
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको मोरङको कटहरी गाउँपालिका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध परेको मिटरब्याजको उजुरीको विषयमा दुवै पक्षबीच छलफल भए पनि सहमति विवाद टुंगो लागेको छैन।
- पीडितले ८ लाख रुपैयाँ ऋण लिँदा २ करोडको जग्गा हडपिएको आरोप लगाएका छन् भने कामतले विचौलियाहरुले विनाकारण आफूविरुद्ध मिटर ब्याजको उजुरी दिएको जिकिर गरेका छन् ।
- १० वर्षसम्म जग्गा फिर्ता नपाएपछि पीडित परिवार २०८१ जेठमा प्रहरी कार्यालय मोरङ हुँदै जिल्ला प्रशासन कार्यालयमा पुग्यो । जिल्लामा छलफल भए पनि टुंगो नलागेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
१३ असार, विराटनगर । मोरङको कटहरी गाउँपालिका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजको उजुरी परेको छ । तर यो उजुरीमाथि छलफल नगर्न कांग्रेस नेताहरुले दबाब दिइरहेका छन् ।
कामत कांग्रेस कटहरी गाउँपालिका समितिका सभापति हुन् । २०७४ सालमा निर्वाचित पालिका अध्यक्ष पनि हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मिटरब्याजको उजुरी परेका कारण दुई पक्षलाई बोलाएर पटक–पटक जिल्ला प्रशासनमा छलफल भएको बताए । तर छलफलमा सहमति जुटेको छैन ।
८ लाख रुपैयाँ ऋण लिँदा आफ्नो २ करोडको जग्गा हडपिएको आरोप पीडितले लगाएका छन् । कामतले भने निवेदकसँग नभई अर्कैसँग जग्गा किनेको दाबी गर्दै आएका छन् ।
घटना के हो ?
२०७१ सालमा कटहरी गाउँपालिका–२ की ५५ वर्षीय रामवती राजवंशीलाई ८ लाख रुपैयाँ चाहिएको थियो । आफ्नो ५ कठ्ठा जग्गा डम्बरकुमारी दाहालको नाममा रजिष्ट्रेसन पास गरेर ५ लाख र ३ कठ्ठा जग्गा लिलावती यादवको नाममा पास गरेर ३ लाख रुपैयाँ लिएकी थिइन् । उनले दुवैको सावाँ र ब्याज तिरिन् । तर जग्गा आफ्नो नाममा भने पाइनन् ।
लिलावतीले रामवतीको जग्गा सन्तोषकुमार मण्डलको नाम हुँदै कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतको नाममा पुग्यो । डम्बरकुमारी दाहालको नाममा पास गरेको जग्गा पनि कामतकै नाममा पुग्यो ।
आफ्नो जग्गा कामतको नाममा पुगेपछि रामवतीले फिर्ता मागिन् । तर कामतले फिर्ता दिएनन् । करिब २ करोड मूल्य पर्ने सो जग्गा आफ्नो नाममा आएपछि उनले रामवतीको परिवारलाई फिर्ता नदिने भन्दै हप्कीदप्की गरे । पीडित परिवार भने अर्काको जग्गामा बसिरहेको छ ।
१० वर्षसम्म जग्गा फिर्ता नपाएपछि पीडित परिवार २०८१ जेठमा प्रहरी कार्यालय मोरङ हुँदै जिल्ला प्रशासन कार्यालयमा पुग्यो । जिल्लामा छलफल भए पनि टुंगो नलागेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
प्रशासन स्रोतका अनुसार आफूविरुद्धको उजुरीमाथिको कारवाही प्रकृया अघि नबढाउन कांग्रेस नेता मार्फत दबाब दिइरहेका छन् । दबाबका बीच गत वैशाखमा भएको छलफलमा कामतले जग्गा नलिएको दाबी गरेका थिए । कामतले डम्बरकुमारी दाहाल र सन्तोष मण्डलको नामबाट जग्गा आफ्नो नाममा लगेका हुन् ।
आफ्नो जग्गा लगेपछि पीडित राजवंशीका छोरा इन्द्रकुमार राजवंशीले जिल्ला अदालत मोरङमा लिखत बदरको माग गर्दै मुद्दा दिएका थिए । यो मुद्दा जिल्लामा उनले हारे । उच्चमा विचाराधीन छ ।
पीडित रामवती राजवंशीले ८ कठ्ठा जग्गा राखेर ८ लाख लिएको बताइन् । उनका अनुसार १० वर्षअघि जग्गाको मूल्याङ्कन प्रति कट्ठा ८ लाख रुपैयाँ थियो । अहिले २५ लाख पुगेको छ । आफ्नो जग्गा धितो सार्दै रामकुमार कामतसम्म पुगेपछि फिर्ता माग्दा नपाएको बताइन् ।
उनका अनुसार २०७४ को निर्वाचनअघि कामतले जग्गा फिर्ता दिने बताएका थिए । तर चुनाव जितेपछि उनले फिर्ता दिएनन् । कतै उजुरी गर्न पनि दिएनन् ।
रामकुमार कामतले भने विचौलियाहरुले विनाकारण आफूविरुद्ध मिटर ब्याजको उजुरी दिएको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया 4