
News Summary
Generated by OK AI. Editorially reviewed.- एलन मस्कले २०२२ मा ट्वीटर खरिद गरेपछि त्यसलाई एक्स नाममा परिवर्तन गरी सुपर एप बनाउने योजना सार्वजनिक गरे।
- सीईओ लिन्डा याकारिनोले एक्सले भुक्तानी, लगानी, सपिङ, भिडियो स्ट्रिमिङ र वित्तीय सेवा दिन तयारी गरिरहेको बताइन्।
- एक्सले २०२५ को अन्त्यसम्म आफ्नै डेबिट/क्रेडिट कार्ड ल्याउने र विच्याट जस्तै पूर्ण सुपर एप बन्ने लक्ष्य राखेको छ।
जब एलन मस्कले सन् २०२२ मा सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरे, त्यतिबेला धेरैको अनुमान थियो कि त्यो केवल एउटा सामाजिक सञ्जालको अधिग्रहण मात्र होइन ।
उक्त खरिदभित्र अर्बपति मस्कको ठूलो महत्वाकांक्षा लुकेको सहजै अनुमान गर्न सकिन्थ्यो । जुन कुरा समयक्रमसँगै विस्तारै रहस्योद्घाटित भइरहेको छ । वास्तवमा ट्वीटरको अधिग्रहण केवल सुरुवात मात्र थियो ।
ट्वीरलाई आफ्नो स्वामित्वमा ल्याएसँगै नाम नै परिवर्तन गरी एक्स बनाएका मस्कको नजरमा एक्स केवल एउटा सामाजिक सञ्जाल मात्र होइन, भविष्यको ‘एभ्रीथिङ एप’ हो। जसले तपाईंको स्मार्टफोनमा पूरै संसार नै ल्याइदिनेछ।
एक्सको सुपर एप सपना
हालै एक अन्तर्वार्ताका क्रममा एक्स कम्पनीकी सीईओ लिन्डा याकारिनोले महत्वपूर्ण खुलासा गरिन्। उनका अनुसार एक्स अब भुक्तानी, लगानी, सपिङ, भिडियो स्ट्रिमिङ, च्याटिङका साथै आगामी दिनमा वित्तीय कारोबारसम्मका सेवा प्रदान गर्नेतर्फ अघि बढिरहेको छ।
उनी भन्छिन्, ‘हामी प्रयोगकर्तालाई एउटा यस्तो प्लेटफर्म दिन चाहन्छौं, जहाँ उनीहरूको डिजिटल जीवनका अधिकांश आवश्यकता एकै ठाउँमा पूरा होउन्।’
एक्सको आफ्नै डेबिट/क्रेडिट कार्ड
एक्सलाई सुपर एप बनाउने मस्कको महत्वाकांक्षा केवल योजनामा मात्र सीमित छैन । यो वर्ष सन् २०२५ को अन्त्यसम्ममा एक्स ले आफ्नै डेबिट वा क्रेडिट कार्ड सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यसले भुक्तानी सेवा र बैंकिङ कारोबारलाई पनि एक्स प्लाटफर्मभित्रै ल्याउनेछ। वास्तवमा यो काम फेसबुक, इन्स्टाग्राम वा अन्य कुनै पनि पश्चिमा मुलुकमा विकसित सोसल मिडिया प्लाटफर्मले अहिलेसम्म नगरेको प्रयोग हुनेछ।
विच्याटको सिको
एलन मस्कले एक्सलाई चिनियाँ सुपर एप विच्याट जस्तै बनाउन चाहन्छन्। विच्याट यस्तो एप हो जो चिनियाँ प्रयोगकर्ताबीच केवल सामाजिक सञ्जाल मात्र होइन बैंक, बजार, च्याट एप, टिकट बुकिङ सेवा र सरकारी सेवा केन्द्रको एकीकृत सम्पूर्ण एप हो।
यदि एक्सले विच्याटका यी सबै सुविधालाई आफूमा उपलब्ध गराउन सक्यो भने यो चीन बाहिरको संसारकै पहिलो पूर्ण ‘सुपर एप’ बन्न सक्नेछ।
भिसा सँगको साझेदारी
एक्सको सुपर एप बन्ने योजनालाई गति दिन भुक्तानी सेवा प्रदायक भिसा (Visa)सँग साझेदारी भइसकेको छ। यसले प्रयोगकर्तालाई प्रत्यक्ष्य भुक्तानी गेटवे को सुविधा दिएको छ, जसमा प्रयोगकर्ताले एक्सबाटै पैसा ट्रान्सफर वा भुक्तानी गर्न सक्नेछन्।
कता जाँदैछ डिजिटल भविष्य ?
एक्सलाई सुपर एप बनाउने एलन मस्कको तयारीसँगै केही सवाल उठेका छन्। के अब हामीलाई छुट्टाछुट्टै एप चाहिने छैन ? हाम्रो डिजिटल गोपनीयता र डेटा सुरक्षाको अवस्था कस्तो होला ? अनि यदि सब कुरा एक्समै उपलब्ध भएमा कतै एक्सको एकाधिकार कायम हुने त होइन ?
कतिपय विज्ञहरूका अनुसार सुपर एपको सपना डरलाग्दो पनि हुन सक्छ। यदि केवल एउटै कम्पनीको हातमा शक्ति केन्द्रित भयो भने त्यसले प्रयोगकर्ताका डिजिटल छनोटको अधिकारलाई संकुचित पार्न सक्दछ ।
त्यसैले डिजिटल दुनियाँको केन्द्र बन्दै गएको एक्सलाई सुपर एप बनाउने मस्कको तयारी प्रयोगर्कताका लागि सुविधा हो कि नियन्त्रण, त्यो समयले बताउनेछ ।
प्रतिक्रिया 4