
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेजन एमजीएम स्टुडियोले ‘जेम्स बण्ड’को नयाँ श्रृंखलाको निर्देशक डेनिस भिलेनुभ घोषणा गरेको छ।
- भिलेनुभले ‘ड्युन’ जस्ता फिल्म निर्देशन गरेका छन् र यसलाई ठूलो जिम्मेवारी मान्छन्।
- श्रृंखलाको छायांकन सन् २०२६ मा सुरु र प्रदर्शन सन् २०२८ मा हुने अपेक्षा छ।
लस एन्जलस । विश्वचर्चित जासूस एक्सन फिल्म ‘जेम्स बण्ड’को नयाँ श्रृंखला बन्ने निश्चित भएको छ । अमेजन एमजीएम स्टुडियोले आगामी श्रृंखलाको निर्देशकमा डेनिस भिलेनुभको नाम घोषणा गरेको छ ।
‘ड्युन’जस्ता व्यवसायिक र समीक्षात्मकरुपमा चर्चित फिल्म निर्देशन गरेका डेनिसको यो अर्को चर्चित फिल्मको श्रृंखलामा हुने संलग्नतालाई महत्वको साथ लिइएको छ ।
यो फिल्ममा तान्या लापोइन्टे कार्यकारी निर्माताको रूपमा हुनेछिन् । पहिले घोषणा गरिएझैं, एमी पास्कल र डेभिड हेमनले निर्माताको रूपमा काम गर्नेछन् ।
‘मेरा केही प्रारम्भिक फिल्मका सम्झनाहरू ००७ सँग जोडिएका छन् । म मेरो बुबासँग जेम्स बन्ड फिल्म हेर्दै हुर्केको हुँ । शन कोनेरीसँग ’डा. नो’ गरेदेखि, म बन्डको कट्टर प्रशंसक हुँ । मेरो लागि, उहाँ पवित्र हुनुहुन्छ’ भिलेन्युभले भने ।
‘म परम्पराको सम्मान गर्ने र आउने धेरै नयाँ मिसनको लागि बाटो खोल्ने उद्देश्य राख्छु । यो एउटा ठूलो जिम्मेवारी हो, तर मेरो लागि अविश्वसनीय रूपमा रोमाञ्चक र ठूलो सम्मान पनि हो । अमेजन एमजीएम स्टुडियोलाई उनीहरूको विश्वासको लागि धन्यवाद’ उनले लेखेका छन् ।
प्राइम भिडियो र अमेजन एमजीएम स्टुडियोका प्रमुख माइक हप्किन्सले भने, ‘हामी सम्मानित छौं कि डेनिसले जेम्स बन्डको अर्को अध्याय निर्देशन गर्न सहमत भएका छन् । उनी एक सिनेम्याटिक मास्टर हुन्, जसको फिल्मोग्राफी आफैं बोल्छ ।’
उनले अघि भने, ‘ब्लेड रनर २०४९’ देखि ‘अराइभल’ देखि ‘ड्यून’ फिल्मसम्म, उनले आकर्षक संसार, गतिशील दृश्य, जटिल पात्र र सबैभन्दा महत्वपूर्ण कुरा– विश्वव्यापी दर्शकले थिएटरमा अनुभव गर्न चाहने इमर्सिभ कथा कथन प्रस्तुत गरेका छन् । जेम्स बन्ड आजका महान् फिल्म निर्माता मध्ये एकको हातमा छ र हामी ००७ को अर्को साहसिक कार्य सुरु गर्न अधैर्य छौं ।’
भिलेनुभ एक प्रशंसित अस्कर मनोनित फ्रान्सेली-क्यानेडियन फिल्म निर्माता हुन् जसले हालसालै वार्नर ब्रदर्सका लागि ‘ड्यून’ र ‘ड्यून : पार्ट २’ निर्देशन गरेका थिए । यसको तेस्रो श्रृंखला ‘ड्यून ः मसिह’ निर्माणको चरणमा छ र सन् २०२६ मा रिलिज हुने अपेक्षा छ ।
जेम्स बन्डको नयाँ श्रृंखलाको छायांकन सन् २०२६ मा पाइनउड स्टुडियोबाट सुरु हुने बताइएको छ । यसको प्रदर्शन २०२८ को अक्टोबर-नोभेम्बरमा हुने अपेक्षा गरिएको छ । अहिलेसम्म जेम्स बण्डको शीर्ष भूमिकामा कुन कलाकारले अभिनय गर्छ त्यो निश्चित छैन । यसअघि शीर्ष भूमिकामा देखिँदै आएका डेनियल क्रेग श्रृंखलाबाट बाहिरिइसकेका छन् ।
प्रतिक्रिया 4