि अनुसन्धानकर्ताहरूले २० वटा बिरालोहरूलाई दुई-दुई हप्ताको अन्तरमा तीनपटक पशु चिकित्सककहाँ लगेका थिए । सामान्यतया: पशु चिकित्सकसामू जाँदा बिरालो अशान्त हुने गर्छ ।

त्यहाँ प्रत्येक पटक बिरालोहरूलाई २० मिनेटसम्म डेविड टेइको स्कूटर बेरेज आरिया (बिरालोकै लागि बनाएको गीत), शास्त्रीय र कुनै पनि संगीत नबजाउने अवस्थामा राखिएको थियो ।

तर डेविड टेइकोको संगीत सुनेका बेला बिरालाहरूमा तनावको मात्रा उल्लेखनीय रूपले कम देखियो । जाँचका क्रममा उनीहरूको व्यवहार, तनाव र नियन्त्रण सबैमा सुधार देखियो । शास्त्रीय संगीत र केही पनि नबजाउँदाको अवस्थाभन्दा सोही संगीत धेरै प्रभावकारी भयो ।

अनुसन्धानकर्ताहरूको निष्कर्ष छ कि, बिरालोले आफूलाई लक्षित गरेर बनाइएको संगीतमा धेरै सकारात्मक प्रतिक्रिया देखाउँछन् । यस्तो संगीत बनाउने टेइ अमेरिकी सेलोवादक तथा संगीतकार हुन् । उनी राष्ट्रिय सिम्फनी अर्केस्ट्रामा पनि आवद्ध छन् ।

उनले बिरालोसँगै बाँदर, घोडा, कुकुर लगायतका जनावरहरूका लागि विशेष संगीत सिर्जना गरेका छन् । यस्तो सिर्जनाका लागि उनले संगीतको भावनात्मक पाटोबारे गहिरो अध्ययन गरेका छन् ।

यस अनुसन्धानमा प्रयोग गरिएको ‘स्कूटर बेरेज आरिया’ उनको म्युजिक फर क्याक्ट्स नामक २०१६ को एल्बममा समावेश छ । यसकारणले बिरालोलाई शान्त पार्ने उपाय खोजिरहनु भएको छ तपाईंले एक पटक यो संगीत बजाइदिन सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?